प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् ।
डडेलधुराबाट काठमाडौँ आइपुगेका प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् ।
मोरङबाट काठमाडौँ आएका ओलीले सिधै प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा श्रद्धाञ्जली दिए । त्यसक्रममा ओलीले दाहाल परिवारमा परेको शोकप्रति समवेदना प्रकट गर्दै दुःखको यो घडीमा आफ्नो साथ रहेको बताएका थिए ।
ओली भन्दा पछाडि लाजिम्पाट पुगेका देउवासँग वामका दुवै नेताको भेट भएको थियो । उनीहरु केही क्षण प्रचण्डसँग भलाकुसारी गरी फर्केका थिए ।
वाम गठबन्धनले शोकका बीच पनि चुनावी अभियान नरोक्ने भएका छन् । ओली र दाहालले संयुक्तरुपमा गर्ने भनिएका सबै कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए ।
मंगलबार चितवनमा हुने कार्यक्रममा दाहाल पनि उपस्थित हुनेछन् । तर, सम्बोधन भने माओवादीको तर्फबाट नेता रामबहादुर थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
समवेदना दिन पुगेकाबेला जम्काभेट भएका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले चुनावी सुरक्षा मिलाउन आग्रह गरे । उनले घटनामा भएको भौतिक क्षतिको क्षतिपूर्ति दिन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया