निर्वाचन बिथोल्न सक्रिय साढे २ सयमाथि फौजदारी अभियोग लगाउने तयारी गरिएको छ ।
पछिल्लो समय मुलुकभर उम्मेदवार केन्द्रीत घटना बढिरहेको बेला प्रहरीले निर्वाचन बिथोल्ने अभियानमा सरिक भएको भन्दै २ सय ५० जना माथि फौजदारी अभियोग लगाउने तयारी गरेको हो ।
प्रहरीका अनुसार बम विस्फोटका विभिन्न घटनामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको बढि संलग्नता देखिएको छ । पक्राउ परेका उनीहरु विरुद्ध फौजदारी अभियोग लगाउने तयारी भईरहेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले जानकारी दिए ।
यसैबीच, सरकारले आजदेखि मतदाता, उम्मेदवार र मतदान केन्द्र, केन्द्रित सुरक्षा रणनीति अवलम्वन गर्ने भएको छ । निर्वाचनको मुखमा बम विस्फोटका श्रृङ्खला बढेपछि गृहमन्त्रालय मातहतको केन्द्रीय सुरक्षा समितिले आजदेखि निर्वाचन केन्द्रित उच्च सुरक्षा सतर्कता अपनाउन लागेको हो ।
यसअघिको सुरक्षा रणनीतिमा केही त्रुटि देखिएको स्वीकार्दै गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले ४ वटै सुरक्षा निकायलाई मतदाता, उम्मेदवार र मतदान केन्द्र केन्द्रित सुरक्षा सतर्कता वढाउन निर्देशन दिइएको जानकारी दिए ।
गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरवहादुर देउवाले हिजो सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।
निर्वाचन विरोधी गतिविधीमा संलग्नको प्रहरीले खोजी कार्य तीव्र पारेको भन्दै गृहमन्त्रालयले नेपाली सेना र सशस्त्रलाई समेत हाई अलर्टमा राखेको जनाएको छ ।
प्रतिक्रिया