वैदेशिक रोजगार बचत पत्र जारी गर्ने नेपाल राष्ट्र बैंकको तयारी

वैदेशिक रोजगार बचत पत्र जारी गर्ने नेपाल राष्ट्र बैंकको तयारी


नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र जारी गर्ने तयारी थालेको छ । मंसिर १० गतेदेखि ५० करोड रुपैयाँ बराबरको बैदेशीक रोजगार बचत पत्र जारी गर्ने राष्ट्र बैंकको तयारी हो ।

बैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली एनआरएनले बचत पत्र किन्न सक्नेछ । उनीहरुका परिवारले समेत बचत पत्र किन्न पाउने ब्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । यो बचत पत्रको बिक्री मंसिर २९ गतेसम्म चल्नेछ ।

बार्षिक १० प्रतिशत व्याजदर पाइने यस्तो बचत पत्रको व्याजमा कर समेत नलाग्ने व्यवस्था रहेको छ । ६–६ महिनाको दरमा व्याजदर पाइने यस्तो बचत पत्र बैंक तथा वित्तीय संस्थामा धितोमा राखेर कर्जा लिन पनि सकिनेछ । ५ वर्षसम्म बचत पत्रको अवधि कायम रहनेछ भने त्यसपछि खरिदकर्ताले साँवा फिर्ता पाउने छन् ।

बचत पत्र खरिद गर्दा कम्तिमा पाँच हजार रुपैयाँ र बढिमा पाँच हजारले भाग गर्न सकिने रकमको आधार लगानी गर्न सकिने व्यवस्था छ । नेपालमा सिटिजन्स, एनएमबी, नबिल, माछापुच्छ्रे्, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्सियल बैंकमार्फत खरिद गर्न सकिन्छ ।

बैंकका अनुसार बाह्य देशहरु मलेशिया, कतार, कुवेत, युएइ, जापान, साउदी अरब, कोरिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि बचत पत्रमा लगानी गर्न सकिने व्यवस्था छ ।