नेपालीहरुका निम्ति रोजगारका निम्ति विदेशिनु बाध्यता हो । मुलुकमा रोजगारी नपाएपछि ऋण खोजेर भएपनि नेपालीहरु हरेक दिन हजारौँको संख्यामा विदेशिने गरेका छन् ।
यसैक्रममा वैदेशिक रोजगारमा देखिएको ठगी झन डरलाग्दो बन्दै गएको छ । वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा वैदेशिक रोजगारमा हुने गरेको करोडौँ अझै नरोकीएको देखिन्छ ।
विभागको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार यस अवधिमा २६ करोड रुपियाँभन्दा बढी ठगी भएको देखाएको छ । यस अवधिमा व्यक्तिगत र संस्थागत रूपमा ५ सय ५० ठगीको उजुरी विभागमा परेका छन् ।
उक्त उजुरीबाट २६ करोड २० लाख ९० हजार १ सय ८२ रुपियाँको बिगो रकम दाबी गरिएको छ । चालू आवको असोजमा मात्रै १ सय ३२ वटा उजुरी विभागमा परेका छन् । त्यसबाट ७ करोड ९७ लाख ६२ हजार ८ सय ४५ रुपियाँको ठगी भएको दाबी गरिएको छ ।
व्यक्तिगततर्फ ठगीको उजुरीतर्फ साउनमा १ सय १८, भदौमा ९० र असोजमा ६३ वटा उजुरी परेका छन् । त्यस्तै संथागततर्फ क्रमशः १ सय १२, ९८ र ६३ रहेको छ । वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सल्टेन्सीलगायतका माध्यमबाट ठगी हुने गरेको विभागले जनाएको छ । यस अवधिमा परेका व्यक्तिगत उजुरी २ सय ७७ र संस्थागत उजुरीको संख्या २ सय ७३ रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार संस्थागतरूपमा आएको उजुरीमा कम्पनीले कामदारलाई भनेको काम तलब तथा सुविधा नदिएको, सम्झौता भन्दा अर्कै कम्पनीमा पठाएको तथा अलपत्र पार्ने गरेको प्रवृत्तिका उजुरी छ ।
विभागका अनुसार संस्थागत ठगीको तुलनामा व्यक्तिगत रूपमा हुने ठगी साढे दुई गुणा बढी छ । पहिलो तीन महिनामा व्यक्तिगतरूपमा १८ करोड ५४ लाख ३२ हजार ७ सय ९१ रुपियाँ ठगी भएकोमा संस्थागत रूपमा ठगीविरुद्ध ७ करोड ६६ लाख ५७ हजार ३ सय ९१ रुपियाँ आर्थिक नोक्सानी भएको दाबी गरिएको छ ।
प्रतिक्रिया