निधिको मेख मार्दै महतोले गरे स्वास्थ्यलाभको कामना

निधिको मेख मार्दै महतोले गरे स्वास्थ्यलाभको कामना


राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिको स्वास्थ्य लाभको कामना गरेका छन् । गत सोमबार बिरामी परेर निधि काठमाडौंस्थित ओम अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएको सुनेलगत्तै महतोले निधिको ‘शीघ्र स्वास्थ्य लाभ’को कामना गरेका हुन् ।

महतोले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्,‘मित्र निधि अस्वस्थ भएको खबर सुनेँ, उहाँलाई स्वास्थ्य लाभको कामना गर्दछु ।’

कांग्रेसका नेता निधि र राजपा नेपालका नेता महतो दुबै प्रतिनिधिसभा सदस्यका लागि धनुषा–३ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । आफ्नो गृहजिल्ला सिराहा छोडेर धनुषा ३ मा आएपछि कांग्रेस नेता निधिले महतोलाई टुरिष्टको संज्ञा दिएका थिए । यसपछि निधि र महतो दुबै एकअर्काप्रति निकै आक्रामक बन्दै आएका थिए ।

तर, निधि बिरामी हुँदा उनको मेख नै मर्ने गरी महतोले राजनीतिक संस्कार देखाउँदै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

छातीमा समस्या देखिएपछि कांग्रेस नेता विमलेन्द्र निधि सोमबार बेलुका काठमाडौंको ओम अस्पतालमा भर्ना भएका थिए । चुनावी अभियानमा व्यस्त रहेका निधिको छाती र घाँटीमा समस्या भएपछि फलोअप चेकजाँचका लागि काठमाडौं आएका थिए । दुई–तीन दिन काठमाडौंमै आराम गरेर धनुषा फर्किने योजनाका साथ आएका निधि चिकित्सकहरुको सल्लाहमा अस्पतालमै आराम गरिरहेका छन् ।

यसै क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत कांग्रेस नेता निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले आज राजधानीको ओम अस्पतालमा उपचाररत नेता निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् । यसैगरी, महामन्त्री डा. शशांक कोइरालाले पनि निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।