२०११ साल लाग्दानलाग्दै अर्थात् अहिलेको झण्ढै दुई बर्षअघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालीन राजनैतिक अवस्था तथा विदेशी शक्ति खासगरी भारतको भूमिकालाई उल्लेख गरेको बीबीसीमा उनले दिएको एक अन्तर्वार्तामार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुमाथि शंका गर्नु पर्ने अवस्था सृजना भयो । तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोलिपल्ट पञ्चायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बीबीसीमार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी चोट सूर्य बहादुर थापालाई पारेको छ ।
विवेक शाह २०६० सालमा दरबारको सैनिक सचिव पदबाट अवकाश प्राप्त गरेपछि उनी तत्कालै कार्टर सेन्टरसँग आवद्ध भएका थिए । २०६२/६३ को आन्दोलन शुरु हुनु केही दिनअघि जिमी कार्टरले नेपाल भ्रमण गरेका थिए । त्यस वखत उनलाई यत्रतत्र घुमाउने व्यक्ति विवेक शाह नै थिए । सम्बिधान सभाको निर्बाचन हुने घोषणा भइसकेपछि निर्बाचन हुनुअघि बीचको समयमा पनि जिमी कार्टर पाँच दिनका लागि नेपाल पुगेका थिए । त्यतिखेर जिमी कार्टर बढी शेर बहादुर र आरजु देउवाको सम्पर्कमा रहे । उनी नेपालबाट न्यूयोर्कका लागि उडेको भोलिपल्ट तराईमा पार्टी गठन गर्ने घोषणा गर्दै “एक मधेश एक प्रदेश”को मागसहित बिभिन्न पार्टीका तराईबासी नेताहरुले आ—आफ्नो मूल पार्टीबाट राजीनामा दिए । अर्कोतिर पहाडतिरका जनजातिले यदि जनजातिलाई आरक्षण नदिए वा समानुपातिक ढंगबाट सम्बिधान सभाको निर्वाचन नभएमा आन्दोलन गर्ने धम्कीसहित जुलुस प्रदर्शन भएको थियो । यी घटनाक्रमलाई कागताली भनौ वा योजनाबद्ध ?
जिमी कार्टर दक्षिण एसियाका लागि सीआईएका जिम्बेवार ब्यक्ति हुन् । स्मरण रहोस् १९७० को दशकमा सीआईएले कार्टर सेन्टरमार्फत हेनरी किसिन्जरलाई प्रयोग गरी चीन तथा हिन्दचीनमा प्रभाव जमाउन सफल भएको थियो । पातलो सम्झना भएअनुसार नेपालका केही समाचार पत्रहरुले जिमी कार्टर कतै राजतन्त्रलाई निरन्तरता दिलाउने उद्देश्यले नेपाल भ्रमण गरेका त हैनन् भन्ने प्रश्न चिन्हसमेत खडा गरेका थिए । यस प्रकारको प्रश्न चिन्ह खडा हुनु एक प्रकारले स्वाभाविक पनि थियो किनभने दरबारमा सैनिक सचिवको पदमा वहाली रहँदा अमेरिकाको नजिक भएकै कारणले विवेक शाह पदमुक्त हुनासाथ कार्टर सेन्टरसँग नजिक हुन पुगे । दरबार हत्याकाण्डका बेला यदि उनी ज्ञानेन्द्रको नजिक नभएको भए सायद उनले यो पुस्तक लेख्ने समय पाउँथेनन् होला । यसैले अचानक विवेक शाहको कार्टर सेन्टरसंगको सामिप्यताले उनी दरबारमै कार्यरत रहँदाका अवस्थामा पनि अमेरीकी रणनीतिकारहरुसँग नजिक रहेको अनुमान गर्न सकिन्छ ।
यता पंचायतीकालमा भारतको नजिक रहेका सूर्यबहादुर थापाले उक्त पुस्तकबारे प्रतिरक्षात्मक अन्तर्वार्ता दिएको प्रसंगलाई हेर्ने हो भने अहिले नेपालको राजनीतिमा अमेरिका एवं सीआईए र भारत एवं रअको बीच प्रतिस्पर्धा रहेको बुझिन्छ । अर्को प्रसंग के रहेको छ भने विवेक शाहले आफ्नो पुस्तकमा पूर्व प्रमं माधव नेपाललाई पनि भारतसँग नजिक रहेको ब्यक्तिका रुपमा सावित गर्न खोजेका छन् ।
विवेक शाहले आफ्नो पुस्तकमा यसरी प्रस्तुत गरेका छन्– ‘‘सैनिक हस्पिटलको पुस्तकालयको हलमा अधिराज कुमार ज्ञानेन्द्रका साथै प्रम कोइराला, प्रधान न्यायधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा.मोहसिन, राजपरिषद् स्थाई समितिका सभापति डा.रायमाझी र प्रमुख विपक्षी दलका नेता माधब कुमार नेपाल सम्मिलित बैठक बस्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो । मलाई के सम्झना छ भने यत्रो घटना घट्यो । अब यसको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमाले महासचिव माधव कुमार नेपालले निकै जोड दिनु भएको थियो । …..बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘‘आयोगमा म छुटुँलानी’’ भनिरहनु भएको थियो । तर गठन भइसकेपछि एमाले नेपालले के कारणले हो आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।’’
उक्त वाक्यशंले पूर्व प्रमं माधव नेपाल द्धैध चरित्र भएको भनी प्रमाणित गर्न खोजेको छ । विवेक शाहको यो आशय साँचो हो वा नेपालको लोकतान्त्रिक व्व्यवस्था र दलका नेताहरुको नैतिक छवि गिराउने अमेरिकी चाल हो ? राष्ट्रभक्त नेपालीहरुले यसबारे केही समय निधार खुम्च्याउनु पर्ने भएको छ ।
यो कार्य खासगरी नेकपा एमालेको काँधमा पनि आएको हो । किनभने विवेक शाहले आफ्नो पुस्तकमार्फत माधव नेपालका राजनीतिक रुची र उनको आचरणलाई तल्लो दर्जाबाट प्रस्तुत गरेका छन् । त्यसैले त्यतिखेर नेकपा एमाले एवं माधब नेपाल स्वयंका काँधमा आएको जिम्मेवारी के थियो भने यदि विवेक शाह सीआईएबाट संचालित भएर यी कुरा लेखेका हुन् र विवेक शाहका यी कुटिल वाक्यांशका पछाडि नेपालको राजनीतिक समीकरण अझै धमिल्याउने चाल थियो भने जनता समक्ष तथ्य सार्वजानिक गर्न सक्नुपथ्र्यो । पुस्तक प्रकाशन भएको
दुईवर्ष पूरा भइसक्दा पनि पुस्तकमा आरोपित ब्यक्तिहरु चुप रहेको देखेपछि एक पत्रकार एवं राजनैतिक बिष्लेषक चुप लागेर बस्ने अवस्था रहेन ।
(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)
प्रतिक्रिया