आगामी आईतबार हुने प्रतिनिधि/प्रदेश सभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियानमा रहेको कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ ।
हिजो बुधबार आयोजित सभालाई म्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निर्वमान सांसद रत्न शेरचनले देशको आर्थिक विकासका लागि अब लोकतान्त्रिक गठबन्धलाई जिताउन आवश्यक रहेको बताइन् । साम्यवादतिर जान हतारिएका कम्युनिष्टले देशमा ठुलो संकट निम्ताउन सक्ने तर्क गर्दै उनले निर्वाध स्वतन्त्रता उपभोगको लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गरिन् ।
आमसभामा बोल्दै नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गर्बुजाले भगवतीमा धेरै गुठीको समस्या रहेको बन्दै त्यसलाई आफुले एक बर्षमा समाधान गर्ने दाबी गरे । कम्युनिस्टले अहिलेसम्म जितेर राखुङको विकासमा कुनै काम नगरेको बताउँदै पाँच वर्षमा भगवतीसम्म सडक पिच गर्ने, रुइसेलाई जिल्लाकै पर्यटकीय गतव्य बनाउने प्रतिबद्धता उनले जनाए । नेपाली कांग्रेसले भाषण गरेर झुटको खेती होइन काम गरेर देखाउने भन्दै उनले यसको उदाहरणस्वरुप स्थानीय तहमा गरेका बाचा पूरा गरेको प्रस्ट्याए ।
त्यस्तै, कार्यक्रममा प्रदेशसभा (क) का उम्मेदवार तथा पुर्वराज्यमन्त्री भिमप्रसाद गौचले अहिलेको लडाइँ लोकतन्त्र रोज्ने कि साम्यवाद रोज्ने भन्ने सवालमा आधारित रहेको धारणा राखे । आफुले राखुको विकासको लागि पहिला पनि काम गरेको बताउँदै उनले अब पनि एकपटक म्याग्दीको विकासको मुहार फेर्न लोकतान्त्रिक गठबन्धनलाई जिताउनैपर्ने तर्क उनले गरे । अहिले लोकतान्त्रिक गठबन्धनले जित्ने निश्चित भएको भन्दै वाम गठबन्धन आत्तिएर नानाथरीका आरोप लगाउँदै हिँडेको आरोप पनि उनले लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, प्रदेशसभाका समानुपातिक उम्मेदवार विमला गौचन, नेपाली कांग्रेस म्याग्दीका सदस्य केवी भण्डारी, रघुगंगा गाउँपालीका प्रमुख भव भण्डारी, ओम छन्त्यालले मतव्य राखेका थिए ।
प्रतिक्रिया