काङ्ग्रेसको नीति र माओवादी -शोभाकर पराजुली

काङ्ग्रेसको नीति र माओवादी -शोभाकर पराजुली


नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशन समाप्त भएको लामो समय भएर पनि केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । विभिन्न विभागहरूको गठनमात्र होइन जिल्ला र स्थानीय तहमा समेत केन्द्रको कार्य हेरेर गठनसम्बन्धी कार्य गर्ने कुरा आइरहेका छन् । समस्याहरू अन्यत्र नै भएको यो अवस्थामा आफैं समस्यामा अल्झेको जस्तो भ्रम जानु पनि राम्रो होइन । ८५ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता नपाएकोमा को – किन – यसको विकल्प के भन्नेमा सोचेर सबै नेताहरू एक हुने हो भने समाधान निस्कन्छ नै । दलमा अहिलेसम्म देखिएको केन्द्रीय प्रवृत्तिले के देखाएको छ भने विवाद पनि छ र यो स्वाभाविक पनि हो । तर, यसकारणले यसो हुनुपर्छ भन्ने प्रस्ट तर्कहरू दिने र उपयुक्तताको आधारमा निष्कर्षमा पुग्ने कार्य हुन सकेको छैन । यसको दोष सभापति र नेता शेरबहादुर देउवालाई मात्र दिएर पुग्दैन । उहाँहरूलाई उचित सहयोग अहिलेको आवश्यकता हो । अझ सभापतिलाई उचित सहयोग र सल्लाहले छिटो निष्कर्षमा पुग्न सक्ने वातावरण तयार हुनेछ । विवादमा मात्र रमाउने कार्य हुनु राम्रो हुँदैन नै । निर्वाचित सदस्यबाहेक सभापतिज्यूले नेता शेरबहादुरजीलाई मात्र केन्द्रीय समितिमा समावेश गर्नुभएको सकारात्मक पक्ष हो । केन्द्रीय कार्यसमितिमा रहने पदाधिकारीहरूमा बाँकी रहेका उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदको मनोनयन र स्वीकृतिको कार्य बाँकी नै छ । मलाई दल मिलेपछि कुनै पनि पुरानो तुस राख्नुहुन्न भन्ने लागेकोे थियो । अहिले पनि म त्यसमा प्रस्ट छु । तर पदका लागि होइन कामका लागि र सङ्घर्षका लागि अगाडि बढ्ने दलमा सानातिना कुरामा हामी नअल्झौँ ।
सभापतिले केही नामहरूको प्रस्ताव केन्दीय कार्यसमितिमा राख्नुभएको र त्यसमा छलफल भएको छ । छलफल भएपछि अझ व्यापक छलफल र सकारात्मक निकासका लागि केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकोमा हालसम्म पनि बसेको छैन । सभापतिले आफ्नो अधिकार प्रयोग गरेर विभिन्न पदमा नामको प्रस्ताव गर्नुभएको छ । त्यसलाई केन्द्रीय कार्यसमितिमा छलफलमा राखिनु र पक्ष र विपक्षमा तर्कहरू प्रस्तुत हुनु सकारात्मक पक्ष नै हुन् ।
काङ्ग्रेसको विधानको कारण यस्तो भएको हो भन्ने साथीहरू पनि हुनुहुन्छ । पूर्ण रूपमा सभापतिलाई अधिकार दिनुपर्थ्याे वा केन्द्रीय कार्यसमितिले नै चुनाव गर्ने प्रक्रिया हुन आवश्यक थियो पनि भनिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिले यी सबै पक्षलाई ध्यान दिनेछ र काङ्ग्रेसका अनुभवी नेताबाट त्यो कार्य छिटो पूरा पनि हुने आशा छ । जीवन्तमात्र नभएर पारदर्शी राजनीतिक दल भएकोले यसलेे कहिल्यै पनि नयाँ र फरक पक्षलाई अन्यथा सोचेन । विगतमा यो दल फुट्ने, चोइटिने आदि भएको भए पनि यी कारणहरूलाई ध्यान दिएर आएकोले यो दलले अझ उचाइ कायम गरेको छ ।
काङ्ग्रेसको राजनीतिक केन्द्रको उपल्लो तहमा रहनुभएका सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री एवम् प्रवक्ता प्रकाशमान सिंहसमेत सबैजनाले यो समस्या होइन बरु अझ उपयुक्त किसिमले अगाडि बढ्ने अवसर हो भन्ने धारणा राख्नुभएको छ । यसले काङ्ग्रेसमा विवाद भएको सोच्ने नकारात्मक पक्षहरूले साथ पाउने छैनन् । सभापतिले एउटै पदका लागि एकजना मात्र उम्मेदवार लग्नु स्वाभाविक हो भने यसमा छलफल हुनु र मतैक्यताका लागि समय लाग्नु अस्वाभाविक होइन ।
काङ्ग्रेस चुनावको परिणामलाई शान्ति स्थापनाका लागि शक्तिको रूपमा प्रयोग गर्न चाहन्छ । माओवादीलाई राजनीतिको मूलधारमा प्राविधिक रूपमा ल्याइएकोमा मानसिक रूपमा ल्याउनुपर्ने दायित्व हामीहरूको छ । जनताको मनमा रहेको त्रास हट्दै दण्डहीनताको अन्त्य आजको आवश्यकता हो । काङ्ग्रेस यी विषयमा प्रस्ट छ । जनताको गरिबी निवारणको आवश्यकता भइरहेको अवस्थामा माओवादी लडाकाहरूमा तथा शान्तिका लागि भनेर विभिन्न कार्यमा पैसा लाग्ो पनि जनताको पक्षमा परिणत हुन सकेको छैन । उचित र र्सार्थक थालनीबाट जनताको हितमा काम गर्न माओवादीलाई मानसिक रूपमा राजनीतिको मूलधारमा ल्याउनैपर्ने हुन्छ । बहुलवाद, स्वतन्त्र न्यायपालिका तथा सञ्चार, जनताको न्यूनतम आधारभूत आवश्यकताहरूका बारेमा काङ्ग्रेस कसैसँग सम्झौता गर्दैन तर सम्झाएर उचित निष्कर्षमा पुग्ने विश्वास गर्दछ । नागरिक दलको रूपमा माओवादी आइनसक्नु अहिले पनि चिन्ताको विषय हो । एकदलीय सर्वसत्तावादका लागि विद्यार्थीलाई सेना र क्याम्पसलाई व्यारेक बनाउने धम्कीलाई हामीले परास्त गर्नुपर्ने हुन्छ नै । यद्यपि यो माओवादीको आन्तरिक राजनीतिक कारणले कार्यकर्ताबीच लोकप्रिय बन्ने कसरत हो । अब गल्ती गरेमा अर्थात् हिंसामा लागेमा मानवअधिकार र मानवीय कानुनको हिसाबले पनि माओवादी तहसनहस हुनेछ । यसको साथै देशले पनि पीडा भोग्नेछ । यो अवस्था आउन नदिन हामी सजग हुने बेलामा आन्तरिक राजनीतिमा अल्झने कार्यको सीमालाई साँघुर्‍याउन आवश्यक छ ।
हामी जनताका चासोका विषयहरू पनि हौँ । काङ्ग्रेसले शान्ति दिन्छ र यो दलले बोकेको विचार अजर, अमर छ भन्ने जनताले अझ चाल पाउँदै गएका छन् । यत्रो जनहत्या गर्ने जङ्गलबाट माओवादी बाहिर आएपछि वाईसीएल र लडाकुहरूको व्यवहार र नेताहरूले गरेको कार्यको विद्यार्थीहरूबाट समेत विरोध भएबाट पनि उनीहरू जनताबाट नाङ्गिएका छन् । अर्कोतर्फ काङ्ग्रेस न जनचासो र जनहितविपरीत जान चाहन्छ न सक्दछ नै । काङ्ग्रेस एक भएर नै ती लक्ष्यहरू अर्थात् जनताका आशाहरू पूरा हुन सक्छन् । काङ्ग्रेसमा आत्मगत आधारमा लबी, पक्ष, फरक धार व्यक्ति र समूहको छैन भन्ने सन्देश दिन सक्दा पनि जनतामा आशा र लोकतन्त्रविरोधीहरूमा डर पस्दछ । चुनावमा त्यसो हुन सकेन भन्ने अनुभव भए पनि अब काङ्ग्रेस विचारमा र व्यवहारमा एक ढिक्का छ । काङ्ग्रेसमा विवाद वस्तुगत हुने र आत्मगत नहुने परम्पराको प्राधान्यतालेे गर्दा हामी निराश हुनुपर्ने अवस्था छैन ।
काङ्ग्रेसको बैठक स्थगित भएपछि सभापतिज्यूले अत्यन्त शालीन किसिमले उद्देश्यका लागि साथीहरूलाई समेट्ने प्रयास गर्नुभएको छ । काखा पाखा नगर्ने, स्वार्थका आधारमा गुटबन्दी नहुने, लक्ष्यमा एकाकार हुने, सबैलाई समेट्नेजस्ता धारणाहरू केन्द्रीय नेताहरूले व्यक्त गरिसक्नुभएको छ । क्षमतावान, पारदर्शी व्यवहार भएका, क्रियाशील , जनप्रिय, विपक्षीहरूसँग वैचारिक रूपमा प्रतिस्पर्धा गर्न सक्ने, विचारलाई हरप्रकारले सम्प्रेषण गर्न सक्षम र तयार, निडर साथीहरूको छनोट केन्द्रदेखि स्थानीय तहसम्म हुनुपर्ने कार्यको थालनी केन्द्रीय समितिको पूर्णताबाटै सुरु हुनेछ ।
उपयुक्तता, विकल्प आदिमा निष्पक्ष भएर छलफल अगाडि बढ्नासाथ समाधान पहिल्याउन सकिन्छ । आवश्यक साथी नछुट्ने र क्षमताहीनले स्थान नओगट्ने वातावरण अहिलेको आवश्यकता हो । जनस्तरसम्म सङ्गठन गरेर जनतालाई केही भ्रम र धेरै डरबाट मुक्त गर्न हामीले ढिलो गर्न हुँदैन । सभापतिलाई बिनापूर्वाग्रह उचित सल्लाह दिने र भएका निर्णयलाई कार्यान्वयन गर्न सभापतिलाई सहयोग गर्नाले काङ्ग्रेसलाई अगाडि बढाउन सजिलो हुनेछ ।
माओवादी नेताहरूले अराजकता चाहेका र जन्माएका हुन् । तर, अहिले सरकार विहीनताले राज्यविहीनता देखिएको छ । यो हटाउन आफू तत्पर रहेको आसय प्रचण्डले दिएर यो दल जिम्मेवार बन्दै गएको आशा पनि जागेको छ । बाबुरामले प्राप्त उपलब्धिहरूलाई सुरक्षित गर्ने आसय राख्नु पनि सधैं बन्दुक होइन जनहितकारी कार्य पनि गरौँ भन्ने हो जस्तो देखिएको छ । किरणले वादविवादले जीवन्तता दिने र अझ उचाइको समझदारी दिने आशय व्यक्त गर्नुले दलभित्रको विचार मात्र होइन सम्पूर्ण विचारहरूको मन्थनलाई अगाडि बढाउने सोचलाई पक्रने प्रयास गरेको हो कि – भन्ने देखिन्छ । यी माओवादी नेताहरूका अभिव्यक्ति रणनीति होइनन् भने उनीहरू लोकतन्त्रलाई आत्मसात् गर्ने पक्षमा आउँदै छन् भन्ने बुझ्न आवश्यक छ । काङ्ग्रेसले उनीहरूको इमान्दारीलाई पारख गर्ने अवसर पनि अहिले छ । प्रधानमन्त्रीको चुनावमा संविधानको परिधिमा जाने र पछि अन्य विकल्प खोज्नेबारेमा पनि हामीले प्रस्ताव राख्न आवश्यक छ । यी सबै कार्यका लागि एकता र यसका लागि काङ्ग्रेसको साङ्गठनिक स्वरूपको पूर्णता आवश्यक छ ।