संसदीय व्यवस्थामा पार्टीको स्वरूप-डा. मोहनदेव भट्टर्राई

संसदीय व्यवस्थामा पार्टीको स्वरूप-डा. मोहनदेव भट्टर्राई


बहुदलीय व्यवस्थालाई अङ्गीकार गर्दै संसदीय व्यवस्थाको हिमायती हुँ भन्नेहरूले समेत संसदीय संरचनाको आदर्श र बहुदलीयताले स्थापित गर्न खोजेको लक्ष्मणरेखाको मर्यादालाई आत्मसात् गर्न नसक्दा नै विगतमा प्रजातान्त्रिक अभ्यास अपेक्षित रूपमा सफल हुन नसकेको यथार्थ आजको स्थितिले हामीलाई बोध गराएको छ । माओवादीहरूले भर्खर मात्र प्रतिस्पर्धात्मक राजनीतिलाई अङ्गीकार गर्ने तरखरमा लागेको यो आदर्श र लक्ष्मणरेखाको बोधले उनीहरूको अबको राजनीतिक गतिविधि बहुदलीयतामा आधारित प्रजातान्त्रिक संरचनाले इगित गर्न खोजेका प्रक्रियाअर्न्तर्गतमा पर्ने भएकोले लक्ष्मणरेखाले स्थापना गर्न खोजेको मर्यादाको परिधिमा बस्ने सङ्कल्पलाई सुदृढ बनउन सहायक हुन्छ भन्ने ठानेर यस सम्बन्धमा केही चर्चा गर्ने प्रयास गरिनु आवश्यक छ ।
बहुदलीयताको औचित्य
प्रजातान्त्रिक संरचनामा दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूको अनिवार्य आवश्यक रहन्छ भन्ने कुरा त धेरैले गर्दै आएका छन् । तर, यसको आवश्यकता किन भन्ने सोचको गहिराइमा पनि गम्भीर चिन्तनको आवश्यक छ ।
समाजको आफ्नो स्वतन्त्र व्यक्तित्व हुन्छ । परिष्कृत बन्दै अग्रगामी हुन चाहने समाजले जबजब आफ्नो स्वरूप, गति र उपलब्धिमा नयाँ-नयाँ आयाम थप्न खोज्छ अनि सामाजिक जीवनका विविध पक्षहरू स्वतः चलायमान हुन थाल्दछन् र समाजग निर्माणका लागि अभिभाज्य अङ्गको रूपमा रहेको मानव जीवनबाट प्रभावित रहने मात्र होइन मानव जीवनलाई नै प्रभावित पार्ने समग्र निकाय तथा अवयवहरूमा नै एक प्रकारको हलचल प्रकट हुन थाल्दछ । समाजका केही चेतनशील प्रबुद्ध व्यक्तित्वहरू वा समूहहरूबाट हलचलतर्फ गरिएको गम्भीर विश्लेषणात्मक चिन्तन, मनन तथा अध्ययनको निष्कर्षको परिणतिबाटै नै खास प्रकारको अवधारणाको सम्प्राप्ति हुन्छ । पछि गएर यसै अवधारणाबाटै सिद्धान्त निर्माण हुन्छ । पछि यसै सिद्धान्तले निष्ठाको खोजी गर्छ र अन्ततः यही निष्ठाले सिद्धान्तलाई कार्यमूलक ढङ्गले व्यवहारमा रूपान्तरण गर्राई उत्पे्रक्षित क्रियामा प्रवृत्त रहन अभिपे्ररित गर्दै राजनीतिक दलको सङ्गठनात्मक स्वरूपको प्रस्तुतिलाई सहज गराउँछ ।
प्रजातन्त्रवादीहरू समाज विकासप्रतिको अवधारणा एकै प्रकारको हुन्छ भन्ने मान्यता राख्दैनन् । न त यस्तो धारणा पहिल्याउन गरिएको विश्लेषणात्मक अध्ययनको प्रयासबाट प्राप्त हुने अवधारणा, जसको आधारमा पछि राजनीतिक सिद्धान्तको प्रस्तुति हुन्छ, एकै प्रकारको हुन आउँछ भन्ने ठान्दछन् । आफ्नोभन्दा नितान्त फरक अवधारणाहरूलाई पनि प्रजातन्त्रवादीहरू सहज रूपमा नै स्वीकार गर्दछन् । उनीहरू यसलाई अभिव्यक्तिको सिर्जनात्मक उपलब्धि ठान्दछन् र समाजको समग्र विकासका लागि सकारात्मक पूरक ज्ञान र दृष्टिकोणका रूपमा लिन्छन् । निष्कर्षमा भन्नुपर्दा बहुदलीय आदर्शको एउटै, केवल एउटै मात्र ध्येय रहेको हुन्छ- त्यो हो विविध राजनीतिक अवधारणाहरूको उद्भवलाई अभिपे्ररित गर्नु, प्रस्तुत अवधारणाहरूमा पूर्ण सम्मान अभिव्यक्ति गर्नु र यसरी सम्मानित अवधारणाहरू संरक्षित रहन सक्ने प्राज्ञिक वातावरणको निर्माण गर्नु । हामी बहुदलीय व्यवस्थालाई यही रूपमा बुझदै व्यवहारमा पनि यसैअनुसार गर्दै जानुपर्छ भन्ने मान्यता रँख्दछौँ ।
बहुदलीय व्यवस्थामा पार्टीको विभाजित स्वरूप
संसदीय व्यवस्थाको कार्यप्रणालीको मान्यताको सीमामा रहेर विचार गर्दा पार्टीको स्वरूप र कार्यशैलीको आधारमा पार्टीहरूलाई प्रतिपक्षी र प्रतिद्वन्द्वीको रूपमा दुई प्रवृत्तिगत वर्गमा विभाजन गर्न सकिन्छ ।
प्रतिपक्षी पार्टी भनेर हामीले यस्ता पार्टीहरूको समूहलाई लक्षित गर्न खोजेका छौँ जो बहुदलीयताको आधारमा संसदीय व्यवस्थामा पूर्ण आस्था राख्दछन् यस्ता पार्टीहरू समाज विकासप्रतिको आफ्नो अवधारणा प्रस्ट्याउँदै राजनीतिक सिद्धान्तको अनुशीलनबाट सङ्गठनात्मक शक्तिको रूपमा आफ्नो मान्यतालाई प्रस्तुत गरेर प्रतिस्पर्धात्मक रूपले राजनीतिक क्षेत्रमा क्रियाशील रहँदारहँदै पनि यदाकदा जब बहुदलीय व्यवस्थामा नै आँच आउन सक्ने स्थिति या घटना आइपरेमा यस्ता समूह दलगत राजनीतिक प्रतिस्पर्धात्मक क्रियाकलापलाई केही समयका लागि थाँती एकता स्थापित गरी संसदीय संरचनाको व्यवस्थापन पक्षलाई संरक्षण गर्न पूर्णरूपले सचेत रहिरहेका हुन्छन् । बहुदलीय संसदीय व्यवस्थामा आस्था राख्नु सबै राजनीतिक दलहरूले आफ्नो राजनीतिक अवधारणा र सङ्गठनात्मक स्वरूपको सुदृढतालाई संसदीय कार्यप्रणालीको आदर्शले निर्माण गर्न खोेजेको राजनीतिक मेरुदण्डको मर्यादित सीमाभित्र सचेततापूर्ण ढङ्गले केन्द्रित राख्ने प्रयास गर्नैपर्छ । यो आदर्श र सीमा नै बहुदलीय संसदीय व्यवस्था र कार्यप्रणालीमा प्रतिपक्षी राजनीतिक पार्टीहरूको अति महत्त्वपूर्ण लक्ष्मणरेखा हो र यो लक्ष्मणरेखाको महत्त्वपूर्ण संरक्षणमा नै बहुदलीय लक्ष्मणरेखाको मान्यताले नै राजनीतिक दलहरूलाई राष्ट्रनिर्माणको क्रियाकलापमा प्रतिस्पर्धी मात्र होइन पूरक शक्तिको रूपमा पनि प्रस्तुत गर्दछ र राष्ट्रनिर्माणमा गरिने विकास कार्यले पनि सहज ढङ्गले निकास प्राप्त गर्दछ ।
प्रतिद्वन्द्वी पार्टी भनेर हामीले यस्ता पार्टीलाई लक्षित गर्न खोजेका छौँ जो वर्तमान व्यवस्थाप्रति पूर्ण रूपले असन्तुष्ट छ र जो यस व्यवस्थाको कुनै पनि क्रियाकलापमा सहभागी हुन चाहँदैन । राजनीतिक तथा सामाजिक ढाँचामा पूर्णरूपले क्रान्तिकारी परिवर्तन ल्याउन कर्मठता देखाउने यो समूह आफ्नै समूहबाट उत्पन्न ऊर्जास्रोतको उपयोग गरी आफ्नो छुट्टै राजनीतिक अवधारणा, सिद्धान्त, निष्ठा र प्रतिफलमूलक कार्यनीतिको अवलम्बनबाट परिवर्तनको परिधि व्यापक बनाउने सङ्गठनको रूपमा परिचालित रहन्छन् ।