‘कर चुहावट र छलीका विषय अक्ष्यम्य’

‘कर चुहावट र छलीका विषय अक्ष्यम्य’


अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले कर चुहावट र छलीका विषय कहिल्यै पनि क्षम्य नहुने बताएका छन् । आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज राजधानीमा यआयोजित ‘छैटौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले करदाताका सेवासुविधा र अनावश्यक झन्झटलाई हटाउन सरकार तयार भए पनि कर चुवाहट र छलीलाई क्षमा दिन नसकिने बताएका हुन् ।

अर्थ सचिव अधिकारीले राजश्व प्रशासन सक्षम र चुस्त–दुरुस्त राखेर लक्ष्य हासिल गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै केही दोहोरो कर देखिएको त्यसलाई समाधान गर्नेतर्फ आफूहरु अग्रसर भएको जानकारी दिए ।

सचिव अधिकारीले सूचना प्रविधिमार्फत करलाई इलोक्ट्रोनिक्स पेमेन्ट (विद्युतीय भुक्तानी) प्रणालीमा लैजान थालेको जानकारी पनि गराए ।करदातालाई सहयोग पु¥याउन चाँडै नै संघीय राजश्व प्रशासन विस्तार गर्ने योजना रहेको उनको भनाई थियो ।

कार्यक्रममा राजश्व व्यवस्थापन महाशाखाका सहसचिव शोभाकान्त पन्तले डिजिटल भुक्तानी प्रणालीमा लगेर करदाताका समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । उनले आगामी आर्थिक वर्षदेखि घरबहाल करदातालाई पनि ऐनमा समावेश गर्ने जानकारी गराए ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले कर कानूनलाई सरल बनाइने बताउँदै आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क करलाई एउटै कानूनमा ल्याउन थालिएको जनाए भने एफएनसीसीआईका अध्यक्ष भवानी राणाले अधिकतम करदातालाई समावेश गर्न खालको कानून ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा उपत्यकाका २५ उत्कृष्ट करदाता र आन्तरिक राजश्व विभाग अन्तर्गतका १९ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।