–छविलाल बगाले
जडित क्षमता ३ मेगावाट रहेको लमजुङस्थित मिदिमखोला (करापु) जलविद्युत आयोजना सिओडी अर्थात ब्यापारिक उत्पादन मितिको पर्खाइमा छ । निर्धारित समयमा आयोजना निर्माण सम्पन्न गरी परिक्षण समेत सिध्याएको प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावर ब्यापारिक उत्पादन मिति कुरेर बसेको हो ।
आयोजना निर्माणको सबै काम सम्पन्न गरीसकेको प्रवद्र्धक कम्पनीले आयोजनामा जडित उपकरणहरु एवं सुरुङ लगायतको परीक्षण (ड्राई टेष्ट) गरिसकेको छ । आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीका अनुसार टर्बाइन घुमाएर (वेट टेष्ट) गर्ने काम बाँकी रहेको छ । ‘हामीले आयोजनाको निर्माणसँगै प्रसारण लाइन निर्माणको काम समेत सम्पन्न गरेका छौं ।’ अधिकारीले भने, ‘प्राधिकरणका कर्मचारी नआएका कारण विद्युत उत्पादनको कार्य शुरु भएको छैन् ।’
आयोजनाका अध्यक्ष किरण मल्लका अनुसार दमौली शवस्टेशनमा सर्ट डाउन अनुमति लिने प्रक्रिया चलिरहेको बताए । उनका अनुसार केही दिनमै ‘वेट टेष्ट’ गर्ने र विद्युत उत्पादन थालिनेछ । तिहार लगत्तै विद्युत उत्पादन थाल्ने लक्ष्य लिएपनि प्राविधिक कारण र निर्बाचनका कारणले ढिलाई भएको आयोजनाका दावी छ ।
आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीका अनुसार आयोजनाको विद्युतलाई भोर्लेटारबाट नेपाल विद्युत प्राधिकरको ३३ केभी लाइनमार्फत दमौली पठाइनेछ । प्रवद्र्धक कम्पनी युनियन र प्राधिकरणसँग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) मा आयोजना निर्माण सम्पन्न हुनु अगावै भोर्लेटारमा शबस्टेशन निर्माण गर्ने सहमति भएपनि संरचनाको निर्माण भने ढिलाई भएको छ । जसले गर्दा आयोजनाले भोर्लेटारसम्म आफैले प्रसारण लाइन निर्माण गरी भोर्लेटारबाट विद्युत विद्युत प्राधिकरणकै प्रसारण लाइनमा मिसाएर आयोजनाबाट उत्पादित विद्युत दमौली पठाउनेछ ।
प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले ३ मेगावाट विद्युत उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । आयोजनाको शुरुको लागत ५४ करोड रहेपनि इन्धन अभाव, भुकम्प र मजदुर अभावका कारण आयोजनाको समय र लागत दुबै बढेको जनसम्पर्क अधिकृत अधिकारीले बताए । “सुरुङमा कमजोर चट्टान भएका कारण अलि समय लाग्यो ।” अधिकारीले भने, “सुरुङमा धेरै ‘रिप’ हाल्नुपर्ने अवस्था आएकोले पनि हामी ढिला भयौं ।”
आयोजना निर्माण कम्पनी र प्राधिकरण बिच २०६७ माघमा विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भएको थियो । साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधीएको आयोजनाका प्रमुख आवासीय इन्जिनियर दिप बहादुर सिंहले बताए ।
प्रतिक्रिया