तीन महिनामा व्यापारघाटा झन्डै साढे २ खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकमा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापारघाटा २ खर्ब ३४ अर्ब ७५ करोड नाघेको हो ।
यसले व्यापारघाटा नियन्त्रणका निम्ति सरकारले गरेको प्रयास असफल भएको पुष्टी हुन्छ । विभागको तथ्यांकअनुसार पहिलो त्रैमासिकमा २ खर्ब ८० अर्ब ६६ करोड ४ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापारमा देशले उक्त रकम व्यापारघाटा व्यहोरेको छ ।
उक्त अवधिमा २ खर्ब ६० अर्ब २० करोड ५२ लाख ५७ हजार रुपैयाँको आयात गर्दा २० अर्ब ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको मात्र निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिकोे तुलनामा आयात १७ दशमलव ९५ प्रतिशत र निर्यात ८ दशमलव २० प्रतिशतले बढी हो ।
पहिलो ती महिनामा नेपालले कुल वैदेशिक व्यापारमा ६३ दशमलव ६७ प्रतिशत व्यापार भारतसँग मात्र गरेको छ । भारतसँग व्यापारघाटा १ खर्ब ५६ अर्ब ८० करोडभन्दा बढी छ । नेपालले जम्मा १० अर्ब ९५ करोड बराबरको मात्र भारतमा निर्यात गरेको छ ।
त्यस्तै चीनसँग ३६ अर्ब ३ करोड १० लाख ७८ हजार रुपैयाँ व्यापारघाटा देखिएको छ । चीनतर्फ नेपालले जम्मा ४० करोड ३० लाख ७९ हजार रुपैयाँको मात्रै निर्यात गरेको छ ।
अर्जेन्टिना नेपालले गर्ने वैदेशिक व्यापारमा तेस्रो ठूलो मुलुक बनेको छ । अर्जेन्टिनाबाट ३ अर्ब ५८ करोड ४५ लाख १६ हजार रुपैयाँको आयात भए पनि निर्यात भने शून्य छ ।
प्रतिक्रिया