तरकारीको मूल्य आकासिएसँगै चितवनमा अनुगमन शुरु

तरकारीको मूल्य आकासिएसँगै चितवनमा अनुगमन शुरु


जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढको तरकारी बजार र आलु बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा चर्को मुल्य लिने, खरिद बिल नभएका र ब्यवसाय दर्ता बिनानै सञ्चालन गरेका ४ जना ब्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आलु बजारमा होलसेल पसल सन्चालन गरी ब्यापार गर्दै आएका ओम शिव स्टोर्सका सञ्चालक पवन गुप्ता, शिवशक्ति स्टोर्सका सञ्चालक पर्शुरामकुमार चौहान तरकारी बजारमा होटल सन्चालन गरेकी आशमाया राना मगर र प्रकृति भेजिटेवल सप्लार्यसका सञ्चालक भक्तिराम खरेललाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये पर्शुरामकुमार चौहान र भक्तिराम खरेलले खरिद बिल देखाउन नसकेकाले नियन्त्रणमा लिएको र आशमाया राना मगर र पवन गुप्ताले दर्ता बिनानै ब्यवसाय गरेको पाईएकाले नियन्त्रणमा लिईएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताए ।

किसानकहाबाट सस्तोमा तरकारी खरिद गरी ब्यवसायीले महंगोमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा भेटिएको र त्यस्ता ब्यवसायीलाई कारवाही गर्नका लागि थप प्रमाण संकलन गर्ने काम भएको जिल्ला कृषि बिकास कार्यालय चितवनका कृषि बिज्ञ रामराजा पौडेलले बताए ।

त्यस्तै, टोलीले भरतपुर अस्पताल अगाडि अस्पतालको सटरमा सन्चालनमा रहेको पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा ब्यवसायीले शतप्रतिशत नाफा खाएर सामान बिक्री गरी बिरामीहरु माथि ठगि गर्ने गरेको भेटिएकोले केही औषधि व्यापारीलाई समेत नियन्त्रणमा लिइएको छ ।