अद्वितीय र महान् साहित्यकार लियो टोल्सटाय

अद्वितीय र महान् साहित्यकार लियो टोल्सटाय


– हेमन्त खतिवडा

लियो टोल्सटाय संसारका एक अद्वितीय र महान् साहित्यकार हुन् । यी महान् उपन्यासकारको महान् कृति ‘वार एन्ड पिस’ र ‘अन्ना करेनिना’ले त दुनियाँ नै पिटेका छन् र सबैले भन्छन्, यो युगकै बेजोड उपन्यास हुन्, यी उपन्यास ।

दिवङ्गत हुनु बीस वर्षअघिसम्म हजारौँ–लाखौँ भक्त उनको दर्शन गर्न उनको पोसाकको फेर छुन उनको घरमा धुइरो लाग्थे अनि यी सन्तको नाम हो टोल्सटाय ।

एक जमाना यस्तो पनि थियो, संसारका सबभन्दा महान् व्यक्ति को हुन् भन्दा सबैले भन्थे टोल्सटाय सबैभन्दा महान् छन् । उनी कति प्रसिद्ध थिए भने उनका भक्तहरू उनका पछिपछि लाग्थे, उनले बोलेका सबै कुरा लेख्थे । कहाँसम्म भने ‘म अब सुत्न जान्छु’ भनेको पनि लेख्थे ।’

संसारका राजा, राष्ट्रपतिहरू, उनीसँग फोटो खिचाउन चाहन्थे, हरदेशका राष्ट्रप्रमुखहरू उनको दर्शन गर्न आउँथे । संसार नै उनको चरणमा थियो ।

उनीसित सबै थोक थियो, पैसा थियो, जग्गाजमिन थियो । उनको यश फैलिएर कहाँ–कहाँसम्म पुगेको थियो । तैपनि टोल्सटाय दुःखी थिए । दुःखी थिए किनभने उनकी स्वास्नीले उनलाई साह्रै किचकिच गर्थिन् । किनभने टोल्सटाय गरिबदुःखीलाई पैसा दिन्थे । उनकी श्रीमती रुन्थिन् चिच्याउँथिन्, हातमा विषको सिसी लिएर मर्न तयार हुन्थिन् ।

सुरुमा उनीहरूको कत्रो माया थियो, कत्रो प्रेम थियो । उनीहरू घुँडा टेकेर भगवान्लाई प्रार्थना गर्थे ‘हाम्रो जीवन यस्तै स्वर्गीय आनन्दमा बितोस्’ तर अहिले त्यो माया, त्यो अपार प्रेम भताभुङ्ग भइसकेको थियो ।

एक दिन श्रीमती टोल्सटायले आएर भनिन्, ‘तपाईंले मलाई धेरैअघि लेख्नुभएको पत्र पढेर सुनाउनुहोस् त !’ टाल्स्टायले पत्र पढेर सुनाए जुन अठचालीस वर्षअघि लेखिएको पत्र थियो । त्यसमा प्रेमका कुराहरू थिए, मायाका कुराहरू थिए । त्यो पत्र पढेर पतिपत्नी दुवै रोए, धरधरी रोए अनि उनीहरू धेरैबेर रोइरहे । त्यसबेला उनीहरूमा कत्रो माया–प्रीति थियो । अहिले त्यो प्रेम मरिसकेको थियो । अन्तमा १९१० को २१ अक्टोबरको दिन तीन बजे टोल्सटाय घर छोडेर हिँडे । त्यसको एघार दिनपछि उनको लास रेलको स्टेसनमा भेट्टाइयो । जतिबेला उनी विश्वविख्यात भइसकेका थिए । मृन्युस्थलमा हजारौँ मानिस ओइरिए । लियो टोल्सटाय रुसको यास्नाया पल्यानामा ९ सेप्टेम्बर १९२८ मा जन्मेका थिए । उनको जन्म रुसको एक अति सम्पन्न सम्भ्रान्त परिवारमा भएको थियो । बयालीसवटा कोठा भएको भवन, सम्पन्न, चार हजार एकड जग्गा–जमिन, तीन सयभन्दा बढी नोकरचाकर । उनी नौ वर्ष पुग्दानपुग्दै उनका आमाबाबु दुवै मरे । उनलाई काकीले हुर्काइन् ।

पन्ध्र वर्षको उमेरमा टोल्सटाय कजान विश्वविद्यालयमा पढ्न गए । तीक्ष्ण बुद्धिका उनले सजिलै सबै परीक्षा पास गरे । तर, साधारण पढाइमा उनको चासो थिएन । अथाह सम्पत्तिमा हुर्केका यी युवाको यौवनका दिनहरू खुवै विलासपूर्ण भयो । रमझम र रसरंगमा बित्यो गाना–बजानामा, सङ्गीतको सुरसँगै अनि नृत्यको तालमा कम्मर मर्काउँदैमा बित्यो । माते, लडे, जुवा खेले, दुराचारी, व्यभिचारी बने तर पछि उनलाई यस्तो जिन्दगीसँग घिन लाग्न थाल्यो । अब उनको मानसिक कायापलट भयो । उनी घर फर्के र किसानका लागि स्कुल खोले । काव्य, सङ्गीत र नृत्यको यो स्कुल उनले धेरै दिन चलाउन सकेनन्, स्कुल बन्द भयो ।

उनी सेनामा भर्ती भए अनि क्रिमियाको लडाइँमा लडे । तर, उनी सैनिकको रूपमा सुखी हुन सकेनन्, सैनिक हुनुको नाता र सैनिक जीवनले गर्दा पनि हुनुपर्छ, उनका कथाहरूमा बारम्बार यी कुराहरू आइरहन्छन् । उनका धेरै कथा यस अनुभवमा आधारित छन् ।

स्विट्जर्ल्यान्डको एउटा रेस्टुराँमा उनी एकपटक खाना खान गए । टेबलमा धनीमानी मानिस थिए त्यहीबेला एउटा गाइने आयो र बेला बजायो अनि पैसा माग्दै टोपी अघि बढायो । धनमानीले उसलाई लखेट्न खोजे, टोल्सटाय रिसले आगो भए । उनले त्यो गाइनेलाई ल्याएर आफ्नो टेबलामा राखे अनि ठूलो स्वरमा उसलाई खाना मगाए । अनि दुवैले सँगै खाए ।

सन् १८६२ मा उनले सोन्यालाई बिहे गरे । बिहे गर्दा टोल्सटाय चौँतीस वर्षका थिए । उनकी दुलही अठार वर्षकी । डाक्टरकी छोरी, अन्यन्त राम्री, अनि सुन्दरी, चमचम चम्कने आँखा, धपक्क बलेको मुहारमा सजिएकी सुन्दर परी । बाठी अनि कलाप्रेमी । ती दुईमा अपार प्रेम थियो ।

लियो टोल्सटायको प्रसिद्ध उपन्यास वार एण्ड पिस र अन्ना करेनिनाजस्तो विराट पुस्तक धेरैपल्ट साफी गर्दिने र चिटिक्क पारेर सम्पादन गर्दिने पनि सोन्या नै थिइन् ।

वार एन्ड पिसमा टोल्सटायको परिपक्वता कलापूर्ण रूपमा उत्रिएको छ । यस महान् ऐतिहासिक उपन्यासमा टोल्सटायले केही परिवारका भाग्यको परीक्षण गरेका छन् । नेपोलियनको आक्रमणको पृष्ठभूमिमा यी परिवारहरूको पारस्परिक सम्बन्ध चित्रित गरिएको छ । बिहे गरेको पन्ध्र वर्षसम्म उनीहरूको जीवन सुखद थियो, उनीहरूबीच अपार प्रेम थियो । पचास वर्ष पुगेपछि टोल्सटायको मानसिक परिवर्तन भयो, मन धर्मपट्टि ढल्कियो ।

अब उनी आध्यात्मिक बाटोमा हिँडे, यो अथाह सम्पत्तिप्रति मोहभङ्ग भयो । उनी सामान्य सरल जीवन बिताउन चाहन्थे । यही बेला सोन्यासँग खटपट सुरु भएको थियो । उनी सम्पत्ति थुपार्न चाहन्थिन् । यिनी धनसम्पत्ति गरिबलाई बाँड्थे । यसरी उनीहरूको फाटो बढ्दै गयो, बढ्दै गयो, बढ्दै गयो अनि अन्तमा उनीहरू नदीका दुई किनारा भए ।

अब बूढो हुँदै गएपछि टोल्सटायले रुसी सरकारमाथि अझ बढी आक्रमण गर्न सुरु गरे । किसानहरूको निम्ति होहल्ला मच्चाए । अब सुधारको रूपमा उनी सम्मानित भए । टोल्सटायमाथि २३,००० पुस्तक लेखिएका छन् । अनि पत्रपत्रिकामा ५६,००० लेखहरू प्रकाशित भएका छन्, उनका आफ्नै रचनाले १०० ठेली भरिदिन्छन् ।

अब उनी जिन्दगीका अन्तिम दिनहरूमा आए । टोल्सटायले मानिसलाई पवित्र जीवन जिउन प्रेरित गर्न थाले, शाकाहारी बन्न र अहिंसावादी बन्न प्रेरित गर्दै हिँड्न थाले । विश्वप्रेम प्रचार गर्न थाले उनले । तर, विश्वप्रेम प्रचार गर्ने यी महान् साहित्यकारले आफ्नै परिवारलाई भने प्रेम गर्न सकेनन् । उनको जीवन असहनीय भयो । अन्तमा बयासी वर्षको उमेरमा उनी स्वर्ग हिँडे । उनको परिवार, जो उनको अन्तिम आशा र भरोसाको केन्द्र थियो, परिवारलाई छोडे ।

एघार दिनपछि यति महिमाशाली, लेखक विश्वले पुजेका महान् हस्ती संसारले ढोगेका महापुरुष गति न पति भएर मरे । अनि सारा संसारले आफ्नै बाबु मरेकोजस्तै गरेर शोक मनाए । देशले उच्च सम्मानको साथ सलामी धुन बजाउँदै उनलाई बिदा ग¥यो । तर, संसारभरिका मानिसका हृदयमा उनी हाँसिरहेका छन्, अनि त्यही दिव्य मुहार चम्किरहेको छ । चाँदनीको चमक गगनमा चम्किरहेझैँ चमचम गरेर ।