उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथ प्रर्दशक विशेश्वर प्रसाद कोइरलाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्केपछि पटक–पटक व्यक्त गरिएको हो । बीपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि बीपीले त्यसवेला आफूलाई आफ्ना सहयोद्धा एंव सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए । तर पनि बीपी आफ्नो निष्ठा र प्रतिवद्धताहरुकै बीचमा बाँचेर ‘एक्लो वृहस्पति’ को अनुभूतिको संवेदनशीलतालाई यसरी प्रकट गरेको पाइन्थ्यो–’राष्ट्रिय मेलमिलाप न त राजतन्त्रसँगको सम्झौता हो न त संघर्ष’ ।राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर बीपी र गणेशमानजी सँगै नेपाल फर्किए । त्यतिवेला नेपाली कम्यूनिष्ट आन्दोलनका घरोहर पुष्पलालसँग व्यापक छलफल भएको थियो ।
ग्त बर्ष दुई सँगठनहरुले छुट्टाछुट्टै ढंगले बीपी र पुष्पलाल स्मृति दिवशहरु मनाए । नेपाली जनसम्पर्क समिति बेलायतले बीपीको ३० औं स्मृतिदिवश अलि भव्य र एउटा लक्ष्य, केही आर्थिक संकलन गर्ने र सोसलिष्ट इन्टरनेशनलको सदस्यतावापत बाँकी रहेको वक्यौता चुक्ता गर्ने उद्धेश्यले अभिप्रेरित भई निकै मेहनत गर्यो । तर यसरी भब्य रुपमा बीपीको संझना गरिरहँदा बक्ताका रुपमा मंचमा पुगेका शेखर कोइराला देखिका ब्यक्तिहरुले गणेशमान र शैलजा आचार्य प्रति संझना गर्ने आबश्यकता संझेनन् । त्यस्तै पुष्पलालको भने नेपाली लोकतान्त्रिल मंच बेलायतद्धारा आयोजित कार्यक्रममा उनको सम्झना र उनीप्रति श्रद्धाञ्जलीमात्र दिने रहेको थियो ।
२०२५ सालदेखि २०३३ सालसम्म बीपीले आफ्ना दिनहरु भारतको वनारसमा बिताउनु पर्यो । गणेशमानजी बिशेश्वर प्रसाद कोइरालाका साथ २०२५ साल कार्तिक महिनामा सुन्दरीजल जेलबाट रिहाइ भएपछि निर्वासित हुनु परेको थियो । निर्वाशित कालमा पनि भारत पक्षले बीपी, गणेशमानको सुरक्षाको कारण देखाई नेपाल भारत सीमाको नजिक बस्ने नदिने चलखेल भएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा यदि गणेशमान सिहँको नाम छुटाएर कसैले बीपीको मात्र नाम लिन्छ भने त्यो अपुरो हुने छ । किनभने बीपी सरकारमा रहदा गणेशमान पनि सरकारमा थिए । बीपी जेलमा हुँदा गणेशमान पनि जेलमा थिए । बीपी निर्वासमा हुँदा गणेशमान पनि निर्वासनमा थिए । बीपी राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्किंदा गणेशमान पनि सँगै थिए । लगभग आठ बर्षको जेलजीवनपछि उनीहरु दुवैजना सुन्दरीजल जेलबाट सँगै रिहा भएका थिए । बीपी र गणेशमानका प्रसङ्ग उठाउँदा लाग्छ उनीहरुको दुइटा शरिर भएता पनि नशा–नशामा एउटै रगत संचार भएको थियो । दिमागमा एउटै सोचाई र चिन्तन थियो, यो मुलुकलाई कसरी तानाशाहीको चंगुलबाट मुक्त गर्न सकिन्छ भन्ने, उनीहरुको हृदयमा नेपालीहरुप्रति एउटै माया थियो, कसरी समग्र नेपालीहरुलाई हातमुख जोड्ने समस्याबाट मुक्त गर्न सकिन्छ भन्ने, उनीहरुको हृदयमा नेपालप्रति एउटै सम्मान थियो । कसरी नेपाललाई सम्भाव्य विदेशी हस्तक्षेपबाट जोगाउन सकिन्छ भन्ने, उनीहरुको खुट्टामा एउटै कदम थियो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको ध्वजा फहराउने । हो दुई व्यक्तित्वबीच कहिलेकाही राजतन्त्रका बिषयलाई लिएर विवाद नभएको होइन तर यस्ता अवस्थामा बीपीको राजनैतिक विश्वासपात्र आफ्नै भान्जी शैलाजा आचार्यले एउटा विचारको पुलको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्थिन् ।
बीपी र गणेशमानको निर्वासनकालको सम्झना गर्दै एकठाउँमा बीपीका भाइ एंव प्रजातान्त्रिक आन्दोलनका सहयोद्धा गिरिजा प्रसाद कोइराला लेख्छन्– ‘बीपी वनारसमा हुनुहुन्थ्यो । २०१७ सालदेखि नै निर्वासित भएर पुष्पलालजी पनि वनारसमै रहनु भएको थियो । पछि २०२८ सालदेखि म पनि निर्वासित हुनु पर्यो । त्यही निर्वासनकालमा मैले पुष्पलालजीलाई अझै नजिकबाट चिन्ने मौका पाएं । उहाँ बीपीलाई भेट्न आउनु हुन्थ्यो । बीपी पनि उहाँलाई भेट्न जानु हुन्थ्यो । देशको वस्तुस्थितिबारे पुष्पलालजीसँग छलफल हुन्थ्यो ।’
हो गिरीजाबाबुले भने जस्तै त्यतिवेला पुष्पलाल र बीपी कोइराला संयुक्त मंचमा आएर आ–आफ्ना विचारहरु प्रस्तुत् गर्थे । यसरी विचार प्रस्तुत् गर्दा पुष्पलाल संयुक्त आन्दोलनमा जोड दिन्थे तर बीपीको जोड भने संयुक्त रुपमा नभएर जो जसको जहाँ प्रभाव छ त्यसले ती ठाउँमा आन्दोलनहरु शुरु गर्ने भन्नेमा रहन्थ्यो । बीपीको यो जोडको यथार्थता के हुन सक्थ्यो भने– कम्यूनिष्टहरुसँग मिलेर जाँदा पश्चिमा उदार पूँजीजीवी राजनैतिक शक्तिको समर्थन नेपाली काँग्रेसले पाउन सक्तैन कि भन्ने कुराप्रति बीपीको सर्तकता ।
तर पुष्पलालको जोड भने बाहिरी समर्थनमा हैन । नेपाली जनताको सक्रियतामा रहन्थ्यो । त्यतिबेलाको नेपालको आन्तरिक राजनीतिका कारण बीपी र पुष्पलाल नेपालको राजनीतिमा सर्वाधिक चर्चित भए । उनीहरुका बीच आवत–जावत र भेटघाट भइरहँदा राजनीतिका गंभीर बिषयभन्दा बढी अनौपचारिक कुरा पनि हुने गथ्र्ये । तर यदि औपचारिक छलफल गर्नु पर्यो भने सामान्यता अचानक भेटेजस्तो गरी अन्य कुनै ठाउँमा भेटगराउने पुलको काम शैलजा आचार्यले गर्ने गर्थिन । शैलजा आचार्य बीपीको भान्जी मात्र नभएर बीपीले राजनीतिमा सबभन्दा बढी विश्वास गरेकी व्यक्ति थिईन् । यसो हुनुको खास कारण चाही नेपालको राजनीतिमा बाहिरी शक्तिहरुको त्यसमा पनि विशेष गरेर शीतकालीन शक्तिहरुको अत्याधिक चासो बढ्दै गएको कुराप्रति बीपीको सजकता रहेको हुनु पर्छ ।
२००७ सालको त्रिपक्षीय नेपाली काँग्रेस, राणाहरु र निर्वासित राजाबीच दिल्लीमा जवाहरलाल नेहरुको मध्यस्थतामा भएको सम्झौताप्रति असहमती जनाउँदै पुष्पलालले भनेका थिए–राणा र राजालाई विश्वास गर्ने कुनै आधार छैन उनीहरुले कुनै पनि बेला वैधानिक सुधारका कुरा खारेज गरेर मध्ययुगीन शैली लागू गर्ने छन् । उनले भने जस्तै हुबहु प्रधानमन्त्री बनाइएका मोहन सम्शेरले सबैखाले वैधानिक सुधारका कुराहरु खारेज गरे । यस्तै २०१५ सालको निर्वाचन पछि प्रधानमन्त्री पदमा निर्वाचित बीपी कोइरालालाई पुष्पलालले राजालाई बढी विश्वास नगर्न अनुरोध गरेका थिए । दुर्भाग्य २०१७ साल पौष १ गते आयो । त्यसपछि राजनीतिलाई द्वन्द्ववादी दृष्टीकोणले हेर्नु पर्छ भन्ने संकेत बीपीले प्राप्त गरेको हुनु पर्दछ त्यसैले उनले नेपालका राजनैतिक बिषयमा कुनै पनि निर्णय गर्नु पर्दा पुष्पलालसँग छलफल गर्ने परम्परा वसाले । यसैकारणले हुनु पर्छ बीपीले राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल पर्किएपछिको प्रतिवन्धित अवस्थामा र पुष्पलालको मृत्युको खवर सुने पछि आफूलाई ‘एक्लो वृहस्पति’ को महशुस गरेको । यस अर्थमा बीपी जयन्ती भनाइरहँदा यदि कसैले पनि पुष्पलाल, गणेशमान सिहँ र शैलजा आचार्यप्रति श्रद्धान्जलीका दुई शब्द पुष्पगुच्छास्वरुप टक्राइँदैन भने बीपी जयन्तीको सार्थकतामा कमी आउने छ ।
यस अवसरमा बीपी, पुष्पलाल, गणेशमान र शैलजाप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण चाहान्छु । नेपाली नेताहरुमा सदबुद्धी पलाओस् र पुष्पलालले भनेजस्तै संयुक्तता र एकताले मात्र मुलुकले आजको कठिन परिस्थितिबाट मुक्त पाउने छ ।
(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)
प्रतिक्रिया