प्रदेश नम्बर ५ का एक ‘निर्धन’ तर इमानदार उम्मेदवार

प्रदेश नम्बर ५ का एक ‘निर्धन’ तर इमानदार उम्मेदवार


– मुक्तिनाथ भुसाल (अर्घाखाँची)

राजनीति सेवा हो कि व्यवसाय ? यो प्रश्न आजकल अहम् रूपमा उठ्ने गरेको छ । सेवा गर्ने नाममा जनताको भोट लिएर अगुवा या जनप्रतिनिधि बनेकाहरू पहुँचमा पुगेपछि आफ्नो विगत नै बिर्सन्छन् । आफू जनताको सेवक होइन मालिक भएको भ्रममा तिनीहरू पर्दछन् । यसबाट न जनताको हित हुन्छ न राष्ट्रको उन्नति नै । आजसम्म यस्तै हुुँदै आयो, नियति अब पनि फेरिने हो कि होइन– जनता अन्योलमै छन् ।

यस्तो अन्योलबीचमै अर्घाखाँचीका जनताबीच एउटा आशाको किरण बनेर उदाउँदैछन् रामजीप्रसाद घिमिरे । यही मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि अर्घाखाँचीको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रामजीप्रसाद घिमिरे आफ्नो क्षेत्रमा एक ‘निर्धन नेता’का रूपमा परिचित रहेका छन् । प्रायः राजनीति गर्नेहरूले एउटा खुट्टा राजनीतिमा र अर्को खुट्टा सम्पत्ति आर्जनमा प्रत्यक्ष या परोक्ष रूपमा राख्ने गरेका भएपनि घिमिरेले चाहिँ दुवै खुट्टा इमानदारीका साथ केवल राजनीतिमै लगाएकाले होला, धनलक्ष्मीले उनलाई साथ नदिएको ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानमा २०२३ साल असोज ०१ गते जन्मिएका रामजी २०३५ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । जिल्लाको कृष्ण माविमा अध्ययन गर्दा नै अनेरास्ववियुमा आवद्ध भई विद्यार्थी राजनीतिमा सक्रियता देखाएका उनले मावि शिक्षा पुरा गरी हरि खेतान वहुमुखी क्याम्पस वीरगन्ज पुग्नासाथ अनेरास्ववियुको प्रारम्भीक कमिटी अध्यक्ष र २०४१ सालदेखि २०४३ सालसम्म अनेरास्ववियु जिल्ला कमिटी पर्सामा सचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।

०३६-३७ सालको जनमत संग्रहमा बहुदलीय प्रजातन्त्रको पक्षमा खरो उत्रिएका उनी ०४३ सालको जनपक्षीय उम्मेदवारको चुनावी प्रचारप्रसारका क्रममा पञ्चायती व्यवस्था खारेजीको माग गरेवापत ३४ दिनसम्म प्रहरी हिरासतमा कठोर यातना भोग्ने पात्रका रुपमा परिचित रहेका छन् । हिरासतबाट मुक्त हुनासाथ उनी अर्घाखाँचीबाट भागेर भारतको लुधियाना गई अखिल भारत प्रवासी नेपाली समाज स्थापना गरि प्रथम नगर सम्मेलन सम्पन्न गरेर नेपाल फर्किएका थिए । त्यसपश्चात करिव ६ महिना गुल्मी जिल्लामा भुमिगत रुपमा सांंगठनिक जिम्मेवारी वहन गरेका थिए ।

०४६ सालको जनआन्दोलनमा संयुक्त जनआन्दोलनको कमान्डरका रुपमा अर्घाखाँचीमा नेतृत्व लिएका घिमिरे सोही वर्ष नेकपा माले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । २०५३ सालदेखि २०५९ सम्म नेकपा एमालेको उपसचिव रहेका उनी २०५४ सालको स्थानीय निवार्चनमा साविक मैदान गाविसको अध्यक्षमा विजयी भई थुप्रै विकास निर्माणका कार्यहरू पुरा गर्न लागि परे । ०६२-६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रपंक्तिमा रहि नेतृत्व सम्हाल्ने सरल तथा इमान्दार नेताका रुपमा परिचित घिमिरे २०६६ देखि २०६९ सालसम्म नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीको अध्यक्ष बनेका थिए । सो समय जिल्लाको पाणिनी तपोभुमिमा ऐतिहासिक बैठकमार्फत अखन्ड लुम्बिनीको पक्षमा अविचलित ढंगले उभिने र विखण्डनका विरुद्धमा संर्घष गर्ने निर्णय गरिएको थियो । २०७२ सालदेखि हालसम्म नेकपा एमाले प्रदेश नम्वर ५ को प्रदेश संगठन कमिटी सदस्य रहेका उनी जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोठा भाडा लिएर लामो समयदेखि बसोवास गर्दै आएका छन् ।

घिमिरेको इमानदारीता, त्याग र निष्ठाको कदर गर्दै नेकपा एमालेले प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएपछि हाल उनी प्रचारप्रसारमा खटिएका छन् । प्रचारप्रसारको क्रममा आफुले हालसम्म ब्यक्तिगत सम्पत्ति नकमाएको र बाँकी जिन्दगी पनि समाजसेवामा लगाउन प्रतिबद्ध भएको कारण निर्धक्कसाथ विजयी गराउन आग्रह गरेका छन् । एक घर एक रोजगार र बाँकी परिवारलाई स्वरोजगार बनाउने सपना बुनेका घिमिरेले सडक स्तरोन्नति हुनुपर्ने, सिचाई, खानेपानी र शिक्षामा सबैको पहुँच हुनुपर्ने र कृषिमा आधुनिकीकरण गरि जिल्लामा रहेका पर्यटकीय स्थानहरूलाई सुव्यवस्थित तुल्याएर बेरोजगारी समस्या हटाउन सकिने अवधारणा अघि सार्दै आएका छन् । जिल्लाका कतिपय स्थानमा अव्यवस्थित बस्ती र सुकुम्वासी समस्या समाधान गर्ने कार्य आफु निर्वाचित भइसकेपछि प्राथमिकतामा रहने बताउदै आएका घिमिरेले आफनो कार्यकालमा स्थानियको ४९ प्रतिशत लगानीमा अधुरो अवस्थामा रहेको २४५ मेगवाटको नौमुरे जलविधुत आयोजना तीव्र रुपमा अगाडी बढ्ने विश्वास लिएका छन् ।

संयुक्त बामगठबन्धनका तर्फवाट साझा उम्मेदवार बन्ने सौभाग्य पाएका रामजीप्रसाद घिमिरेका प्रतिस्पर्धी उम्मेदवार नेपाली काङ्ग्रेसका हिम्मतबहादुर टन्डन रहेका छन् ।