पोखरामा ‘विशाल चुनावी आमसभा’ गर्दै कांग्रेस

पोखरामा ‘विशाल चुनावी आमसभा’ गर्दै कांग्रेस


नेपाली कांग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको कांग्रेस कास्कीले जनाएको छ ।

आमसभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की कांग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले जानकारी दिए । त्यस्तै आमसभामा कास्कीमा कांग्रेसबाट उम्मेदवारी दिएका प्रतिनीधि र प्रदेशसभातर्फका उम्मेदवारहरुले पनि सम्बोधन गर्नेछन् ।

अमरसिंह चौरमा हुने आमसभामा ५० हजार भन्दा बढिको सहभागिता हुने कांग्रेस कास्कीको दाबी छ । विशाल चुनावी आमसभाको सफलताको लागि कांग्रेस कास्कीले विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तीव्र पारिरहेको जनाइएकोछ ।

निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ ईकाईले क्रियाशिल भेला आयोजना गरेको छ । कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार देवराज चालिसे, प्रदेश ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बराल र समानुपातिक उम्मेदवार बृन्दा रानासहितको उपस्थितिमा क्रियाशिल भेला आयोजना भएको थियो ।

क्रियाशील भेलालाई सम्बोधन गर्दै प्रतिनीधिसभा उम्मेदवार देवराज चालिसेले जनताले यो पटक कांग्रेसका उम्मेदवारलाई क्षेत्र नम्बर २ मा अवसर दिने दाबी गरे । उनले भने– ‘लोकतन्त्रलाई संस्थागत गर्ने र समृृद्धिको क्रान्ति ल्याउने हाम्रो अभियानमा क्षेत्रवासीहरु साथ दिन तयार रहेको हामीले घरदैलोको क्रममा पाएका छौँ ।’

क्रियाशिल भेलामा कांग्रेसका जिल्ला सदस्य नम्रता बराल, युवक लामिछाने, निवर्तमान इकाई सभापति कुन्दरीप्रसाद बराल, प्रेस यूनियन केन्द्रीय महिला विभाग सदस्य विमला भण्डारी, कांग्रेसका क्षेत्रीय प्रतिनीधि ज्ञानेन्द्रराज पौडेल लगायतले मन्तव्य दिएका थिए ।

यसैक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवम् प्रतिनिधिसभामा क्षेत्र नं १ कास्कीबाट नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापा मादी गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो र कोणसभा गरी दुई दिनपछि पोखरा फर्किएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापा, प्रदेशसभा सदस्य उम्मेदबार कृष्ण केसी र समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ मादी गाउँपालिका वडा नं ८, ९, १० र ११ मा घरदैलो तथा विभिन्न स्थानमा कोणसभा गरी पोखरा फर्किएका हुन् ।

मादीबाट फर्केका कास्की कांग्रेसका सभापति समेत रहेका उम्मेदबार केसीले मादीबाट कांग्रेसको विजयी शुरुवात भएको दावी गरे । भाचोक, मकैखोला र मादी–९ मा र्२ सय बढि मतदाता कांग्रेसमा प्रवेश गरेका उनले जानकारी दिए ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर ३ प्रदेश ‘क’मा उम्मेदवारी दिएकी शारदा पौडेल शनिबार सराङकोटबासीको घरदैलोमा पुगेकी थिइन् । उनले घरघर पुगेर विकास र समृद्धिसँगै दिगो शान्ति र स्वतन्त्रताको लागि कांग्रेसको पक्षमा भोट मागिन् ।

बरालको प्रचारमा ‘ड्रोन’

कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले फरक शैलीबाट चुनावी प्रचार गरेका छन् । केहि दिन अगाडि मात्रै रोबोटमार्फत भोट मागेका बरालले शनिबार कृस्तीको डाँडाबाट चारतारे कांग्रेसको झण्डासहितको ‘ड्रोन’ उडाएर गाँउ–गाँउमा प्रचार गरेका हुन् ।

‘रिमोट कन्ट्रोल सिस्टम’बाट चल्ने ड्रोन नेपाली कांग्रेसको झण्डासहित गाऊँ परिक्रमा गरेको थियो । लामो र पत्यारलाग्दो भाषणसहितको पुरानो शैलीको चुनावी प्रचारबाट आजित भैसकेका जनतालाई नयाँपन दिन र नयाँ पुस्तालाई आफूप्रति आकर्षित गर्न प्रचारमा प्रविधिको उपयोग गरेको उनको तर्क छ ।