पचास हजार युवालाई स्वरोजगार बनाइने

पचास हजार युवालाई स्वरोजगार बनाइने


युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताएका छन् । उनले देशभरका सहकारीमार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको बताएका छन् ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकास्थित सृजना सहकारी संस्थाको १७औँ साधारणसभामा शनिबार निर्देशक गौतमले हालसम्म ४५ हजार युवालाई स्वरोजगार बनाइसकेको बताए । यसका लागि ७५३ स्थानीय तहमा नमूना कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।

कोषले सहकारीलाई पहिलो चरणमा रु ५० लाखसम्म थोक कर्जा प्रवाह गर्दै आएको छ । दोस्रो चरणमा युवा स्वरोजगार कोषको कर्जा माग गर्ने सहकारीलाई रु ७५ लाखसम्म थोक कर्जा प्रदान गर्दै आएको छ । २०६५ सालदेखि स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लगानी गरिएका व्यवसायको बीमासमेत गर्दै आएपछि कोषको कर्जा सहकारी र बेरोजगार युवा आकर्षित भएका छन् । कोषले असल ऋणी तथा नियमित साँवा ब्याज तिर्नेलाई १० प्रतिशत ब्याजदरमा समेत ६० प्रतिशत ब्याज अनुदान दिँदै आएको उनको भनाई छ ।
सहकारीका अध्यक्ष कृष्ण भुसालले युवा स्वरोजगार कोषको कर्जा बेरोजगार युवालाई लगानी गरी अहिले आत्मनिर्भर बनाइएको बताए ।