प्रचण्डले भने– बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती

प्रचण्डले भने– बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवशका रुपमा लिएका छन् ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै उहाँले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना २ ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । विसं २०६२ जेठ २३ गते घटना भएको हो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुग्नुभएको हो । यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन । चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन ।