ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त हुनुभएको छ । उक्त बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले सिइओमा पौड्याललाई नियुक्त गरेको हो । उनी यसअघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
लण्डनबाट एमविए गर्नुभएका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० बर्षभन्दा बढिको अनुभव संगालिसकेको बैंकले जनाएको छ ।
उहाँले सन् १९८७ मा इन्ट्रि लेभलमार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गर्नुभएको थियो । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उहाँ तात्कालिन एनआइसी बैंक जानुभएको थियो । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेल्नुभएका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रक्रिया थाल्न लक्ष्मी बैंकमा जानुभएको थियो । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन जानुभयो ।
लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उहाँसंग रहेको छ । उहाँले त्यहाँ साढे चार वर्ष काम गरेको अनुभव संगाल्नुभएको छ । त्यसपछि उहाँले तात्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गर्नुभएको थियो । तात्कालिन ग्लोबल बैंककोको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा कामु प्रमुख कार्यकारी अधिकृत हुदै उहाँ ग्लोबल आइएमई बैंक लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन हुनुभएको हो ।
प्रतिक्रिया