क्यान्सरपीडित महिलालाई रकम सहयोग

क्यान्सरपीडित महिलालाई रकम सहयोग


पाठेघरको क्यान्सरबाट पीडित श्रीमतीलाई श्रीमानले छोडेर भागेपछि बिमार महिलाको विचल्ली भएको छ । वीरगञ्ज पानीट्याङ्की–८ मा भाडाको कोठामा गुजारा गर्दै आएकी ४० वर्षीया पम्फा श्रेष्ठ यसरी दोहोरो पीडामा परेकी हुन् ।

पीडित पम्फाको उपचारका लागि हिमाल आइरन एण्ड स्टिल प्रा.लि. जोगीफर्म परवानीपुरका मजदूरहरूले आफ्नो तलबबाट कट्टा गरी २० हजार रकम संकलन गरेका छन् । वीरगंजको पब्लिक एफएमले पम्फाको अवस्थाबारे समाचार प्रसारण गरेपछि उपचारमा लाग्ने खर्चमा थपथाप मद्दत होस् भनी रकम संकलन गरिएको सहयोग पुग्ने मजदुर नेता पुण्यदेव यादवले बताए । पीडित महिलाका श्रीमानले ११ वर्षको छोरासहित बिरामी पत्नीलाई छेडेर बेपत्ता भएका बताइएको छ ।

यसैबीच नयाँ शक्ति पार्टी नेपाल पर्साले चुनावी प्रचारप्रचार सुरु गरेको छ । पर्सामा नयाँ शक्ति पार्टीको प्रत्यक्षतर्फ उम्मेदवार नभए पनि समानुपातिक भोट माग्न प्रसारप्रसार थालिएको नयाँ शक्तिको युवा संगठन राष्ट्रिय युवा अभियान नेपालका सचिव दिपेन्द्र साहले बताए । पर्साबाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार मोनिका सिंह, जाबेद एकवाल हैदरको सहभागितामा बीरगञ्जको घण्टाघरबाट घरदैलो शुरु गरिएको सचिव साहले बताए । सबैका लागि समृद्धि सबैलाई सम्मान, राज्य सत्ताका सबै तहमा सबैको पहुँच समान भन्ने नारासहित नयाँ शक्ति पर्साले आँखा चिन्हमा मतदान गर्न आह्वान गर्दै चुनावी प्रचारप्रचार शुरु गरेको हो ।

– प्रणय साह