बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र नेविसंघ नेतृ मीराले गुमाइन् खुट्टा

बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र नेविसंघ नेतृ मीराले गुमाइन् खुट्टा


उदयपुरको एम्बुस (बम विष्फोट) घटनामा परेर घाइते भएका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कटवाललाई उपचारार्थ काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चढेको बा १५ च ७८०६ नम्बरको गाडी एम्बुसमा परेको हो । नेपाली कांग्रेस उदयपुरका नेता लवराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको थियो ।

घटनामा परी उम्मेदवार कार्की र नेविसंघ जिल्ला सदस्य मीरा कटवाल गम्भीर घाइते भएका छन् । कार्कीको हातका औंला चुडिएको छ, अनुहार र खुट्टामा गहिरो चोट लागेको छ भने मिराको एउटा खुट्टा चुँडिएको छ ।

गम्भीर घाइते भएका दुवैजनालाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाडौं ल्याइएको हो । सामान्य घाइते भएका दुर्इ सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । सोही गाडीमा सवार अन्य दुर्इजना भने सामान्य अवस्थामा रहेका छन् ।

उदयपुर रिस्कु ४ मा ७१ वर्षअघि बाबु नरबम र आमा नरमायाको कोखबाट जन्मिएका नारायणबहादुर कार्की राजनीतिमा निरन्तर क्रियाशील छन् । शिक्षाशास्त्रमा स्नातक गरेका कार्की २०४५सालदेखि राजनीतिमा सक्रिय छन् ।

पञ्चायतकालमा २० दिन जेल जीवन बिताएका कार्की २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेस उदयपुरबाट प्रत्यक्ष निर्वाचित सांसद थिए । संविधान निर्माण र उदयपुर जिल्लाको विकासमा निरन्तर सक्रिय रहँदै आएका कारण यो पटक पनि पार्टीले टिकट दिएको बताइन्छ। जिल्लाको विकास र समृद्धिमा हरदम तल्लिन रहने कार्की आम मतदाता तथा कार्यकर्तामाझ लोकप्रिय छन् ।

आफ्नो क्षेत्रको खेलकुद, धार्मिक पर्यटन, भौतिक विकास निर्माणको कामलाई निरन्तरता दिँदै जनताको सेवा गर्ने कार्कीको योजना छ । उनले आफ्नो क्षेत्रमा सुरक्षित आवासका लागि पहल गर्ने ,अव्यवस्थित दलित बस्तीलाई व्यवस्थित गर्ने, आधुनिक कृषि प्रणालीको विस्तार गरी बजारीकरण गर्ने, मध्य–पहाडी राजमार्गको धेरै भाग उदयपुरमा पर्ने भएकाले यसको स्तरोन्नति गर्ने, धार्मिक पर्यटनका प्रवर्धनका लागि रौता–पोखरी, गढीबजारलगायत क्षेत्रको पूर्वाधार विकासमा जोड दिने, बढ्दो सवारी दुर्घटना रोक्न सडक सञ्जाल विस्तार गर्दै सुरक्षित यातायातको व्यवस्था गर्ने र निर्वाचन क्षेत्रमा शिक्षाका लागिप्राविधिक कलेज तथा स्वास्थ्यका लागि अस्पताल निर्माण गर्ने योजना तर्जुमा गरेका छन् । राजनीतिक क्षेत्रमा मात्र नभएर विगतमा उनले सामाजिक क्षेत्रअन्तर्गत ८ हजार दलितका लागि आवास निर्माणमा विशेष सहयोग गरेका थिए ।

यस्तै, दुर्घटनामा परी खुट्टा गुमाएकी मीरा एक जुझारु विद्यार्थी नेतृको रुपमा परिचित छिन् ।