भारोत्तोलनकी उदीयमान खेलाडी कमलाको ओलम्पिक खेल्ने लक्ष्य

भारोत्तोलनकी उदीयमान खेलाडी कमलाको ओलम्पिक खेल्ने लक्ष्य


– श्रीविक्रम भण्डारी

श्रीविक्रम भण्डारी 
आमा निर्मला श्रेष्ठको प्रेरणाले उनी आठ वर्षको उमेरदेखि खेलकुदमा होमिएकी हुन् । पारिवारिक वातावरण खेलकुदमय नभए पनि सितोरियो कराते उनको पहिलो रोजाइ बनेको थियो । ०६६ देखि सितोरियो खेल्न थालेकी उनले निरन्तर चार वर्ष सितोरियोमा आफ्नो प्रतिभा प्रदर्शन गरेकी थिइन् । सितोरियो खेल्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी उनी ०७० मा भारोत्तोलन खेलमा प्रवेश गरेर चर्चाको शिखरमा पुगेकी थिइन् । सितोरियो करातेमा आफ्नो प्रतिभा प्रदर्शन गर्दागर्दै एक्कासि भारोत्तोलनतर्फ आकर्षित भएकी उनी हुन्– कमला श्रेष्ठ ।

भारोत्तोलन कमलाको पहिलो रोजाइको खेल थिएन, तर भाग्यले जुराएपछि उनी भारोत्तोलन खेलाडी बन्न पुगिन् । ०७० मा भक्तपुरमा महिला कराते च्याम्पियनसिप भइरहेको थियो । सो अवसरमा कमलाको भेट लक्ष्मी वनसँग भयो । उनले जिज्ञासापूर्वक वनसँग भारोत्तोलन खेलको बारेमा जानकारी मागेपछि उनले दशरथ रंगशालामा भारोत्तोलन खेलेको देखाउन लगेकी थिइन् । त्यसबेला कमलासँग १५ जना कराते खेलाडी भारोत्तोलन कसरी खेल्छन् भनेर हेर्न रंगशाला पुगेका थिए ।

प्रशिक्षक सञ्जय महर्जनले करातेका ती खेलाडीलाई पालैपालो फलाम उठाउन लगाए, तर कमला भने उठाउन मानिनन् । कमलाकै शब्दमा भन्नुपर्दा ‘उनले त्यस्तो फलाम उठाउने खेल पनि कसैले खेल्छ, त्यस्तो पनि खेल हुन्छ, भनेर पन्छिन खोजेकी थिइन् । तर, प्रशिक्षक महर्जनले एकपटक ट्रायल गर भनेपछि कमलाले पहिलोचोटि फलाम उचालेकी थिइन् । कमलाको पहिलो प्रयासबाटै प्रभावित महर्जनले त्यसपछि भारोत्तोलन खेल्न उनलाई सुझाव दिएका थिए । त्यसपछि महर्जनले कमलाको अभिभावकलाई भेटेर उसको भारोत्तोलनमा भविष्य राम्रो छ, उसले केही गर्न सक्छ भनेपछि कमलालाई अभिभावकले भारोत्तोलन खेल्न अनुमति दिएका थिए ।

०७० देखि कमलाले भारोत्तोलनमा प्रशिक्षण गर्न थालेकी हुन् । त्यसबेला उनको उमेर १६ वर्षको थियो । २३ दिनको प्रशिक्षणपश्चात् नै कमलालाई प्रथम लुम्बिनी च्याम्पियनसिप खेल्ने अवसर प्राप्त भएको थियो । जुनियरतर्फ ५३ केजीमा प्रतिस्पर्धा गरेकी कमलाले उक्त च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरेर हुने बिरुवाको चिल्लो पातको रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन् । आफूले कल्पनामा समेत नसोचेको सफलता छोटो समयमा प्राप्त गरेपछि कमला निकै उत्साहित बनेकी थिइन् । त्यसपछि कमलाको सोचमा परिवर्तन आउनुको साथै नयाँ जोस–जाँगर उत्पन्न भएको थियो । सधैँभरि भारोत्तोलन खेल्न मन लागेको थियो । परिणाम, उनी दैनिक भक्तपुरबाट बसमा चढेर रंगशाला प्रशिक्षण गर्न आउन थालिन् ।

यसरी छोटो समयमा पाएको सफलताले कमलाको खेलजीवनमा नौलो अध्यायको शुभारम्भ भएको थियो । प्रशिक्षणसँगै उनले राष्ट्रिय प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्दै गइन् । त्यसमा तेस्रो, चौथो र पाँचौँ ग्य्रान्डपिक्स द्वितीय स्थान हासिल गरेपछि उनी निकै उत्साहित भएकी थिइन् । त्यसबेला ५३ केजी तौल समूहमा देवी चौधरीको दबदबा थियो । यी प्रतियोगिता कमलाले ०७१ सालमा ५३ केजी तौल समूहमा खेलेकी थिइन् ।

गत वर्ष भारतको गुहावाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता कमलाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । कमला ५८ केजीतर्फ छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै १२औँ सागमा छनोट भएकी हुन् । १२औँ सागमा ५८ केजीतर्फ प्रतिस्पर्धा गरेकी कमलाले आफ्नो पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गर्न सफल भएकी थिइन् । उनी भारत, श्रीलंका र बंगलादेशका खेलाडीभन्दा पछि परे पनि उनको प्रदर्शनको त्यसबेला खुवै चर्चा भएको थियो । त्यसपछि उनले ०७३ सालमा जापानमा भएको जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी कमलाले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेर आश्चर्यचकित नतिजा निकालेर सबैको आँखाको नानी बनेकी थिइन् । उक्त च्याम्पियनसिपमा ५८ केजीतर्फ ‘बी’ ग्रुपमा प्रतिस्पर्धा गरेकी कमलाले प्रथम स्थान मात्र हासिल नगरी तीनवटा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । यसभन्दा अघि उक्त राष्ट्रिय कीर्तिमान लक्ष्मी चौधरीको नाममा थियो ।

०७४ मा नेपालमा आयोजना भएको जुनियर एसियन च्याम्पियनसिपमा कुनै पदक जित्न नसके पनि कमलाले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउँदै आफ्नो कीर्तिमान आफँैले तोडेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा स्न्याचतर्फ ६७ र क्लिन एन्ड जर्कतर्फ ८५ केजी उठाएर आफूलाई भारोत्तोलनको उदीयमान महिला खेलाडीको रूपमा उभ्याउन सफल भइन । त्यसको लगत्तै अस्कावादमा भएको इन्डोर एसियन च्याम्पियनसिप खेल्ने मौका आएकी कमलाले त्यहाँ स्न्याचतर्फ ६८ केजी उठाएर एउटा कीर्तिमान बनाए पनि क्लिन एन्ड जर्कमा भने उनको प्रदर्शन राम्रो हुन सकेन । त्यसपछि कोरियामा सम्पन्न एसियन कप भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो प्रदर्शनमा सुधार गर्दै स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९० किलो उठाउन सफल भएकी थिइन् ।

त्यस्तै, पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कमलाको उत्कृष्ट प्रदर्शन रहेको थियो । सातौँ सागमा उनले तीनै विधामा सर्वोत्तम भार उठाएर तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । कमलाको यो प्रदर्शनले ५८ केजीतर्फ झन्त कटुवालले राखेको राष्ट्रिय कीर्तिमान तोड्न सफलता प्राप्त भएको थियो । त्यसपछि हालै सम्पन्न सुनीललाल जोशी स्मृति भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी कमलाले उक्त प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी थिइन् । सो प्रतियोगितामा कमलाले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउँदै ‘स्ट्रोङ गेस्ट र वेस्ट लिफ्टर’को उपाधिसमेत जितेर आफ्नो खेलजीवनको सफलतालाई अर्को बिन्दुमा पु¥याउन सफल भएकी थिइन् ।

यतिबेला कमला श्रेष्ठ भारोत्तोलनकी आसलाग्दी उदीयमान खेलाडीको रूपमा देखिएकी छिन् । सबै कुरा व्यवस्थित रूपमा सञ्चालन भएको खण्डमा अन्तर्राष्ट्रिय पदक जित्न असम्भव नभएको उनले दाबी गरिन् । अन्तर्राष्ट्रिय पदक जित्न नियमित प्रशिक्षणले मात्र पुग्दैन, त्यसका लागि विशेष प्रशिक्षणको व्यवस्था हुनुपर्छ, बन्द प्रशिक्षणको बेलामा मात्र विशेष प्रशिक्षण गरेर हुँदैन, खेलाडीको स्तरवृद्धिका लागि निरन्तर विशेष प्रशिक्षण हुनुपर्छ । त्यो सबै कुराको व्यवस्था सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल भारोत्तोलन सङ्घले गर्नुपर्छ । खेलाडीका लागि विशेष सुविधा प्रदान गरे खेलाडीले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कमलाको कथन थियो ।

०७० देखि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी कमला बिहान आर्मी क्लबमा फिजिकल गर्दै आए पनि दिउँसोको प्रशिक्षण रंगशालामा गर्दै आएकी छिन् । उनको मिहिनेतबाट सबै प्रशिक्षक प्रभावित छन् । त्यसैले सबै गुरुहरू मीठु गुरु, तिलक राउत, जगदीश प्रधान, सञ्जय महर्जन र विभागीयको तर्फबाट कमल अधिकारीले ‘तिमी राम्रो खेलाडी हौ, फिजिकल फिटनेस राम्रो छ, मिहिनेत छ र राम्रोसँग प्रशिक्षण ग¥यौ भने दक्षिण एसियाली खेलकुदमा पदक जित्न सक्छ्यौ भन्नुभएको जानकारी गराएकी छिन् । कमलाले यही कुरालाई आत्मसात् गर्दै अहिले आफूलाई यही साँचोमा ढाल्ने प्रयास गरिरहेकी छिन् । भारोत्तोलन खेलाडीको रूपमा ओलम्पिकमा छनोट भएर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सपना बुनेकी छिन् । कामना गरौँ, कमलाको लक्ष्य पूरा होस् ।