एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक


आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल प्रा.लि.ले चार नयाँ भ्वाइस प्याक ल्याएको छ, जसअन्तर्गत एनसेलका ग्राहकले अब थप सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेलको दाबी छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा सात सय मिनेटसम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् ।

तीन महिनाका लागि सञ्चालनमा ल्याइएको नयाँ भ्वाइस प्याक गत साता बिहिबारदेखि सुरु भएको हो । यी नयाँ प्याकहरु अन्तर्गत एनसेलका ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत एनसेलका ग्राहकले करसहित रु. १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट टक टाइम लिन सक्छन् भने रु ३० मा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्ने जानकारी दिइएको छ । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रति मिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको बताइएको छ । त्यस्तै, साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्कभित्र कल गर्दा करसहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । भ्वाइस प्याक अन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्र मात्र लागु हुनेछ ।

एनसेलले जनाएअनुसार ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन् ।