नारायणकाजी अस्वस्थ, घाँटी र छातीमा समस्या

नारायणकाजी अस्वस्थ, घाँटी र छातीमा समस्या


नेकपा माओवादी केन्द्रका शीर्षतहका नेता नारायणकाजी श्रेष्ठ अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना भएका छन् । छातीमा इन्फेक्सन र घाँटीमा समेत समस्या उत्पन्न भई सिकिस्त बनेपछि ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा नेता नारायणकाजीलाई भर्ना गरिएको उनका सहयोगी सुशन कर्माचार्यबाट जानकारी मिलेको छ ।

बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको लागि गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका र आफ्नै पूर्वसहकर्मी एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको प्रतिष्पर्धाका कारण यतिबेला विशेष चर्चामा रहेका नेता श्रेष्ठ चुनावी धपेडीकै कारण बिरामी परेको ठानिए पनि उनलाई घाँटीसम्बन्धी पुरानो समस्यालेसमेत च्यापेको बुझिएको छ । किष्ट अस्पतालको बेड नम्बर ७३१ मा उनको उपचार चलिरहेको छ ।

हिजो बुधबार अस्पताल भर्ना भएका नारायणकाजी श्रेष्ठले प्रचण्डको चुनाव प्रचारका लागि चितवन जानुपर्ने कारण देखाउँदै आज अस्पतालबाट डिस्चार्ज हुन खोजे पनि चिकित्सकहरुले कम्तीमा पनि चार पाँच दिन अस्पतालमै आराम नगरे समस्याले गम्भीर रुप लिन सक्ने भन्दै डिस्चार्ज नदिएको बुझिएको छ । यसअघि नै एकपटक स्वाइन फ्लुको आक्रमण झेलिसकेका कारण चिकित्सकले उनलाई अहिले बोल्नसमेत नहुने चेतावनी दिएका छन् भने घाँटीको समस्याकै कारण औषधिसमेत स्लाइनमार्फत दिइएको छ ।