छविलाल बगाले
निर्वाचनमा खर्च भएको रकमले समग्र बैंक प्रणालीमा कुनै असर नपारेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निर्वाचनमा बैंक प्रणाली बाहिर रहेका रकमको खर्चका बिषयलाई लिएर नकारात्मक टिप्पणी नगर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्बाचनमा उम्मेदवार तथा तिनका दलहरुले दैनिक रुपमा ५ देखि १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । निर्बाचनमा जसरी पनि जित्ने अभियानमा रहेका उम्मेदवारले दिनकै यतिका रकम खर्च गर्ने गरेको रहस्य बाहिर आएको हो । सरकार, उम्मेदवार र ब्यक्ति सबैको रकम निर्बाचनमा खर्च भइरहेको भन्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंक प्रणालीमा यस्ले कुनै असर नपारेको बताउँछन् । उनले निर्बाचनमा स्वभाविक रुपमा खर्च बढ्ने भन्दै बैकिङ सुचकको अवस्था चिन्ताजनक नभएको प्रष्ट पारेका छन् ।
निर्बाचनका क्रममा आक्रामक रूपले तडकभडक र तामझामका साथ भइरहेको खर्चका तुलनामा बैंक तथा वित्तीय संस्थाबाट रकम झिकिएको भने नपाइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको अञ्चल कार्यालयहरुले पनि निर्बाचनका समयमा बैंकहरूबाट बढी रकम माग नभएको जनाएका छन् ।
त्यसो त बैंकहरुले निर्वाचनका बेला रकम अभाव होला की भनेर नोट कोषमा रकम थपेपनि सोचे अनुरुपको रकम नझिकिएको बैंकहरुले बताएका छन् । प्रबक्ता पौडेलले बैंकिङ प्रणालीभन्दा बाहिर रहेका रकमहरु निर्बाचनका बेला आएका हुन सक्ने भन्दै बैंकले कर्जा, निक्षेपको स्थिति, रकम झिकेको स्थिति, अवस्था अरुबेला र अहिलेको बेला उतारचढाव नआएको बताए ।
बैंक तथा वित्तीय संस्थामा बचत भएका बढी रकम राष्ट्र बैंकको ढुकुटीमा जम्मा हुने गर्दछ । आफूसँग रकम अभाव हुँदा राष्ट्र बैंकबाट झिकेर लैजाने गर्दछन् । बैंकले कारोबारको आयतन मूल्यांकन गरी केही रकम आफ्नै ढुकुटीमा राख्ने गरेका छन् ।
राष्ट्र बैंकका अनुसार जसरी निर्वाचनका बेलामा बजारमा नगद प्रवाह बढेको देखिन्छ, त्यहीअनुरूप बैंकबाट भुक्तानी भने भएको छैन । बैंकले निर्बाचनमा राजनीतिक दल र उम्मेदवारहरूले गरिरहेको खर्चको ३० प्रतिशत मात्र बैंकिङ प्रणालीबाट भएको अनुमान गरेको छ । यसकारण पनि भन्न सकिन्छ की झण्डै ७० प्रतिशत नगद सोझै बजारमा गइरहेको छ ।
प्रतिक्रिया