दाङको मौरीघाटमा ज्योति विकास बैंक

दाङको मौरीघाटमा ज्योति विकास बैंक


ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (१५ मंसिर २०७४ शुक्रबार) देखि दाङ जिल्लाको राप्ती गाँपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय स्थापना गरी एक विशेष समारोहका बीच औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । राप्ती गाँउपालिका वडा नं. ४ भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको उक्त शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो । यो शाखासहित दाङ जिल्लामा यस बैंकको चारवटा शाखा कार्यालय भएको बैंकले जनाएको छ ।

आफ्नो सेवा क्षेत्रलाई ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरूमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एवं बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले जानकारी गराउनुभयो ।

शाखा उदघाटन समारोहमा राप्तीे गाँउपालिका वडा नं. ४ का अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, राप्ती उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदन कुमार महत, राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिनुभएको थियो ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बताइएको छ ।