कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।
केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्ष अघिदेखि शुरु गरेको सो आयोजनाको निर्माण सम्पन्नपछि १३ मेगावाट विद्युत् परीक्षण उत्पादन शुरु गरेको हो ।
उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए । कुल दुई अर्ब पाँच करोडको लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।
सिक्लेस गाउँ नजिकैको मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ ।
‘रन अफ रिभर’ प्रविधिमा बनेको उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ७ र वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् परीक्षणपछि ३ साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । तीनबर्ष अघिदेखि निर्माणाधिन यस आयोजनाले भूकम्प र नाकाबन्दीको प्रभाव पनि खेप्नुपरेको थियो । २ बर्ष अघि नै निर्माण सम्पन्न गर्ने प्रवद्र्धक कम्पनीको लक्ष्य थियो ।
आयोजनास्थलदेखि प्रसारण लाइनसम्मको २५ किलोमिटर दूरीको प्रसारण लाइनमध्ये आधा आयोजनाले नै बनाएको केसीले जानकारी दिए ।
आयोजनामा नेपाल बैङ्कको अगुवाइमा सातओटा विभिन्न बैङ्कले लगानी गरेका छन् । आयोजनाको विद्युत्गृहमा ६ दशमलव ५ मेगावाट क्षमताको २ ओटा ‘पेल्टन टर्वाइन’ छन् ।
सिक्लेस जलविद्युत् आयोजनाका प्रवद्र्धकले यसअगाडि ४ मेगावाट क्षमताको गण्डकी हाइड्रोपावर, १ मेगावाट क्षमताको सेती १ र ४ दशमलव ५ मेगावाट क्षमताको सेती २ परियोजनामा लगानी समेत गरिसकेका छन् ।
७ मेगावाट क्षमताको युनाइटेड इदिमर्दी र ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर दोस्रो पनि निर्माणाधिन छन् ।
प्रतिक्रिया