अबका नेता कर्मचारीबाट ल्याउनुपर्छ-वसन्तराज कुँवर

अबका नेता कर्मचारीबाट ल्याउनुपर्छ-वसन्तराज कुँवर


कहिलेकाहीँ म गम्भीर भएर सोच्छु- के नेपाल पनि कहिले विकसित मुलुकको सूचीमा पर्न सफल होला – मेरा बाबुबाजेको जीवन थोत्रो भोटो, फाटेको टोपी र गाईगोठवरिपरि नै बित्यो, म दुईछाक खानकै लागि सङ्घर्ष गर्दै छु, मेरा भाइबहिनीहरू नेपालमा रोजगारका अवसर नभएकाले विदेशमा भाँडा माँझ्न पुगेका छन् । के आउने पुस्ताले तीन महिना काम गरेर वर्षभरि खान र मनलागेको मुलुकमा पर्यटक भएर घुम्ने अवसर पाउलान् – के यो मुलुकको पासपोर्ट देख्नेबित्तिकै कुनै पनि मुलुकमा इमिग्रेसन अधिकारीले शङ्काको दृष्टिले नहेरी मुसुक्क हाँस्दै स्वागत गरेर प्रवेशआज्ञा दिने दिन आउला – के यो मुलुक पनि संयुक्त राष्ट्रसङ्घभित्र एउटा प्रभाव दिन सक्ने मुलुकको रूपमा कुनै दिन चिनिएला – के यो मुलुकको नामअङ्कित ट्याग टाँसिएका सामानहरू यहाँ उत्पादन भएर विश्वभर किन्न पाइने देख्न पाइने दिन आउला – के यो मुलुकमा कुनै दिन आफ्नै हवाईजहाज राख्न सक्ने हैसियतमा किसान देखिएलान् – के यो मुलुकमा बच्चा र बुज्रुग नागरिकहरूले राज्यको जिम्मेवारीमा अध्ययन गर्ने र संरक्षण प्राप्त गर्न सक्ने दिन देख्न पाउलान् – के यो मुलुकमा बाघदेखि गैंडा र रूखदेखि बालुवासम्मले सुरक्षित भएर आ-आफ्ना स्थानमा बाँच्न पाउने वा संरक्षण हुन पाउने समय आउला – के यो देश विश्वका नागरिकहरूलाई लोभ्याउने शैक्षिक र पर्यटकीय स्थल बन्न सक्ला –
एक दिनको कुरो हो- अनायासै मेरो दिमागमा अनगिन्ती माथिका प्रश्नहरू मानसपटलमा एक-एक गरी उब्जन थाले । यी प्रश्नहरू टेलिभिजनमा एक-अर्कासँग सिँगौरी खेल्दै गरेका नेता भनौँदाहरूको अनुहार देखेपछि मेरो दिमागमा आएको थियो । उनीहरूले कुर्सी, सत्ता, पार्टी, गुट, उपगुटका मात्रका कुरा गर्दैै थिए, तर मेरा भाइबहिनीहरूलाई विदेशका शौचालय सफा गर्न रोकेर नेपालमा कसरी फकार्उने र यही देशमा सम्मानजनक जीवन कसरी प्रदान गर्ने भन्ने सम्बन्धमा भने चुइँक्क पनि बोलेको देखिन्थेनन् । उनीहरू प्रधानमन्त्री तिनको पार्टीको हुनुपर्छ भनेर चिच्याइरहेका थिए तर मेरो बुबाले राज्यको तर्फबाट कहिलेदेखि सामाजिक सुरक्षा पाउनुहुन्छ भन्ने सम्बन्धमा भने एउटा पनि शब्द खर्च गरिरहेका थिएनन् । उनीहरू सत्ता प्राप्ति गर्न आन्दोलन गर्ने कुरा गर्दै थिए तर रिङरोडमा खाल्डैखाल्डा परेको बाटो टाल्ने कुरा कोहीले गर्दैनथे । उनीहरू नेपाल बन्द, उद्योग बन्द र यातायात बन्द गर्न उद्धृत देखिन्थे तर नयाँ उद्योग खोल्न, रोगी उद्योगलाई उठाउने र बहुराष्ट्रिय उद्योगहरूलाई भित्र्याउनेबारेमा भने चुइँक्कसमेत बोल्दैनथे । उनीहरू हामीलाई राम्रो मन्त्रालय चाहियो भनेर टेलिभिजनमा कर्ुलन्थे, तर मानिसको जीवन महँगीले झन् कष्टकर र असुरक्षित हुँदै गएकोबारेमा भने चुइँक्कसमेत बोल्थेनन् ।
मैले टेलिभिजनमा एक-एक गरी देश हाँक्न चाहने नेता भनौँदाहरूलाई हेरेँ । तिनीहरूमध्ये कोही पनि यस्तो देखिनँ जसमा साँच्चिकैमा यो देशका मजस्ता लाखौँ परिवारलाई नयाँ जीवन दिन सक्ने हैसियत राखोस् । जोसँग यो मुलुकलाई विकसित मुलुकको दाँजोमा पुर्‍याउन सक्ने एउटा स्पष्ट योजना होस् । जोसँग विभाजित नेपाली मनहरूलाई एउटै धागोमा मिलाउन सक्ने क्षमता होस् । जोसँग प्रत्येक नेपालीको जिम्मेवारी मेरो काँधमा छ है भनेर जिम्मेवारीबोध गर्न सक्ने हृदय होस् । वास्तवमै मैले टेलिभिजनमा देखेका र देख्ने गरेका नेता भएर देखापर्न चाहने मान्छेहरूमा मेरो विश्वासै रहेन । उनीहरूको जीवनको लक्ष्य भनेकै चुनावमा टिकट लिन सके मन्त्री, प्रधानमन्त्री हुनु, पदमा पुगेको समयमा खुब कमाउनु र त्यो कमाएको पैसाले फेरि पद प्राप्त गर्नुबाहेक मुलुक र मुलुकबासीका लागि केही दिनुपर्छ भन्ने कतै देखिनँ । यदि कहिलेकाहीँ केही दिए भने पनि केवल आफ्ना स्वार्थका लागि मात्र उनीहरूले त्यो काम गरिएझैं लाग्यो ।
म त्यस दिन यो कटुयथार्थले निक्कै विचलित भएँ । मैले सोचेँ- मेरा सन्ततीहरूले यी नेताका मात्र भर परेर बस्ने हो भने सुरक्षित समाजको त कुरै नगरूँ प्रकृतिले दिएको निःशुल्क हावा र पानी पनि शुद्ध र पर्याप्त पाउने छैनन् । जब म त्यस दिन यो निष्कर्षमा पुगँे त्यसपछि आफू निसास्सिएझैं महसुस गरेँ । किन हो किन मान्छेहरूको भीडमा मैले खोजेको त्यो कल्पनाको नेता नै थिएन । अझै ५० वर्ष बाँच्न सक्ने व्यक्तिहरू त्यो हुलमा देखिन्थे तर मेरो दिमागमा आएका प्रश्नहरूको स्पष्ट जवाफ दिन सक्ने र मुलुकवासीले पनि तिनका कुरा पत्याउने खालका नेता भने त्यस भीडमा कोही थिएनन् । वास्तवमै मलाई लाग्यो अहिलेको राजनीतिक बजारमा वास्तविक नेता नै छैनन् । नेताको खडेरी छ यो मुलुकमा ।
म जुरुक्क उठेँ र एउटा निष्कर्ष निकालेँ । त्यो निष्कर्ष के थियो भने, ‘अब हामीले नयाँ नेता खोज्नुपर्छ ।’ म यो निष्कर्षमा पुगेपछि एकपटक मेरो मुहारमा खुसियाली आयो । मुहार उज्यालो भएझैं लाग्यो । मैले ठहर गरेँ अहिले भीडसमान देखिने नेताहरूको हुलमा माथि उल्लेख गरेझैं नेपाललाई नयाँ दिशा र गन्तव्य दिन सक्ने कोही छैनन् । यी चुनावमा टिकट खोज्दाखोज्दै बूढो हुनेछन् । संसद्मा शीर्षस्थ भनिने नेताहरूको आदेशमा रोवर्टझैं टेबुल ठोक्दाठोक्दै जीवनको ऊर्जा समाप्त गर्नेछन् । उनीहरू जनताको कृपामा भन्दा पनि पार्टी अध्यक्ष वा सभापतिको आशीर्वाद र कृपामा दङ्ग पर्दापर्दै कुप्रो पर्नेछन् तर यिनले मुलुकलाई केही दिन सक्ने छैनन् ।
मेरो यो निष्कर्ष त ठीक थियो कि अहिलेका नेताहरूबाट यो मुलुक चल्दैन तर यो व्यवस्थामा अझै सयौँ वर्षसम्म यही भीडबाट नै राज्यसत्ता कब्जा हुने पनि निश्चित थियो तर्सथ कसरी नयाँ नेता बनाउने – कहाँबाट नयाँ नेता ल्याउने – म फेरि यो नयाँ बुँदामा अड्किएँ । केहीबेर आफैंभित्र मन्थन गरेपछि फेरि मेरो मुहार उज्यालो भयो । मैले उत्तर पाएँ । अबको नेता अवकाशप्राप्त कर्मचारीबाट ल्याउनुपर्छ किनकि देशका अधिकांश होनाहार, पढैया, विद्वान्, वैज्ञानिक, डाक्टर, इन्जिनियर, अर्थशास्त्री, शिक्षक, कलाकार, पत्रकारसमेत कर्मचारी भएरै बसेका छन् । फरक यत्ति हो कि कोही सरकारी कर्मचारी होलान्, कोही संस्थान, कोही निजी क्षेत्रका तर उनीहरू श्रमजीवी भएर नै यो मुलुकमा समय काट्दै छन् । नपढ्ने र ढुङ्गा हान्नेहरू नेता हुन पनि सफल भएका छन् तर देशका क्रिम मान्छेहरू कर्मचारी नै छन् । ती कर्मचारीहरूले नै नीति बनाउँछन्, नियम बनाउँछन्, परियोजना बनाउँछन् र त्यसका लागि आवश्यक ज्ञान र सीप लिन विभिन्न राष्ट्र तथा अन्तराष्ट्रमा प्रशिक्षण लिन्छन् । नेताहरूले प्रशिक्षण पनि लिनुपर्दैन । लोकसेवा पनि लड्नुपर्दैन तर तिनै व्यक्तिले देशका बुद्धिजीवीहरूलाई हकार्ने, खोस्ने, तर्साउने र तिनीहरूमाथि शासन गर्ने गर्छन् । मलाई लाग्यो यो प्रक्रिया अब बन्द हुनुपर्छ । त्यसैले वहालवाला कर्मचारीहरूको केही नैतिक बन्धनहरू भएका कारण राजनीतिमा लाग्न नमिल्ने हुँदा अवकाशप्राप्त वा जागिर छोडेकाहरूले सशक्त राजनीतिक सङ्गठन बनाई यो मुलुकको अबको नेतृत्व लिनुपर्छ र यो मुलुकको काँचुली फर्ेर्नुपर्छ । नेता हुन खोज्ने अन्य राजनीतिक पार्टीहरूको क्षमता त २००७ सालदेखि २०६७ सालसम्मदेखि नै सक्यो अझै तिनले केही गर्छन् भनेर बस्नु मूर्खताबाहेक अरू केही हुन सक्तैन । यो देशमा अब कसैले केही गर्न सक्छ भने त्यो कर्मचारीको अनुभव भएको व्यक्तिले नै गर्न सक्छ । अमेरिकामा पनि पूर्वकर्मचारीहरूलाई मन्त्री बनाएको थुप्रै उदाहरण छ ।
यो विश्वास मनमा आउनेबित्तिकै मैले कार्यक्षेत्रमा नाम कमाएका निजामती, प्रहरी, जङ्गी, संस्थान, निजी सङ्घ/संस्थाहरूका विद्वान् र समाजलाई योगदान दिएका ११ जना व्यक्ति मनमनै छानेर दलको केन्द्रीय सदस्य समिति बनाएँ । पार्टीको नाम श्रमजीवीहरूको राष्ट्रिय पार्टी राखेँ र अर्को व्यवस्था नभएसम्मका लागि एक नागरिक समाजमा श्रद्धा कमाएका पूर्वमुख्यसचिवलाई पार्टी अध्यक्षको रूपमा प्रस्ताव राख्ने निर्णय गरेँ ।
मेरो मनमा यो कुरा आउनेबित्तिकै मैले एउटा पूर्वमुख्यसचिव सम्झँे । उनी योग्य र इमान्दार थिए । ती पूर्वमुख्यसचिवको घर खोज्दै खोज्दै म उनको घरमा पुगेँ । मलाई उनले चिन्दथे । मेरो आवागमनको कारण उनलाई थाहा थिएन र अनुमान गर्न सक्ने अवस्था पनि थिएन । म सायद केही माग्न आएको होला भन्ने उनलाई परेको हुन सक्थ्यो तर म त्यस दिन उनलाई केही दिन गएको थिएँ । मैले उनलाई सम्पूर्ण योजना सुनाएँ । उनले मेरो विचारको प्रशंसा गरे तर अध्यक्ष हुन आँट गरेनन् । सायद उनी सजिलैसँग यही सरकारको कृपामा कुनै नियुक्ति पाउने कुरामा अझै आशावादी थिए कि भनेझैं लाग्यो ।
म त्यसबखत रित्तो हात फर्किएँ । म उनलाई देशको प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्थेँ तर उनी अझै यही राजनीतिक दलहरूको कृपामा दिइने कुनै नियुक्तिको आशा गरिरहेझैं जस्तो लाग्यो । काम बनेन तर पनि मेरो विश्वासमा अझै कुनै परिवर्तन छैन । मलाई विश्वास छ यो मुलुकको विकास आजका यी नेताहरूबाट हुनै सक्तैन । यदि देशले कोल्टे फेर्ने हो भने यो देशमा कुनै कर्मचारी नेता भएर समाजमा निस्कनुपर्ने अवस्था आएको छ, कर्मचारीले देश चलाउने विधि जानेका छन्, आफैं परियोजना बनाउन सिकेका छन्, नियम, कानुन र राज्य सञ्चालन प्रणाली बुझेको छन्, तिनले कर्मचारीतन्त्रमा विश्वास गर्न जानेका छन् । आमजनतालाई तिनले बुझेका छन् । हिमाल, पहाड, तराई डुलेका छन् । धेरै भेगका नेपाली चिनेका छन् । सबैभन्दा ठूलो गुण तिनीहरू शिक्षित छन् । अनुशासित छन् । मर्यादित छन् । वास्तवमै प्र.जि.अ.कुट्ने मन्त्री र कमिशन हसुर्ने मन्त्रालय छान्ने नेताहरूभन्दा हजारौँ गुणा बढी जवाफदेहिता बहन गर्ने क्षमता कर्मचारीमा छ । त्यसैले मेरो यही निष्कर्ष छ कि यदि हाम्रा सन्ततीहरूको जीवनमा परिवर्तन ल्याउने हो र मुलुकलाई सुरक्षित राखी विकासको बाटोमा अघि बढाउने हो भने अब पूर्वकर्मचारीहरू राजनीतिमा आउनुपर्छ । देशको नेतृत्व, भावी नेतृत्व यसैले मात्र गर्न सक्छ ।

हामी सरकारलाई रिपोर्ट दिन्छौँ-कुमारबहादुर थापा
नेपाल-भारतको सीमाक्षेत्रमा ठूलो जनसमूहसहित अवलोकन गरेर हालै राजधानी र्फकनुभएका क्षत्री समाजका सहअध्यक्ष कुमारबहादुर थापाले ‘नेपालको चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा कहाँ-कहाँ अतिक्रमण भएको छ हामी त्यस सम्बन्धमा स्पष्ट हुन र जनतालाई यथार्थ जानकारी गराउन चाहन्छौँ’ भन्नुभएको छ । नवलपरासीको सुस्ता क्षेत्रको अध्ययन भ्रमण गरेर आउनुभएका थापाले भन्नुभयो, ‘सुस्तामा अलिक बढी विवाद देखिएको हुनाले हामी सुस्तामा गयौँ । भारतसँगको सीमा समस्यालाई अतिरञ्जित गरेर प्रचण्डले आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नु गलत हो र सुजाता कोइरालाले कहीँकतै सीमा अतिक्रमण भएकै छैन भन्नु पनि गलत हो । क्षत्री समाज देशको एक टुक्रा पनि भूभाग गुम्न नदिन प्रतिबद्ध छ ।’
एक प्रश्नको जवाफमा सहअध्यक्ष थापाले भन्नुभयो, ‘हाम्रो जुन जङ्गेपिलर जहाँ गाडिएको छ, त्यसैलाई हामीले कायम गर्ने हो । हामी भारतको एक टुक्रा जमिन लिन चाहँदैनौँ र हाम्रो छोड्न पनि चाहँदैनौँ । सुस्ता गाविस हाम्रो छनोटमा पर्नुको कारण त्यहाँ अलिक बढी समस्या भएकोले हो ।’
राजनीतिक पार्टीहरूले राजनीतिक अभीष्ट पूरा गर्नका लागि मात्र राष्ट्रियताको कुरा उठाउने गरेको बताउँदै थापाले भन्नुभयो, ‘हामीचाहिँ बिनाराजनीतिक स्वार्थ राष्ट्रियताको विषयमा चासो प्रकट गर्दै छौँ ।’
दुवैतर्फबाट सीमाको अध्ययन-अनुसन्धान गरी सत्यतथ्यमा आधारित रिपोर्ट तयार गरेर नेपाल सरकारसमक्ष पेस गर्ने आफूहरूको सोच रहेको बताउँदै थापाले भन्नुभयो, ‘सुस्तावासीहरूलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग गर्ने सोच हामीले बनाएका छौँ । उहाँहरूलाई आफ्नो भूमि छोडेर होइन त्यहीँ बसेर राष्ट्रियताका निम्ति लडिरहन हामी प्रेरित गरिरहने छौँ । सीमा अतिक्रमण भएको विषयमा हामी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नेबारेमा पनि सोचिरहेका छौँ ।’