५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरिने

५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरिने


५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएकालाई केन्द्रित गरी ‘वैदेशिक रोजगार बचतपत्र २०७९’ निष्कासन गर्ने तयारी गरेको हो ।

वैदेशिक रोजगारीको माध्यमबाट आएको रेमिट्यान्सलाई उपलब्धिमूलक क्षेत्रमा लगानी गराउने उद्देश्यले बचतपत्र निष्कासन गर्न लागिएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

रेमिट्यान्सको अधिकांश रकम अनुत्पादक क्षेत्रमा खर्च हुने भएको भन्दै उक्त रकमलाई उत्पादनशील तथा विकास निर्माणको काममा खर्च गर्ने योजना बैंकले विगतदेखि नै बनाइरहेको छ । साथै बैंकले बचतपत्रमा सरकारले दिने ब्याज हाल बैंकहरुले निक्षेपमा दिने ब्याजभन्दा बढी, सुरक्षित र आकर्षक रहेको बताइएको छ ।

ऋण व्यवस्थापन विभागले दिएको जानकारीअनुसार बचतपत्र ५० करोड रुपैयाँको हुनेछ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागिरिक, वैदेशिक रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीहरुले आवेदन दिई बचतपत्रको खरिद गर्न सक्नेछन् ।

बैंकले वार्षिक दश प्रतिशत ब्याज दिने जनाएको छ । कम्तीमा पाँच हजार रुपैयाँदेखि बचतपत्र गरिद गर्न सकिनेछ ।

मंसिर २९ गतेसम्म बिक्री खुल्ला रहेको बचतपत्र पुष ५ गते निष्कासन हुने र सोही मितिले भेट्ने पाँच वर्षपछि साँवा भुक्तानी दिने बैंकको भनाइ छ । बचतपत्रको लागि आवेदन बिक्री एजेण्टमार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिने जनाइएको छ ।

आवेदनका साथ राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोेटोलगायत पेश गर्नुपर्नेछ । बचतपत्र परिवारका सदस्यको नाममा, नावालकको नाममा समेत खरिद गर्न सकिने जनाइएको छ ।