वैद्य माओवादी सम्बद्ध क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यसहित सिंगो चितवन जिल्ला कमिटी माओवादीमा विलय भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रचण्डको सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष सुर्य बरालसहित डेढ दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
सोही अवसरमामा नेपाली कांग्रेसलगायतका पार्टीबाट थप तीनसय माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा व्यवसायिक कृषक समाज नेपालका केन्द्रीय प्रवकता हरि प्रसाद अधिकारीको नेतृत्वमा डेढ सय जना, संघीय समाजवादी युवा संघका ५६ जना र राप्रपाका बिभिन्न कमिटिबाट तीन सय बढीले रहेका थिए ।
प्रवेश कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष सूर्य बरालले इतिहासको आवश्यकतालाई बोध गरेर समृद्द र समाजवादी नेपालको नेतृत्व प्रचण्ड नेतृत्वले मात्र गर्न सक्ने ठहर गरी पार्टी प्रवेश गरेको बताए ।
यसैगरी नेपाली कांग्रेसबाट प्रवेश गरेका हरि अधिकारीले आफूलाई विगतदेखि नै कम्युनिष्ट विचार मन पर्ने गरेपनि बिभिन्न कारणले कांग्रेसमा रहेर काम गर्नु परेको बताए ।
उनले भने,‘कांग्रेसको सदस्यता लिएर कम्युनिष्टको प्रचारमा जाने भनेर मलाई साथीहरुले भन्नुहुन्थ्यो, आजदेखि त्यो सुन्नु पर्ने छैन, अब म यो देशका हितका लागि प्रचण्डको नेतृत्व स्वीकारेर आएको छु, कम्युनिष्ट भएको छु ।’ नव प्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबिर र खादाले स्वागत गरेका थिए ।
प्रतिक्रिया