लण्डनको चीसो वा मानिसका व्यवहार ?

लण्डनको चीसो वा मानिसका व्यवहार ?


-प्रकाश के.सी.,
हामी आफूसँगै आफ्नो सँस्कृतिलाई ज्युँका त्युँ लिएर बसाइ सरेका हुन्छौं भन्ने हाम्रा आफ्नै भनाइ मात्रै हुन् । भौगोलिक सिमानाहरु पार गर्दै जाँदा, मानवमा अर्को रीतिथितिको लागि मनमस्तिष्कमा तदनुरुप हुने चाहना विस्तारै झाङगिँदै जाने गर्दछ । त्यस्तै हुनसक्छ, जीवनको अन्तिम लक्ष्य जस्तो गरी बेलायत पसेका नेपालीहरुमा चाँडोभन्दा चाँडो बेलायती हुने दृढता प्रवल देखिएको भने छ एकातिर भने सानो र अनुवन्धको समयलाई ठूलो उपयोग गरी धनार्जन गर्दै विदेशको रङ सर्लक्कै नेपालमा भित्र्याउने एकथरीको कामनालाई पनि अर्को रीतिथितिलाई स्वदेशमा आयत गर्न लागेको नै मानिन्छ । देशअनुसारको भेष हुनै पर्ने रहेछ, खासगरी वहुसामुदायिक देशहरुमा नत्र बकुल्लाको वथानमा काग जस्तै हुने भय भने रहिरहने गर्दछ ।

साधारणतया विहानीहरु हतार थपेर यताका नेपालीहरुका बेड तथा कोठाहरुमा आएका हुन्नन् । समर-यामका विहानीहरुमा सखारै झ्याल झ्यालका पर्दाबाहिरबाट चर्केर घामले जिस्क्याउन आए पनि ती ढल्किरहेका आङहरुलाई कुत्कुत्याउन पनि सक्दैन । संसारलाई एकपटक कज्याउन सफल रहेको यूकेमा छिरेको केही हप्तामा नै लाग्छ, वास्तवमा बाँच्न भने तिनीहरुले जानेका रहेछन् । जीवनलाई आँपको कोयासरी अन्तिम रससम्म चुस्ने प्रयत्नमा लागेका देखिनेहरुका दैनिकीलाई नियाल्दा लाग्छ, कसैलाई भौगाइ अपर्याप्त त कसैलाई भोग, कसैलाई समयाभाव त कसैलाई जाँगरको अभाव ।

जिन्दगीलाई हेर्ने विविध पक्षहरु व्यक्तिका भौगोलिक अवस्थितिले तय पक्कै गरेको हुन्छ । हङकङमा हतारिएर काटिएका वर्षौंहरुको लागतको निचोड भनेको निधार तथा आँखाहरुका कुनामा पर्ने चाउरीहरुबाहेक एक लश्कर हतारहरु, एक डङ्गुर थकाइहरु र अनिमेष रहरहरुबाहेक ती वर्षहरुले दिलाएका कामविशेषका अनुभवहरु हुन् । पाँच वर्षसम्म लगातार रुपमा सेकुरिकर हुँदै जीफोरयस सेक्युरिटीमा काम गरेका हिमेश थापा, आफूहरुलाई हङकङमा आफ्नै गोर्खाली मामाहरुलै श्रम शोषण गरेको निर्क्यौल निकाल्दछन् । चाकरी गर्ने क्रमको उपल्लो सिँढीमा बसेका लाग्ने ती मामाहरुले आफूलाई सताएकौ मान्ने थापा लण्डनमा सेक्युरिटीकै काम गर्दछन् तर काम गरेको जस्तो नलाग्ने उनको सेक्युरिटी काम यहाँ यत्तिको फाप्ने खालको उनलाई लाग्दछ कि हप्ताको तीन दिनको छुट्टि, श्रीमती र छोरीहरुसँग यूकेमा घुम्दै गर्दा पनि अपर्याप्त भएको ठान्दछन् । बिन्ति गर्दा-गर्दा पनि हप्ताको एक आइतबार छुट्टि, हङकङमा उक्त कम्पनीमा काम गरेको पाँच महिनामा पनि नपाएको झोंकको सम्झना गरेर दोष उनै हाकिम मामाहरुलाई लगाई फत्फताउन लागेका थापा, फार्नबोरोस्थित ओकफाम स्कुलमा भएको हङकङेली नेपालीहरुको वार्षिक भेला हुने हलको बाहिर भेटिन्छन् ।

विद्यार्थीको भीसामा यूके भित्रिनेहरु र तीहरुका साथमा डिपेण्डेड भीसामा आउने नेपालीहरुका बारेमा लगभग सर्वत्र सुनिएको भने हो र बितेका केही हप्तामा, हान्स्लो सेण्टर र वेस्टमा केही भेटिएका पनि छन् । भारतीय र पाकिस्तानीको ग्यारेजहरुमा तीन, चार पाउण्ड घण्टाको दरमा, दिनको अठारह घण्टा काम गर्ने तिनलाई सरकारी निम्न दरभन्दा धेरै तल दिइएकोबारे मतलव छैन भने काम लगाउनेहरुलाई पनि त्यसको चासो रहेको देखिएको छैन । हप्ताको तीस वा बीस घण्टा काम गर्ने आधिकारिकता पाएका तिनलाई पार्ट-टाइमहरु गर्दै ट्याक्स तिर्न नपर्ने अवसरको खोजी नै कमाइको हिसावमा माथि रहेको मानिने गरिएको बुझिएको लाग्छ । चितवनका भास्कर र उनकी श्रीमती सविता दुबैजना महिनाको तीसै दिन काम गर्दैछन्, जुन कलेजमा पढ्न भनी आएका थिए ती दुईका स्पोन्सर विद्यार्थीहरु (कागजको लोग्ने र कागजकै स्वास्नी) कलेज खारेज भएकोले ससानो काममा झुण्डिरहेका छन् भने यी दुई दम्पती जसरी भए पनि कमाउनै ध्याउन्नमा महिनाको तीसौं दिन काम गर्दैछन्, जबकि, यहाँ चालीस, अड्चालीस घण्टाभन्दा बढी काम गरिँदैन । कोही काममा नै आएर हटाउन नआए पनि ट्याक्स कटाउने क्रमले भने रोक्दछ भनिएको छ । -“साधारणतया अड्तालीसभन्दा धेरै घण्टा काम गर्नेहरुका हकमा साविकको समय सीमामा रहेर काम गर्नेहरुलाई लाग्ने ट्याक्सको दर पक्कै पनि बढी हुन्छ र त्यो हालातमा केही सूक्ष्म रुपको फरकभन्दा धेरै परिमाणको आम्दानी हात नमिल्नै गरेर यहाँको काम र ट्याक्सको दर राखिएको हुन्छ”, जानकार हिथ्रो निवासी यचबी गुरुङ भन्दछन् र डिटेलका लागि सरकारी आँकडा हेर्न, या, कुनै व्यक्तिको पे-स्लिप हेर्न सुझाव दिने यचबी गुरुङका विपरीत वेम्ब्ली बासिन्दा क्षेत्र बहादुर लिम्बू भने आफ्नो सेक्युरिटी कम्पनीमा लामो समयसम्म काम गरे तापनि तलव दिने बेलामा, युनिटवाइज हिसाव गरिने भएकोले ट्याक्सको मार नपर्ने बताउँदछन् ।

यम-२५ मोटरवेमा घण्टाको ११० किमीको गतिमा हुँइकिँदै गर्दा क्याम्बि्रज निवासी सूर्य गुरुङ आफ्नो सम्पूर्ण परिवारसहित ओभरटेक गरेर अगाडि हुँइकिन्छन् । त्यो कारभित्रका र यताको भित्र बस्ने केटाकेटीहरु भने फेसबुकमा सम्वाद निरन्तरता दिन्छन् । थातथलोसँगै यूके भित्रिए तापनि यहाँको रैथाने रहनसहनमा चुर्लुम्म डुबेका गुरुङ तर पनि नेपाली रीतिथितिलाई पनि सोही पनमा नै कायम राख्दछन् । हरेक साँझ वा छुट्टिहरुमा सजिलै भेटिन नसकिने यूकेका नेपालीहरुका अवस्थामा वर्षको एकपटक गरिने भेला यत्तिको महत्वपूर्ण मानिन्छ कि, हरेक परिवारमा एक प्रकारको होड नै लाग्ने गर्दछ । हात, गला अनि कानभरि सुनै सुनले झकिझकाउ भएका महिलाहरुलाई तिनका भाइखलकहरुबाट भोजमा अतिथिसरह रम्न जान थालेका परिवारहरु र तिनलाई त्यसरी रम्ने वातावरणको जोहो बनाउनका लागि अल्डरसटतिर हतारिएर लागेका सूर्य गुरुङलगायतका माइतीहरुका सांसारिकताको व्याख्या गरिनसक्नुको रहेको हुन्छ । सम्पूर्ण रुपमा नयाँ, आधुनिक अनि पुराना पुस्ताका लाग्नै नेपालीहरुको जमघट अनौठो किसिमले अव्यक्त देखिन्छन् । अँग्रेजीमा नै व्यक्तिन रुचाउने नवपुस्ताहरु सो भेटघाटलाई उत्साहपूर्वक लिन्छन् भने आधुनिक धारक पुस्ताहरु हिन्दी गीतहरुमा नाच्नै, केही अन्तर्राष्ट्रिय घटनाहरुउपर गफि्फने गर्दछन् र वाँकीचाहिँ जीवनका उत्साहपूर्ण समयहरुको निर्लिप्ततालाई पर्याप्त मानैझै गरेर पनि नेपाली लोकभाकामा झुम्न थाल्दछन् ।

“प्यारेन्टस्हरु अनि तिनका साथीहरुका अगाडि सज्जन देखिनका लागि …’हजुर, नमस्ते, ढोगेँ’ आदि भन्दा र गर्दा कहिलैकाहिँ आफूलाई कुनै रेष्टुरेन्टको वेटर, तथा वेट्रेश झैं लाग्न थाल्दछ…, नेपाली रहनसहनभित्र अति हिपोक्रेसी छ…!” एक नवयोवना ढुक्कै भन्छिन् अनि उनका समउमेरका साथीसँगिनीहरु…’एसियन अभिभावकहरु नै साँच्चैका हिप्पोक्राइट हुन् भन्दै आफूहरुचाहिँ ‘कूल..प्यारेन्ट’ हुने’ भन्ने दृढता व्यक्त गर्दछन्, ती आफ्नो हूलभित्र । फेसबुकको जमानाले एडिक्ट गराएको अहिलेका नयाँ पुस्ताहरु एकातिर आमाबाबाका आँखाअगाडि सानै र भद्र देखिने अनि भेटिने गर्दछन् भने, भित्र जीवनलाई नयाँ कोणबाट दौडाउन तमतयार भइसकेका हुन्छन् । काम, घर, अतीत अनि वर्तमान र दोहोरो जीवनयापनभित्र पर्ने रहनसहनको माझमा परेका नेपाली अभिभावकहरु, आफ्ना मुठीको जकडभित्र रहेको बालुवाझैं, छोराछोरीहरु मुठीबाट फुस्किरहेको पत्तै पाउँदैनन् । जीवनलाई स्थानीय दृष्टिबाट हेर्ने यो नयाँ नेपाली युवाहरुको भीडले आफ्ना बाबाआमाहरुलाई ढोँगी भन्दछन् भने बाबाआमाहरु, बच्चाहरुलाई अझै आफ्नै अधीनमा राख्नका लागि डरको एउटा यस्तो पर्खालको सिर्जना गर्दछन् कि, तिनका छोराछोरीहरुले सोही पर्खालमा सर्वत्रै भ्वाङ नै भ्वाङ देखिसकेका हुन्छन् । साथीहरुसँग भेट्न नसकिने कुनै पनि जमघटमा आफ्ना बाबाआमासँग हिँड्न नचाहने तिनीहरु आफ्नो खुट्टामा उभिनासाथ बाहिर बस्ने र यसो छुटि्टमा मात्र प्यारेन्ट्सलाई भेट्न आउने विचार सुनाउँदछन् । तर, यता बाबाआमाहरुका नजरमा भने तीहरु अझै बामे सर्ने बच्चाबच्ची हुन्छन् ।

हतारै हतारमा अनि राम्ररी जीवनको एक रत्त शान्तिको श्वास लिन नपाउँदै आम नेपालीहरु हतारिने गरेर लण्डनको दिनचर्या बितिरहेको बेला, उस्तैगरी हतारिएर आएका हङकङेली नेपालीहरुको एकजुट जम्मा हुन्छन् फार्नबोरोमा । देख्दादेख्दै देख्न वा भेट्न छाडिएकाहरुलाई धैरै समयपछि देख्दा उस्तो देख्दैनन्, केही बिकसित लाग्ने अनि केही व्यवस्थित लाग्ने हालातमा देखिएका यो हङकङेली भीड उर्जादायक साँच्चैकै लाग्दछन् । वास्तवमा, वसाइ सर्नुको जस्तो अनिश्चितता कसैका अनुहारमा देखिँदैन । हजार बाह्र सयका समूहहरु जम्मिएको उक्त स्थानमा पूर्वेली भन्नु पर्ने हङकङेली नेपालीहरु अति नै थोरै देखिन्छन् । खाँदिएर रहेको सानो ठाउँ हङकङबाट एक किसिमको ढुक्कपन लिएर आएका तिनै हङकङेलीहरुमा हामी एकै हौं भन्ने भावनाको विस्तार रुप पक्कै नै आउने छैन जस्तो लाग्ने सो जमघटमा भने पोखरेली वा आसपासका ज्यादा गुरुङहरु देखिए । पोखरेली झ्याल भन्ने कार्यक्रममा सबैजसो गुरुङहरु मात्रै भएजस्तै, हङकङ नेपाली मञ्च यूके पनि गुरुङहरु नै ज्यादा रहेका लाग्दछन् र त्यो नै यस्तो समितिको कमजोरी हो । समावेशीकरण वा जातीय रुपमा डाइभर्स्ड गर्न नसक्नु अनि राइ-लिम्बूहरु सजिलिएर सोमा मिस्सिन नसक्नु आदि कारणले सम्पूर्ण संस्थालाई नै विस्तारै साँघुरो परिवेशतिर धकेल्न प्रेरित गर्दछ । यूकेमा पनि राई-लिम्बू बस्ने र गुरुङ-मगर अर्थात् पूर्वेली र पश्चिमेलीहरु बस्ने ठाउँहरु नै फरक रहेको लाग्ने, सो भेलामा उपस्थित सहभागीहरुमध्ये केहीको यही नै राय रहेको थियो ।

दिन लम्बिएर जाने क्रममा साढे आठ बजेसम्म पनि घामले छोडेको हुँदैन । लण्डनवरपर बाटोको दायाँ-बायाँ लश्करै अनि लटरम्मै फुलेका बोटहरुबाट असिना परेको जस्तो गरी ससाना फूलहरु छरपस्ट हुँदै सडकभरि पोखिएका हुन्छन् । वरिपरिको पाखाहरु पहेँलै भएर लम्पसारिएका छन् । फराकिलो सडकमा लमतन्न परेर एकोहोरो रुपमा गाडीहरु सुइँकिरहेका हुन्छन् र तिनमा एकवद्ध भएर हुँइकिरहेको मलाई भने बाराम्बार नेपाल याद आउँदछ । सबै लाग्छ रमाइलो तर आफ्नाहरुका एकमुस्ट साथहरु, सँगतिहरुबिना धेरै नै अपुग र अफाप जस्तो लाग्ने गरी यही सुन्दरता पनि बेजार लाग्दछ । घाममा आङ सेकाउँदै, वा आँगनमा खेल्दै, उफ्रँदै, वा कपाललाई खुल्ला छाडेर तेल लगाउँदै वा कपाल कोर्दै वा सुइटरहरु बुन्दै छरछिमेकहरुसँग गफ्फिँदै गर्ने नेपाली आम समाजको अभावमा वरिपरि यस्तो नीरवता भेटिन्छ, यस्तो शून्यता मिल्दछ कि, मन हमेशा एक तमासको हुन्छ । थाहा छैन, यसरी हङकङबाट बतासिएर बसाइ सरी आएको मेरो मनले स्थानीय समाजजस्तै व्यक्तिवादी हुन तयार स्थिति बनाइसकेको छ या अझै धेरै समय लगाउने छ, तर पनि यत्रतत्र नेपालीहरु आआफ्नै फ्रेममा दुरुस्त रहेका देखिन्छन्, टम्म मिलेका लाग्दछन् । मिथ्या हो या वास्तविकता….थाहा छैन ।