पर्यटकीय गन्तव्य चित्रे र पञ्चासे

पर्यटकीय गन्तव्य चित्रे र पञ्चासे


आऊ है, माया पञ्चासे मेला ।
मनको कुरा खोलौंला त्यै बेला ।

पर्वतको चित्रे गाउँमा पुग्नासाथ स्थानीय आमा समूहका सदस्यहरू गलाभरी माला लगाइदिएर यही गीतबाट स्वागत गर्छन्। आन्तरिक र बाह्य पर्यटकलाई सामूहिक रूपमा स्वागत गर्ने चित्रेवासीहरू आफ्नो गाउँलाई ग्रामीण पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेका छन्। आसपासका भदौरे, आर्थर आदि ठाउँका बासिन्दाहरू पनि आ-आफ्नो गाउँलाई ग्रामीण पर्यटकीय गन्तव्य बनाउने अभियानमा छन्।
जैविक विविधता, ऐतिहासिक-धार्मिकस्थल तथा प्राकृतिक दृश्यावलोकनका लागि पनि उपयुक्त पञ्चासे कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्छ। बाक्लो गुरुङ बसोबास रहेको पञ्चासे गाउँ पदयात्रा र ग्रामीण पर्यटनका लागि स्याङ्जाको सिरुवारी र लमजुङको घलेगाउँकै हाराहारीमा छ। गुरुङ संस्कृतिको नाचगान, खानपान, न्यानो सत्कार अनि जति हेरे पनि नअघाइने हिमाली र पहाडी दृश्य पञ्चासेका विशेषता हुन्।

पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा र त्यसपछि तीन-चार घण्टा पैदल हिँड्नुपर्छ। कास्कीकै लुम्ले, काँढे, भदौरे र देउरालीहुँदै तीन घण्टा तथा पर्वतको कुस्मा र आर्थरहुँदै दुई घण्टा हिँडेर पनि पुग्न सकिन्छ। हिउँदमा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ज्याङसम्मै जीप चढेर जान पनि सकिन्छ। मोटरको सुविधा भए पनि पदयात्राको आकर्षण बेग्लै छ। धेरैजसो पदयात्रीहरू पोखराको लेकसाइडबाट पामे, घाँटीछिनासम्म गाडीमा गएर सिदानेहुँदै हिँड्छन्। चराको चिरबिर र घाँसदाउरा गर्ने गाउँलेहरूको सुरिलो भाखाका गीतबीच बाटो कटेको पत्तै हुँदैन।

हिजोआज हिमाल, पहाडी गाउँबस्ती, वनजङ्गल, वन्यजन्तु र प्राकृतिक सौन्दर्य अवलोकन गर्न विदेशी मात्र होइन, स्वदेशीहरू पनि प्रशस्तै आउन थालेका छन्। एक पटक आएका विदेशीहरू तीन-तीन महिनासम्म बसेका उदाहरण भेटिन्छन्। एकान्तमा बस्न र डुल्न मन पराउने जापानी, इजरायली, जर्मन, रूसी पर्यटकहरू स्थानीय बासिन्दाका घर, भञ्ज्याङका होटलमा तथा क्याम्पसाइटमा पाल टाँगेर बस्ने गर्छन्।
बाग्लुङ, पर्वत र स्याङ्जाको सदरमुकाम देखिने यहाँको भ्यू टावरबाट पोखराको फेवाताल र त्यसको किनारमा रहेको लेकसाइड राम्रैगरी, रातमा त अझ्ै सुन्दर र मोहक देखिन्छन्। स्थानीयवासीहरूको सक्रियतामा रु.१ करोडको लागतमा अर्को भ्यू टावर पनि बन्दैछ। स्वच्छ र सुन्दर पञ्चकोसी ताल पञ्चासेको अर्को रमणीयस्थल हो। तालको छेउमा वाराही मन्दिर छ। २०० मिटर लामो र ७५ मिटर चौडा यो तालमा पानीको मूल र निकास देखिँदैन। गुर्जादेखि गणेश हिमालसम्म देखिने पञ्चासेबाट धौलागिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ र गणेश हिमाल लहरै देखिन्छन्। माछापुच्छ्रे र अन्नपूर्ण त नाकैमा ठोकिने हुन् कि जस्तो हुन्छ।

पञ्चासेको आफ्नै ऐतिहासिक र धार्मिक महत्व पनि छ। पाँच पाण्डवहरू गुप्तवासमा रहँदा बसोबास गरेको डार, बाईसे-चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य त्यस्ता प्रसिद्ध दर्शनीय स्थल हुन्। श्रवणकुमार कुवामा पानी लिन जाँदा मृगको आवाज आएको ठानी राजा दशरथले हानेको बाणबाट उनको मृत्यु भएको पौराणिक कथासँग जोडिएको स्याङ्जाको बाङ्गसिङ्ग गाविसको ध्याङ्गसिरी पञ्चासेको बाटोमै पर्छ। यो कुवाको पानी रातो देखिन्छ। बालाचतुर्दशीमा सतवीज छर्नेहरूको घुइँचो लाग्छ।

जैविक विविधताको खानी पनि हो― पञ्चासे। ११३ प्रजातिका सुनगाभा भेटिएको छ, पञ्चासेमा। आँधीखोला, सेतीखोला, जरेखोला, रतिखोला, हर्पनखोलाको उद्गमस्थल तथा जलाधार रहेको पञ्चासे क्षेत्रसँग फेवातालको अस्तित्व समेत गाँसिएको छ। यो महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षण गर्न पञ्चासेको ५५०० हेक्टर वन क्षेत्रमध्ये १७०० हेक्टर सामुदायिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरिएको छ। पञ्चासेमा ५८९ किसिमका फूल, १५० औषधिजन्य जडिबुटी, ५६ जङ्गली च्याउ, ९८ उन्यू र आठ रेसादार प्रजातिका वनस्पति पाइन्छन्। दर्जनभन्दा बढी खर्क रहेको यहाँ चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन्।

गुरुङ, मगर, बाहुन, क्षेत्री, विश्वकर्मा, परियार जस्ता विविध जातिको मिश्रित बसोबास रहेको पञ्चासे पर्यटकीय गन्तव्य बन्दै गएपछि यहाँ बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको छ। माछापुच्छे्र विकास सङ्घले पर्यटन मन्त्रालयको सहयोगमा एकीकृत विकास गर्न १८ वर्षको लागि रु.६३ करोडको बृहत् गुरुयोजना बनाएको छ। कास्की, स्याङ्जा र पर्वतको सेरोफेरोमा चक्रपथ गोरेटो तथा आर्थर, भञ्ज्याङ, आहालडाँडा र पञ्चकोसी सरोवर जाने १२ किमी पक्की सिँढीसहितको बाटो बनाइएको छ। पञ्चासेमा पर्यटकीय स्थल, धार्मिक क्षेत्र, गाउँबस्ती र जैविक विविधताको भौगोलिक सूचना प्रणाली तयार गरिएको छ। लेकमा भ्यू टावर, स्वयम्भू चैत्य र मन्दिरको निर्माण भएको छ। पाहुनाघर निर्माण र विद्युतीकरणका कामहरू पनि हुँदैछन्।

पर्यटकहरूलाई खानेबस्ने व्यवस्थाका लागि कास्कीको भदौरे र पर्वतको चित्रेमा होम स्टे सेवा शुरु भइसकेको छ भने आर्थरमा छिट्टै शुरु हुँदैछ। घरमै स्थानीय परिकार ख्वाएर पर्यटकहरूलाई गाउँघरको संस्कृति देखाउने व्यवस्था पनि छ। यस क्षेत्रका झ्ण्डै २० हजार घरमा घरैपिच्छे एक-दुई पर्यटक राखेर ग्रामीण संस्कृति देखाउन सकिनेमा पञ्चासेवासी विश्वस्त छन्। पञ्चासे भञ्ज्याङका चार होटलमा ६० शैच्चया छन्। लेकमा धर्मशाला छ। पोखरा घुम्न गएकाहरूले एक दुई दिनको यात्रा लम्ब्याएर पञ्चासे पुग्न सके साँच्चै आनन्दको अनुभूति गर्ने छन्।

शब्द – दुर्गाप्रसाद शर्मा, पर्वत, (हिमाल खबरपत्रिका)