युकेको आम चुनावमा लाखौं मतदाताहरु सहभागी

युकेको आम चुनावमा लाखौं मतदाताहरु सहभागी


तीन प्रमुख दलका नेताहरू लेबरका प्रधानमन्त्री गोर्डन ब्राउन, कन्सर्भेटिभका डेभिड क्यामरन तथा लिबरल डेमोक्रेटिकका निक क्लेगबीच मतदाताहरुलाई आफ्नो पक्षमा पार्न तीव्र प्रतिस्पर्द्धा चलेको थियो।

यसैबीच युके इन्डिपेन्स पार्टीका एकजना उम्मेदवार नाइवेल फाराज एउटा विमान दुर्घटनामा परी अस्पतालमा भर्ना गरिएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्सको छ सय उनन्चास स्थानकालागि चार हजार भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्द्धा गरिरहेका छन्। थर्स्क तथा मेल्टन निर्वाचन क्षेत्रका एकजना उम्मेदवारको निधन भएका कारण सो क्षेत्रको चुनाव मे २७ तारिखसम्मका लागि पर सारिएको छ।

स्थानीय काउन्सिलका चार हजार भन्दा बढी स्थानहरुका लागि पन्ध्रहजारभन्दा बढी उम्मेदवारहरुले प्रतिस्पर्द्धा गरिरहेका छन्।

भोलि शुक्रबार अपरान्हसंममा चुनावको नतीजा प्रकाशित भैसक्ने अपेक्षा गरिएको छ। विश्वव्यापी आर्थिक मन्दीबाट ब्रिटेन भर्खरै सुधारको बाटोमा अगाडि बढ्न लागेका बेला यो चुनाव भएको हो। अर्थतन्त्रका साथै स्वास्थ्य, शिक्षा र आप्रवसन अन्य प्रमुख चुनावी मुद्दाहरु थिए। लगातार गएको १३ वर्षदेखि सरकार चलाईरहेको लेबर पार्टीले आर्थिक सुधारलाई निरन्तरता दिन आफ्नो पार्टीलाई फेरि जिताउन आग्रह गरेको थियो। मुख्य प्रतिपक्षी कन्सरभेटिभ पार्टीले परिवर्तनकालागि मत दिन आह्वान गरेको थियो।

त्यस्तै विघटित संसदको तेश्रो ठूलो दल लिबरल डेमोक्रयाटिक पार्टीले दुबै ठूला दलहरुले देशका समस्या समाधान गर्न नसकेकाले आफ्नो दललाई अवसर दिन आग्रह गरेको थियो। ब्रिटेनको इतिहासमै पहिलो पटक प्रमुख तीन दलका नेताहरुबीच प्रत्यक्ष टेलिभिजन बहस सन्चालन गरिएको थियो। तर आलोचकहरुले टेलिभिजन बहसका कारण मतदाताहरुको ध्यान प्रमुख दलहरुको नीति भन्दा नेताहरुको व्यक्तित्वमा बढी केन्द्रित भएको बताएका थिए।

साभार: बिबिसी नेपाली