महासंघको चुनावमा मगर अगाडि

महासंघको चुनावमा मगर अगाडि


हङकङ । मे ९ तारिख आइतबार सम्पन्न हुन गइरहेको हङकङ नेपाली महासंघको सातौं अधिवेशनमा अध्यक्ष पदको लागि तीनजना उम्मेदबार देखापरेकाछन् । मगर संघका अध्यक्ष मिनबहादुर थापामगर (एमबी थापा), स्याङ्जा जनसेवा समितिका अध्यक्ष भक्त गुरुङ र धरान हङकङ मञ्चका अध्यक्ष प्रदीप थापामगर अध्यक्ष पदकालागि हालसम्म सुनिएका नामहरु हुन् । अधिवेशन हुन केही हप्ता अघिसम्म प्रायः निष्प्राण जस्तो देखिएको महासंघको चुनाव अन्तिम हप्तामा आएर निक्कै तातिएको छ । नेपाली महासंघका सशक्त सदस्य मगर संघका एमबी थापा मगरसंघबाट उनको उमेदवारी अनुमोदन भइसकेको छ, भने स्यांजा जनसेवा समिति हङकङका अध्यक्ष भक्त गुरुङ पनि आफ्नो समितिबाट अनुमति लिइसकेकाछन् । प्रदीप थापामगरको उम्मेदवारी पनि सार्वजनिक भइसकेकोछ । भक्त गुरुङको उमेदबारीलाई नेकपा एमालेका केही हार्डलाइनरहरुको समर्थन रहने सक्ने सम्भावना रहेको छ भने प्रदीप थापालाई अघिल्लो हप्ता मात्र दर्ता भएका केही संस्थाका केही प्रतिनिधिहरु तथा नेपाली कांग्रेसका केही व्यक्तिहरुको समर्थन अप्रत्यक्ष रुपमा रहेको बुझिएछ । एमबी थापा गैर राजनैतिक जातीय संस्थाका कार्यकर्ता भएको हिसावले उनले जनजातिलगायत सबै क्षेत्रीय तथा राजनैतिक पार्टीका प्रतिनिधिहरुको समेत समर्थन पाउने निश्चित छ । लुम्विनी मन्चका अध्यक्षसमेत भइसकेका तथा भारतबाट अंग्रेजी तथा हिन्दी साहित्यमा एम ए पास गरेका तथा हङकङको चाइनिज युनिभर्सिटीबाट समेत म्यानेजमेन्ट विधामा प्रमाणपत्र प्राप्त उतिर्ण गरेका एमबी थापामगर अनुभव, शैक्षिक योग्यता तथा कार्यदक्षताको हिसावले पनि अन्य उमेदवारभन्दा अध्यक्षको लागि योग्य उम्मेदवारको रुपमा लिइन्छ । निर्वाचन नै हुने स्थिति सृजना भयो भने पनि एमबी थापाको विजय हुने सम्भावना बलियो देखिन्छ ।
याउमातेइको कम्युनिटी हलमा सम्पन्न हुने महासंघको अधिवेशनमा २४ वटा संस्थाहरुले भाग लिनेछन् । ती मध्ये बूढासुव्वा गोल्डकप, सितेरियो कराँते डो (गोर्खा कम्युनिटी), नेप्लिज युथ अर्गनाइजेशन, नेपाल क्लव र सगरमाथा स्पोर्टस् अर्गनाइजेशन केही हप्ता अघि मात्र दर्ता भएका संस्थाहरु हुन् । ती मध्ये बूढासुब्वा गोल्डकप, सगरमाथा स्पोर्टस् क्लव र नेपाल क्लव प्रदीप थापामगरको प्रत्यक्ष संलग्नता भएका संस्थाहरु हुन् । गोर्खा कम्युनिटी क्लव र नेप्लिज युथ अर्गनाइजेशनसँग पनि नजिकको सम्वन्ध छ । हालै दर्ता भएका संस्थाका संस्थापक तथा प्रमुखहरु प्रायजसो धरानवरिपरिकै रहेकाछन् । यसो भए तापनि सम्वन्धित संस्थाबाट महासंघको चुनावको लागि आउने प्रतिनिधिहरुको स्वतन्त्र मतदान गर्ने अधिकार भएको हुनाले त्यस भेगका सबै प्रतिनिधहरुले प्रदीप थापालाई नै सहयोग गर्लान् भन्न नसकिने कुरा पर्यवेक्षकहरुको भनाइ छ । मुद्दा यो महिनाको अन्त सम्ममा सकिने सम्भावना छ ।-भूपेन्द्र, सनराइज