प्रमुख निर्वाचन आयुक्तले भने,‘ढुक्क भएर मत हाल्न जानुस’

प्रमुख निर्वाचन आयुक्तले भने,‘ढुक्क भएर मत हाल्न जानुस’


प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१ गते) ४५ वटा जिल्लामा हुने हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।

मंगलबार भएको साक्षात्कारमा बोल्दै यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।

उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु।’ यद्धपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर घटाईएका घट्नाहरुप्रति खेद व्यक्त गरे ।

यादवले थपे,‘म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छ ।’ उनले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए ।

उनले भने,‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरुमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमा लिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु।’

यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने,‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए ती सबै समस्याहरु हल गर्नको लागि हामी तयारी अवस्थामा बसेका छौं।’

आयोगका पदाधिकारीहरु निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने काममा व्यस्त रहेको समेत यादवले जनाए ।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । त्यस्तै मतगणनाको लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको पनि उनले स्पष्ट पारे ।

‘आवश्यक निर्देशिकामात्रै होईन, मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भुगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराईन्छ’ उनले थपे ।

प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउनेगरि आयोगले निर्देशन दिएको पनि उनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्ना नहोस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्नको लागि पनि निर्देशन दिईएको उनको भनाई थियो । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यही अनुसार हामीले केन्द्रबाट निर्देशन जारी गरिसकेका छौं’ यादवले भने।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने उनको आग्रह थियो । उनले थपे,‘मौन अवधि सुरु भैसकेको छ, उम्मेद्धवारदेखि लिएर अरु सबैले पालना गर्नुपर्छ, सञ्चारमाध्यमले पनि पालना गर्नुपर्छ, म आँफै स्वयम् कार्यालयबाट घर जाने क्रममा बाटोमा देखिएका निर्वाचन प्रचारका सामाग्रीहरु समेत हटाउने गरेको छु, तपाईहरुले पनि यहाँ उपत्यकामा भएका पत्रकार साथीहरुले यो विषयमा विशेष ध्यान दिनुपर्यो।’

त्यस्तै उनले मतदाता शिक्षालाई समेत प्रभावकारी रुपमा अघि बढाईएको विश्वास दिलाए । उनले भने,‘मतदाता शिक्षा दुई किसिमको हुन्छ, एउटा निर्वाचन शिक्षा यो निरन्तर चलिरहन्छ, अर्को मतदान विशेष यो हामीले विभिन्न माध्यमहरु जस्तो रेडियो, टीभी, अनलाईनमार्फत गरिरहेका छौं, मतदाता परिचयपत्र वितरणमा समेत हामीले यो विषमा ध्यान दिएका छौं।’

मौन अवधिमा आचारसंहिता विपरित काम भएको पाईए आयोगले कडाभन्दा कडा कारबाही गर्ने समेत यादवले चेतावनी दिए । यद्धपी उनले आचारसंहिताको पालना पूर्ण रुपमा भैरहेको विश्वास व्यक्त गरे । उनले थपे,‘कहीँ कतै यस्तो उल्लंघनका घट्नाहरु घटेको पाईए, आयोगले ठाडै कारबाही भन्दापनि उल्लंघनको प्रकृति हेरेर स्पष्टीकरण सोध्छ, चेतावनी दिन्छ नि, स्वयम गल्ती गर्नेले क्षमा याचना गरेपछि, आयोगले पनि त्यही अनुसार क्षमा दिनुपर्यो नि।’

कतिपय उम्मेद्धवारहरुले त फोन तथा सामाजिक सञ्जालबाट समेत चुनावी प्रचारप्रसार गरेर भोट माँग्ने काम गरिरहेका छन् नि यसलाई कारबाही गर्ने वा नियन्त्रण गर्नुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो अब मोर इथिक्सभित्र पर्छ, आयोगको आग्रह छ कि आचारसंहिता पालना गर्नुहोस्, मौन अवधिको पूर्ण पालना गरेर सभ्य नागरिक बन्नुहोस्, यस सम्बन्धमा कानुनको अभाव छ, मोरल भ्याल्युभित्र पर्ने कुरा हो।’

उनले उम्मेद्धवारहरुले आर्थिक चलेखल गरेर मत किन्ने प्रयास गरिरहेका छन् भनेर सोधिएको प्रश्नमा आक्रोशयुक्त टिप्पणी गरे ।

उनले थपे,‘आर्थिक चलखेल भन्ने शब्द नै प्रयोग नगर्नुहोस्, यो त मतदाताहरुलाई बद्नाम गर्ने कुरा हो, हाम्रा मतदाताहरु लेनदेन गर्नुहुन्न, अफवाह कुरा धेरै नगरौं।’ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक संघसंस्थाहरुले काम गरिरहेको अवस्थामा यस्तो कुरा गर्दा कस्तो नराम्रो सन्देश जान्छ भन्दै यादवले गलत र अफवाह फैलाउने कुरा कसैलेपनि गर्न नहुने धारणा राखे ।

पहिलो चरणको निर्वाचनमा हिमाली, विगट स्थानमा हुँदापनि ६५ प्रतिशत मत खसेको भन्दै दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढि मत खस्ने यादवको अनुमान थियो ।