शान्ति र्‍यालीका सहभागी र माओवादीबीच झडप

शान्ति र्‍यालीका सहभागी र माओवादीबीच झडप


काठमाडौंमा तनाव, शान्ति र्‍यालीका सहभागी र माओवादीबीच झडप

काठमाडौंको जोरपाटीमा स्थानीयवासी प्रतिकारमा उत्रिँदा भएको झडपमा चार प्रहरी घाइते भएका छन् । माओवादी र स्थानीयवासीबीच ढुंगा हानाहान हुँदा बीचमा परेका ती सुरक्षाकर्मी घाइते भएका हुन् । झडपमा एक स्थानीय पनि घाइते भए । राजधानीको विभिन्न स्थानमा शुक्रबार तनाव भएको छ । व्यवसायी र पेसाकर्मीले आव्हान गरेको शान्ति सभाका सहभागी र माओवादीबीच विभिन्न स्थानमा झडप भएको छ । शान्ति शभामा सहभागी हुनुपूर्व र बसन्तपुरबाट फर्केपछि उनीहरुको माओवादी कार्यकर्तासँग राजधानीका बिभिन्न भागमा झडप भएको हो । प्रहरीले दुई पक्षलाई आमनेसामने हुन बिभिन्न स्थानमा अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शनी मार्गमा राष्ट्रिय सभागृह अगाडि शान्ति र्‍याली र माओवादीबीचको झडप नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रृ ग्याँस प्रहार गरेको थियो । त्यस लगत्तै सभागृहबाट बाहिरिएको माओवादी कार्यकर्ता र र्‍यालीका सहभागीहरुबीच पुरानो बसपार्कमा भएको झडप रोक्न पनि प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । शान्तिको पक्षमा नारावाजी गर्दै र्‍याली नगर घुम्दै थियो । वसन्तपुरमा सभा सकिएर स्वस्फुर्त रुपमा निस्केको जुलुशले प्रदर्शनी मार्ग,पुतली सडक लगायतका क्षेत्र घुमेको थियो ।

त्यस्तै,सभामा सहभागी हुन जान लागेको जुलुश र माओवादीबीच रत्नपार्कमा झडप भएको थियो । त्यहाँ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रृ ग्याँस प्रहार गरेको थियो । त्यसस्थानमा युथफोर्सको अगुवाईमा जुलुश भएको र उनीहरुले ढुङ्गा प्रहार गरको माओवादीले बताएको छ । बागबजार क्षेत्रमा माओवादीले लाठी लिएर युथफार्सलाई खोज्दै भागदौड गरेको थियो ।

प्रहरी नायव उपरीक्षक शरद खत्रीमाथि लट्ठी प्रहार गरेको भन्दै प्रहरीले एक प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । बसन्तपुरको सभा सकेर र्फकदै गरेका र्‍यालीका सहभागी र माओवादी कार्यकर्ताहरुबीचको झडप नियन्त्रणका क्रममा रत्नपार्कमा खत्रीमाथि लट्ठी प्रहार भएको प्रहरीले बताएको छ ।

त्यसैगरी बसन्तपुरको सभाबाट फर्केकाहरुलाई माओवादी कार्यकर्ताले सोहृ खुट्टेमा आक्रमण गरेका छन् । सो आक्रमणमा पाँच जना घाइते भएका छन् ।

साभार: ईकान्तिपुर