अपडेट: नेपालीबाट नेपाली युवतीकै ईज्जत…

अपडेट: नेपालीबाट नेपाली युवतीकै ईज्जत…


फार्नबरो । नेपाली महिलालाई काम दिलाई दिने प्रलोभनमा पारी ईज्जत लुट्न खोज्ने व्यक्ति टेक बहादुर गुरुङ भएको र उनी फार्नबरो निवासी भएको खुल्न आएको छ । पेशाले सुरक्षा गार्ड रहेका गुरुङबाट उक्त महिला असुरक्षित रहन जानुलाई विडम्बना मानिएकोछ । गत सोमवार गुरुङ, प्रहरी हिरासतबाट परिवारको जमानतमा, तारिखमा रिहा भएका छन् । उनको यस्तो कृयाकलाप यो पहिलो नभएका कारण प्रहरी, अर्को एकजना पीडित महिलासँग वयान लिएपछि मात्र मुद्दा अदालतमा दायर गर्ने तयारीमा छ ।
पीडित महिला विद्यार्थीको श्रीमती भएकी कारण सामाजिक प्रतिष्ठा र सुरक्षालाई ध्यानमा राखी नाम गोप्य राखिएको छ । उनी विद्यार्थी श्रीमानलाई उच्च शीक्षा दिलाउन कामको खोजीमा थिईन् तर यस घटनापछि उनको हिम्मतले काम गर्न सकेको छैन । एउटा नेपालीबाटै विदेशमा आएर यस्तो असामाजिक व्यवहार होला भन्ने सपनामा नसोचेकी उक्त महिला, श्रीमानलाई नेपाल नै फर्कौं भनी दैनिक अनुरोध गर्दैछिन । समयमै श्रीमान् र प्रहरीको साथ पाएकोले आफू अपराधीलाई कानूनी दायरमा ल्याउन सफल भएको बताउँछिन् । प्रहरीबाट स्वीकृति पाएपछि उनी आफ्नो परिचय सार्वजनिक गर्ने र पछि समाजमा हुने यस्ता अपराध र अपराधीका विरुध्दमा कामसमेत गर्ने बताउँछिन् । सो घटनाको मुद्दाको अनुसन्धान अल्डरशट प्रहरीबाट हुँदैछ । -मेरो सम्वाददाता

Old news

फार्नबोरो । फार्नबोरोमा बस्दै गरेको एक विद्यार्थी दम्पतिलाई आफ्नै नेपालीबाट लुटिइने घटना छिमेकी शहर अल्डरसटमा भर्खरै घटेको छ । विद्यार्थीको भीसामा यूके पसेका उक्त विद्यार्थीले अल्डरसटमा एउटा पवमा बाउन्सरमा काम गर्ने हङकङबाट आएको एक नेपालीलाई आफ्नी श्रीमतीलाई काम खोजिदिनको लागि आग्रह गरेपछि, उक्त बाउन्सरले अल्डरसटकै कुनै रेष्टुरेन्टमा काम खोजिदिएको र त्यसबापत आफूले केही पाउनुपर्छ भनेकोलाई मध्यनजर राखी सो विद्यार्थीले एकदुई सय पाउण्ड दिने मनासय बनाएको तर दोश्रो इन्टरभ्यूको वहानामा सो बाउन्सरले विद्यार्थीकी श्रीमतीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती गर्न थाल्दा उक्त युवती चिच्याएपछि उनलाई शान्त हुन भन्दै र बिनापैसा आफूले युवतीलाई काममा लगाइदिने तर त्यसको बदलामा चुप रहनु पर्ने भन्दै दिएको प्रलोभनमा पनि युवती नमानेपछि, बाउन्सरबाट युवती कोठाबाहिर धकेलिकिएकी अनि बाहिर निस्कनासाथ सो युवतीले आफ्नो श्रीमानलाई फोन गरी डाकेकी र श्रीमान आएर बाउन्सरसँग सोबारे कुरा गर्न खोज्दा उल्टै उक्त घटनालाई बाहिर नल्याउने, यदि ल्याए आफूले ठीक पारिदिने भन्ने धम्की विद्यार्थी दम्पतिलाई सो बाउन्सरले दिएकोले घटनालाई नजिकैको पुलिस ठानामा दर्ता गराइएको जनाइएको छ । पुलिसले दुबैपक्षलाई भोलि ठानामा बोलाएको छ ।
बाउन्सरकी श्रीमतीले विद्यार्थी दम्पतिलाई भेटी, ..आफ्नो श्रीमानको त्यस्तो बानीउपर आफूलाई पहिला नै थाहा भएको र आफ्नो परिवारकोर् इज्जतको लागि आफैबीच सो केसलाई समाधान गर्नको लागि विद्यार्थी दम्पतिलाई विभिन्न रुपले आग्रह गरे पनि दम्पतिलै केस फिर्ता नलिई भोलि ठानामा साविकैबमोजिम जाने भएको थाहा लागेको छ ।
मेरो यूके डट कमलाई सो घटनाबारे संक्षिप्तमा जानकारी भएको र घटनालाई अहिले स्थानीय पुलिसले हेरेकोले सम्वन्धितहरुको नाम यहाँ सार्वजनिक नगरेको हो । पुलिसबाट जानकारीहरु सार्वजनिक भएपछि सोबारे विस्तृतमा लेखिने नै छ । बेलायती नयाँ नियमले गर्दा स्टुडेन्ट भीसामा आएका दम्पतिहरुले नेपाली, भारतीय तथा पाकिस्तानीहरुबाट विभिन्न रुपमा श्रम शोषण हुने गरेको बारेमा जताततै थाहा लागेको भए पनि यसरी ईज्जतको शोषण गरिएको वा गरिने प्रयत्न गरिएकोबारे थाहा नभएको सन्दर्भमा सम्वद्धहरुबाट यस घटनालाई गम्भीररुपमा हेरिएको छ । गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाहरुलगायत नेपाली दूतावासलाई यस्तो किसिमको घटनाहरुउपर जानकारी हुनुपर्ने र त्यसको रोकथामका लागि पाइलाहरु ती संस्था तथा निकायहरुबाट चालिनु पर्ने आवश्यकता टडकारो देखिएको छ । -मेस