काठमाडौं । आमहड्ताल स्थगन गरेपछि त्यसबारे जानकारी गराउने उद्देश्यले माओवादीले राजधानीको खुलामञ्चमा सभा सुरु गरेको छ। सभामा शीर्ष नेताहरुले आमहड्ताल स्थगित गर्नुपरेको कारणबारे आन्दोलनकारीलाई जानकारी गराउने बताइएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले सभालाई सम्बोधन गर्नेछन्। सभा सुरु हुनुअघि विभिन्न स्थानबाट आएको जुलुस नगर परिक्रमा गरी खुलामञ्च पुगेको थियो। आगामी कार्यक्रम र परिवर्तन गरिएको आन्दोलनको स्वरुपबारे माओवादी अध्यक्षले जानकारी गराउने आशा सभामा उपस्थितले गरेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यकर्तालाई नेतृत्वप्रति शङ्का नगर्न आग्रह गरेका छन्। र, भनेका छन्- अब सरकारको प्रतिक्रिया हेर्नेछौं, अनिमात्र वार्ता गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्नेछौं। अब फुटबल सरकारको कोर्टमा पुगेको र उसले के गर्छ हेर्न बाँकी भएको पनि उनले बताए। आफूले शान्ति र्यालीका आयोजकलाई त्यस्तो र्याली तपाईंहरुको नियन्त्रणमा नरहने भएकाले आयोजना नगर्न भनेको बताउँदै भने- शान्ति र्यालीमा भिजिलान्ते र गुण्डाको प्रयोग भयो। उनले माओवादी आतङ्ककारी हुन र प्रचण्डलाई फाँसी दे भन्ने नारा शान्ति र्यालीमा लागेको दाबी गरे। यस्ता व्यक्तिलाई सरकारले धन्यवाद दिएको पनि आफूले थाहा पाएको उनले बताए।
पैसा कमाएर, डकारेर बसेका बुद्धिजीवी भन्नेलाई सोध्न चाहन्छु भन्दै उनले चेतावनी दिए- तिमीहरु शान्तिका पक्षमा हौ कि युद्धका पक्षमा हौ निर्णय गर। नत्र गाउँगाउँबाट विद्रोहको ज्वाला निस्केपछि तिमीहरुको हालत के हुन्छ सोचे हुन्छ। उनले आन्दोलनको मोर्चा नछाडेको र यसको रुपमात्र बदलिएको पनि बताएका छन्। माओवादीले विभिन्न क्षेत्रबाट हडताल रोक्न माग आएकाले र जनताका लागि अभाव हुन थालेकाले तथा जनताविरुद्ध जनता भिडाउने षडयन्त्र सफल हुन नदिन हडताल स्थगित गरेको बताए।
उनले मे दिवसका दिनदेखि थालेको आमहड्ताल ऐतिहासिक रहेको पनि बताएका छन्। उनले टायर नबालिएको, रेलिङ नभाँचिएको र लाखौंको सहभागिताका आधारमा यो हडताल ऐतिहासिक रहेको उनको दाबी थियो।
उनले आमहड्ताल स्थगित भएपछि त्यसबारे जानकारी दिन खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन।
प्रतिक्रिया