काङ्ग्रेसको स्थितिमा व्यापक सुधार

काङ्ग्रेसको स्थितिमा व्यापक सुधार


प्रतिनिधिसभाको कुल १६५ स्थानमध्ये सबैभन्दा बढी स्थानमा उम्मेदवारी दिने नेपाली काङ्ग्रेसले पछिल्लो समयमा केही सुधार गरेको पाइएको छ । पहिलो चरणमा सम्पन्न निर्वाचनमा काङ्ग्रेस अत्यन्त दुर्बल र रक्षात्मक पाइएको थियो, दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा काङ्ग्रेसमा केही उत्साह थपिएको छ । काङ्ग्रेसका नेताहरू पचासभन्दा बढी स्थानमा विजयी बन्न सक्ने विश्वासमा छन् । निर्वाचन घोषणा हुँदा काङ्ग्रेसले तीसभन्दा बढी स्थानमा विजय हासिल गर्न नसक्ने अनुमान काङ्ग्रेसकै नेताहरूबाट समेत भएको थियो ।

कम्युनिष्ट गठबन्धन बनेपछि काङ्ग्रेसभित्र अभूतपूर्व एकताको वातावरण बनेको, विजय गच्छदार नेतृत्वको समूह काङ्ग्रेसमा फर्किएको, अन्तर्घातको सम्भावना न्यून भएको, कम्युनिष्ट एकताले गैरकम्युनिष्ट कित्तामा एकप्रकारको सन्त्रास पैदा गराएको र राप्रपासँग चुनावी तालमेल तथा मधेसकेन्द्रित समूहहरूसँग एकप्रकारको समझदारी बनेका कारण काङ्ग्रेसको स्थितिमा पहिलेभन्दा धेरै सुधार भएको हो । स्थानीय निर्वाचनमा प्राप्त परिणामले कम्युनिष्ट गठबन्धनलाई उत्साहित र काङ्ग्रेसलाई निरुत्साहित तुल्याएको थियो । तर, यसपटक मैदानमा उत्रेपछि काङ्ग्रेसले आफू पहिले अनुमान गरेजति कमजोर नरहेको ठानेको छ ।

निर्वाचनको तिथि नजिकिँदै जाँदा काङ्ग्रेसमा उत्साह बढेको भए पनि आफूलाई बहुमत प्राप्त हुने आशा गर्न भने काङ्ग्रेसले सकेको छैन । विवेकशील साझा र नेपाली काङ्ग्रेस (बीपी) को नाममा खुलेका दलहरूले काङ्ग्रेसको राम्रै मत कटाउने–घटाउने देखिएकोले पनि काङ्ग्रेसले अपेक्षा गरेअनुरूपको उपलब्धि हासिल हुन नसक्ने ठानेको बताइन्छ । वास्तवमा काङ्ग्रेसले यतिबेला कम्युनिष्ट गठबन्धनलाई बहुमत प्राप्त हुन नदिनुलाई नै आफ्नो सफलता ठान्ने स्थिति बनेको छ । तर, काङ्ग्रेसको यो अपेक्षा पूरा हुने सम्भावना भने अहिलेसम्म देखिएको छैन । दुईतिहाइ बहुमत ल्याउने हल्ला गर्दै चुनावी मैदानमा उत्रिएको कम्युनिष्ट गठबन्धनले सामान्य बहुमत प्राप्त गर्न सक्ने सम्भावना भने अझै छ ।

नेकपा एमालेले लिएका कतिपय राजनीतिक अडान, उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता, एमाले–माओवादीबीच चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकीकरण हुने प्रतिबद्धता तथा काङ्ग्रेस नेता शेरबहादुर देउवाको अलोकप्रियता एवम् विवादास्पद अभिव्यक्ति र भूमिकाका कारण कम्युनिष्ट गठबन्धनले बहुमत हासिल गर्ने सम्भावना बढेको हो । विवेकशील साझा नामक पार्टीले कम्युनिष्टभन्दा काङ्ग्रेसको मत काट्ने भएकोले पनि कम्युनिष्ट गठबन्धनले बहुमत स्थानमा विजय हासिल गर्ने स्थिति बनेको विश्लेषकहरूको भनाइ छ ।

विश्लेषकहरूले २७५ जनाको प्रतिनिधिसभामा कम्युनिष्ट गठबन्धनले करिब १४८ स्थानमा विजय हासिल गर्ने अनुमान गरेका छन् । प्रजातान्त्रिक पक्षले ११५ देखि १२० स्थानसम्म हासिल गर्न सक्ने अनुमान छ । ज्ञातव्य छ, कम्युनिष्ट गठबन्धनले सामान्य बहुमत मात्र हासिल गरे पनि त्यसले नेपाली राजनीतिलाई अनपेक्षित मोडमा पु¥याउने निश्चित छ । ज्ञातव्य छ, प्रतिनिधिसभामा सामान्य बहुमत प्राप्त गर्न १३८ सांसद सङ्ख्या आवश्यक गर्छ ।