लण्डन । कुनै बेला संसारभरि दार्जीलिङ शहरको सुन्दरता र त्यहाँका बासिन्दाहरुको स्वागत सत्कारको कीर्ति फैलिएको थियो । बेलायती राज हुँदा दार्जीलिङको गरिमाले आकाश छोएको थियो । शुरुमा ५० घरजति भएका लिम्बूहरुको बस्ती, पछि गएर बेलायती शासकहरुको गृष्मकालीन समयमा मनोरंजन र घुमघाम गर्ने स्थल बनेको थियो । कालान्तरमा विश्वप्रसिद्ध पर्यटकीय स्थलको रुपमा प्रचलित भयो ।
टाइगर हिलबाट देखिने बिहानको झुल्के घाम डोलो जत्रै आकारको लालीमाको आभा फैलाउँदै झोलुङ्गामा बच्चालार्इ हल्लाउँदै गरेजस्तै सूर्य उदाउँदै गरेको दृश्य विश्वप्रसिद्ध छ । घुमको बौद्ध गुम्बा, चियाकमान र दार्जीलिङको सुप्रसिद्ध चियाको स्वाद, रक गार्डेन, गंगामाया पार्क, पहिलो हिमालायन पर्वतारोहण प्रशिक्षण केन्द्र, दार्जीलिङ चिडियाघर, पोलोग्राउण्डको चहलपहल र सिलिगुढीदेखि दार्जीलिङको पहाडी नागबेली रेलको लिकमा छक्छक् गर्दै चल्ने गुडिया रेल दशकौं पहिलेको स्वर्गिक अनुभूति केवल एउटा स्मरणमा सीमित भएर रहेको अवस्था आएको छ । यो मनमोहक शहरले पहिलेको जस्तो पर्यटकहरुलाई आकर्षित पार्न सकेको छैन । कुनै श्रृंगार नगरेकी युवतीको हाल जस्तो बन्दछ दार्जीलिङ । कुनै पनि बगैंचामा मगमग बसाउने सुन्दर फूल फुलाउनको लागि असल मालीको अवश्यकता हुन्छ, दार्जीलिङ आज माली नभएको बगैंचा जस्तो भएको छ । दार्जीलिङले आज पहिलेको जस्तो स्याहरसुसार पाएको छैन ।
गत वर्षको आइला नामक आ“धीबेहरीको चपेटमा परेर शहरको मुख्य रक गार्डेन र गंगामाया पार्क पहिरोले ध्वस्त पारेर एउटा इतिहास बन्न पुगेको छ । शहरका कतिपय स्थलहरुमा मर्मत-संभार नभएकोले पहिलेको जस्तो रौनक देखिँदैन । १९ अक्टुबर २००३ को दिनमा दार्जीलिङ-रंगेली रोपवेकार खसेर दुर्घटनग्रस्त हुँदा चारजना विदेशी पर्यटकहरुको मृत्यु भएको थियो, त्यसपश्चात् अहिले यो रोपवे संचालनमा आएको छैन । राजनैतिक अन्यौलताको चपेटमा परेको दार्जीलिङले बेला-बेलामा दंगाफसाद भोग्नु परेकोले पनि यस्तो नकारात्मक असर परेको देखिन्छ । -सुमल, मेयुस
प्रतिक्रिया