-लारा,
अनेकन छन् प्रसंगहरु । लेख्नकै लागि । कहिलेकाहिं तर भेटघाटका रमाइला पक्षहरु पनि मननयोग्य बन्दोरहेछ । प्रसंग भर्खरै सम्पन्न एउटा रमाइलो नेपाली जमघटको हो ।
प्रारम्भमा त्यस्तो केही थिएन । सबैको हात-हातमा विभिन्न पेयदेखि वियरका क्यानहरु थिए ।
वातावरणमा नेपाली धुनहरुसँगै बलिवुड मिक्स मसालादेखि हलिवुडको चर्को संगीत बजिरहेको थियो । कोही नाच्दै थिए । कोही गफ्फिँदै थिए । रमाइलै थियो वातावरण । अचानक एउटा कुनाबाट केही चर्को वहसको आवाज आयो । ध्यानाकर्षण हुनु सबैको स्वभाविकै थियो । हुन त, सामान्य परम्परा बनिसकेको छ नेपाली जमघटमा अलिकति घम्साघम्सी । मैले यस्तै सोचें ।
प्रसंग र विवाद चर्किएको कारण रहेछ ‘गोर्खा नेपाली’ हुनु र, केवल सामान्य नेपालीको परिचय बोक्नु अथवा हङकङे आईडीवालाहरुको बेलायत आगमनपश्चात् उनीहरुले बोकेका परजीवी परिचय । हङकङ आईडीवालाहरुलाई परजीवी भनिँदोरहेछ । कारण, गोर्खाको नामबाट पाएकौ परिचय बोक्ने जमात अरे यिनीहरु । चीसो बेलायतका सोचाइहरु पनि सायद चिसो नै । स्थितिसापेक्ष आफूलाई हीनताबोधविहीन उभ्याइदिनुबाहेक अर्को विकल्प देखिनँ मैले त्यो भेटघाटमा । नत्र एक्लो भईंदोरहेछ ।
तै पनि, प्रत्येक मोडहरुमा असंतुष्टीहरु विरुद्ध आवाजहरु बाहिर आउनुपर्छ । त्यसलाई विद्रोह भनिँदैन । वहस मान्न सकिन्छ । र, हरेक तर्कपूर्ण वहसका निकास कहिं न कहिं निस्कन्छ । अघिको चर्को वहससँगै अर्को रोचक प्रंसग-
एकजना गोर्खा रिटायर्ड मामा र हङकङे भाञ्जा अघिको त्यो कुनाको वहसको आधारमा ठट्टा गर्दैथिए । आरेाप लगाउँदै थिए मामा- ‘सिभिलियन भाञ्जाहरु आएर गोर्खाको बदनाम गर्दैछ बेलायतमा ।’ हङकङे भाञ्जाले तर्क दिए-‘मामाहरुकै सिको गरेको त हो भाञ्जाहरुले ।’ स्मरण गराउन भ्याए मामालाई हङकङे भाञ्जाले-‘उहिल्यै त्यो हङकङको ‘पुसीक्याट डिस्को’ र ‘फिली’ घुमाउन सिकाउने तपाईंहरु नै त हो मामा ।’
तर, भाञ्जाहरुको ‘डिसिप्लिन’ नै नहुने क्या ! मामाले आफ्नो बचाव दिए ।
थप वियरको जोशसँगै उचालिए हङ्गकङ्गे भाञ्जा । डिस्कोमा कुन मामाहरुले चाहिं ‘डिसिप्लिन’ राख्नुभएको थियो नि –
‘अलिकति पिएपछि यसरी उचालिन्छ भाञ्जाहरु ।’ आक्रोश दबाए मामाले ।
हामी पनि गोर्खाकै सन्तान हौं । कुइरेले सौतेनी ब्यवहार गर्यो गोर्खालाई भन्छौं तर, मामाहरुले आफ्नै सन्तानलाई ‘सिभिलियन’ भनेर हेयको दृष्टि राख्नुभएन । अलिक चित्त बुझ्दैन क्या मामा । यस्तो ब्यवहारले त आफ्नै छोराहरुलाई सरकारी बुटले छातीमा बेस्सरी लात्तीले बजार्नु होइन र ? तपाईंहरुले जन्माएको सन्तान पो हौं त । कमी-कमजोरीहरु औंल्याएर ‘डिसिप्लिन’ सिकाउनूस् न बरु ।
ल, ल मामा चियर्स् ! वातावरणलाई सहज बनाउँदै हङ्गकङ्गे भाञ्जाले प्रसंगको विट मारे । अनि, मज्जाले दुबै हाँसे । गललल…………..।
मामा-भाञ्जा केवल प्रतिनिधि पात्रहरु हुन् । सधैं यस्तो वातावरण तथा संवाद सहज नहुन पनि सक्छ । बोतलसँगै कहिलेकाहिं मामा-भाञ्जाहरुमाझ टाउको फोडिएका घटनाहरु पनि नौला र नसुनिएका होइनन् ।
संकुचित दायराभित्र बेगल समाजको प्रतिनिधित्व गर्दिनँ म । कसैको निश्चित मानसिकता तथा सिद्धान्तहरुप्रति मेरो समर्थन या विरोध दुबै छैन । एकथरि ‘गोर्खा नेपाली’ अर्काथरि, केवल ‘नेपाली’ यो बेलायती समाजभित्र । एउटा सवाल बारम्बार मस्तिष्कमा उब्जियो-“विषम असमानता त्यस्तो के छ हजूर ! मात्रै ‘नेपाली’ अथवा, ‘गोर्खा नेपाली’ हुनुमा ?” यद्यपि, निश्चितरुपमा नै परिभाषा तथा पहिचान अलग छन् मात्रै ‘गोर्खा’ हुनुमा । तैपनि, अनेकतामा एकता : समग्रमा, के हामी मात्रै नेपाली सोच राख्न सक्दैनौं ?
समयसापेक्ष धारणाहरु परिमार्जित गर्दै लैजान नसक्नुले निश्चय नै दूरगामी असर पार्नेछ । किनभने, जब हामी आफ्नैहरुबाट बर्गीकृत हुन्छौं । चाहे पेशागत, जातीयता, क्षेत्रीयता अथवा धर्म तथा आस्थाका आधारहरुमा । अन्तर्राष्ट्रिय रंग तथा जातीय विभेदका मुद्धाहरु कसरी समेट्न सक्छौं- बदलिँदो परिवेश तथा परिस्थितिसँगै विभिन्न जिम्मेवार तह-तप्काहरुले दायित्वपूर्ण ढंगले अन्तस्कंरणबाट नै मामा-भाञ्जा, गोर्खा अथवा, नेपाली सबै जमातलाई समेट्दै फराकिलो दायराभित्र लैजान सके समग्रमा सिंगो नेपाली समाजको बुलन्द अन्तर्राष्ट्रिय आवाज बन्न सक्थ्यो ।
विमति मेरो यति हो ।
-रमफोर्ड, लण्डन ।
प्रतिक्रिया