प्रधानमन्त्री माधवकुमार नेपालले सडकका अगाडि आफूले घुँडा नटेक्ने स्पष्ट पार्दै आजै औपचारिक पत्र लेखेर विपक्षी नेता पुष्पकमल दाहाललाई वार्ताका लागि आह्वान गरिने बताए। प्रधानमन्त्रीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेटको क्रममा उनले यस्तो विचार राखेका हुन्।
तीन दलबीच सहमति निर्माण गर्न आफूहरूले पटक-पटक प्रयत्न गर्दा पनि सफल हुन नसकेको चर्चा गर्दै महासङ्घका अध्यक्ष कुशकुमार जोशीले भने- ‘त्यसैले अब प्रधानमन्त्रीज्यूले तीनै दललाई एक ठाउँमा राखेर निकास निकाल्नका लागि पहल गर्नुपर्यो।’ प्रधानमन्त्री नेपालले आमहडतालको अन्त्य गर्न निजीलगायत क्षेत्रबाट गरिएको प्रयासका लागि धन्यवाद दिँदै दलहरूबीच सहमति र सहकार्यका लागि आफूले प्रयत्न गरिरहेको जानकारी गराए।
‘सहमति र सहकार्यका लागि अब अमूर्त कुरा गरेरमात्र हुँदैन’- प्रधानमन्त्री नेपालले भने – ‘माओवादीले क्यान्टोनमेन्ट खाली गर्नुपर्दछ र वाइसिएलको अर्धसैन्य संरचना भङ्ग गर्नुपर्दछ। त्यसपछि दलहरूलाई मिलाउने जिम्मेवारी मेरो भयो।’
‘हामी मुठभेडमा जान चाहँदैनौँ’- प्रधानमन्त्री नेपालले भने- ‘यदि चाहेको भए बल प्रयोग गर्न सकिन्थ्यो होला। भीड पन्छाएर सिंहदरबार जान सकिन्थ्यो होला। तर, मैले मन्त्रीहरूलाई भनेँ- ‘बरु बिहानै जानूस्, मन्त्रालयमै बस्नूस् वा निवासमै बस्नूस्। तर, मुठभेड नगर्नूहोस्। त्यसलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन। मैले मुठभेड रोक्न यस्तो निर्देशन दिएको हुँ।’
माओवादीद्वारा सिंहदरवार घेराउ – माइतीघरमा झडप
माओवादीले आज सिंहदरवार घेराउ गर्ने क्रममा माइतीघर मण्डलामा माओवादी र प्रहरीबीच झडप भएको छ । झडपमा जनपथ प्रहरीका एकजना डिएसपी र एकजना पत्रकारको टाउको फुटेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब छ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
माओवादी कार्यकर्ताले एक जानालाई सुराकीको आरोप लगाउँदै कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो । निषेधित क्षेत्र घोषणा गरिएको नजिकै माओवादीले प्रदर्शन गरिरहेका थिए । डिएसपी भोला रावल सहित तीन प्रहरी र दर्जनौ माओवादी कार्यकर्ता घाइते भएका छन् । माओवादीले एभीन्युजका क्यामरा म्यान रविन्द्र श्रेष्ठलाई कुटपिट गर्दै उनको क्यामारा खोसेको छ ।
छतबाट गोली चलाएको भन्दै माओवादीले दुई जना नियन्त्रणमा लिएर राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाएको छ । उनीहरु राष्ट्रिय अनुसन्धानका कर्मचारी हुन् । कुनै आक्रमण नगरेको उनीहरुले बताएका छन् । खुकुरी लिएर प्रदर्शनमा घुसपैठ गरेको आरोपमा माओवादीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवाब पछि अनिश्चितकालीन आमहडताल फिर्ता लिएको माओवादीले आन्दोलनको स्वरुप बदलेको छ । राजधानीमा मुख्य प्रशासनिक केन्द्र सिंहदरवार र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । बिहान ९ बजेबाट सिंहदरवारलाई चारै तिरबाट घेराउ गरिएको छ । मन्त्री तथा कर्मचारीलाई मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा छिर्न नदिने रणनीति माओवादीले लिएको छ ।
यसैबीच, थप रणनीति तय गर्न माओवादी स्थायी कमिटीको बैठक बसिरहेको छ । आजै जनआन्दोलन परिचालन समितिको बैठक बस्दै छ ।
प्रतिक्रिया