लण्डन । प्राप्त ताजा समाचारअनुसार एकजना नेपाली गमबाहदुर गुरुङले भर्खरै बेलायतमा सम्पन्न चुनावमा काउन्सिलर पदमा निर्वाचित भएको कुरा प्रकाशमा आएको छ । नेपालीहरुका लागि यो एउटा गौरवको कुरा हो । बेलायतमा बसाइ-सराइ गरी बसोबास गर्न थालेको छोटो अवधिमा नै बेलायती राजनीतिमा पनि सहभागी भएर सफलता हासिल गरेकोमा उनी बधाइका पात्र छन् । स्मरण रहोस्, नेपाली काउन्सिलर पदमा धन गुरुङ, नेपाली बाहुल्य रहेको फाक्सटाउन शहरबाट निर्वाचित भएको पहिलो काउन्सिलर हुन् ।
गम बहादुर गुरुङ नेपालको कास्की जिल्लाअन्तर्गत पर्ने, लुम्ले गा.वि.स.को भिचुक गाउँ निवासी इमान बहादुर गुरुङ र श्रीमती खिनाउरी गुरुङको ६ सन्तान मध्येका कान्छा छोरा हुन् । उनको जन्म वि.स. २०१६ सालमा भएको हो । गमबहादुर गुरुङले आफ्नो प्रारम्भिक शिक्षा गाउँबाट नै प्राप्त गरेका थिए, पछि कास्की, ढिकुर पोखरीको माछापुछ्रे हाइस्कुलबाट १० कक्षा सम्मको पढाइ पूरा गरेर बेलायती सेनामा भर्ती भएका थिए । क्वीन्स गुर्खा इन्जिनियर्समा १७ वर्ष सेवा गरेर सार्जन पदमा सेवा निवृत भएका हुन् । उनी अहिले आफ्नी पत्नी, तीन छोरी र एक छोरासहित सपरिवार मार्डन, लण्डनमा बस्दै आएका छन् । गुरुङ अत्यन्त मेहनती र अनुशासित व्यक्तित्वको धनी छन् । १९९४ सालमा सेवा निवृत भएका गुरुङले नेपालमा गएर पोखरामा पर्यटन तथा होटल व्यवसायमा आफूलाई स्थापित गरे । उनी पोखराको ड्यामसाइडस्थित होटल ट्वीन पिकको मालिक हुन् । केही वर्षयतादेखि यू.के.मा आएर उनले कार्साल्टन कलेज, सट्टनमा बि्रकलेयर विषयमा पढाउने प्रशिक्षकको काम गर्दै आएका छन् ।
यसपालिको यूकेको चुनावमा लण्डनको मार्टन बारोअन्तर्गत पर्ने कोलियार्सवूड वार्डबाट लेबर पार्टीको उम्मेदवारको हैसियतमा चुनावी मैदानमा काउन्सिलर पदको लागि उत्रेका थिए । काउन्सिलर पदमा सजिलै विजय भएर गम बहादुर गुरुङले आफ्नो लागि र नेपालीका लागि इतिहास कोर्न सफल भए । एकजना नेपालीले लण्डनमा आएर छोटो अवधिमा यस्तो उपलव्धि हासिल गर्नु भनेको नेपालीका लागि गौरवको कुरा हो ।
उनले अब नेपाली समुदायलगायत दक्षिण लण्डनमा बसोबास गर्ने सर्वसाधारणका लागि कल्याणकारी काम गरेर आफूले सक्दो सेवा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् र यसै वेबमार्फत सबै गोर्खा भूतपुर्व सैनिक, उनका परिवार र सबै दक्षिण लण्डनका नेपाली समुदायलाई आफ्नो चुनावी अभियानमा साथ दिएर आफूलाई विजयी बनाएकोमा हार्दिक कृतज्ञता तथा धन्यवाद प्रकट गरेका छन् । मेरो यूके डट कम काउन्सिलर गुरुङलाई बधाइ साथै उनको कार्यकालको पूर्ण सफलताको कामना गर्दछ । -सुमल, मेयुस
प्रतिक्रिया