वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा नक्कली बम आतंक मच्चिएको छ ।
निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
‘प्रचण्डको क्षेत्रसहित करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, ‘सबै नक्कली मात्रै भेटिएका छन् ।’
उहाँका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही बारुद रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाइएको छ । चितवन प्रहरीले शान्तिसुरक्षा चुस्त रहेकाले ढुक्क भएर निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताउनुभयो ।
मुख्यगरी नेकपाका कार्यकर्ताले तर्साउने गरेको यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको छ । अहिलेसम्म करिब एक दर्जन ठाउँमा यस्ता शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
तीमध्ये केही ठाउँमा मात्रै बारुदसहित राखिएको भए पनि अन्य ठाउँमा नक्कली (होक्स बम) पाइएको छ । अन्य क्षेत्रमा कहीँ घरकै सिलिण्डर लगेर जलाइएको, कहीँ माटो, ढुंगा भरेर राखिएको तथा बम जस्तो बनाएर बेरेर राखिएको मात्रै पाइएको प्रहरीको भनाइ छ ।
यस्ता गतिविधि राप्ती नगरपालिकामा दुई स्थान, खैरहनीमा दुई स्थान एवं रत्ननगर र कालिका नगरपालिकामा एवं माडी तथा भरतपुर क्षेत्रमा पाइएको प्रहरीले जनाएको छ । ३,४ स्थानमा घरबाटै सिलिण्डर लगेर आगो लगाएको भन्दै उहाँले सिलिण्डरमा आगो लगाएपछि पड्किनु स्वभाविक भएको भन्दै त्यहीँ पनि खुला क्षेत्रमा देखिएको बताउनुभयो ।
प्रहरीको विशेष टोलीले अहिलेसम्म शंकास्पद २०० स्थानमा खोजी गरेको केही ठाउँबाट सामान्य विस्फोटक पदार्थ र त्यसमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको छ । अहिलेसम्म यस्ता गतिविधि गर्ने २६ जनासहित आपराधिक क्रियाकलापमा लाग्ने ४६ जना नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
चितवनबाट हेभिवेट उम्मेदवारका रुपमा प्रचण्ड र विक्रम पाण्डे भिड्दै छन् । यसले पनि सबैको ध्यान चितवन तिरै तानिएको छ ।
प्रतिक्रिया