राजतान्त्रिक लगाम, प्रजातान्त्रिक घोडा र लोकतान्त्रिक जक्कीहरु

राजतान्त्रिक लगाम, प्रजातान्त्रिक घोडा र लोकतान्त्रिक जक्कीहरु


-सुमल कुमार गुरुङ,
प्रजा विनाको राजा हुँदैन । राजाको धरातल भनेको नै प्रजा हो । एउटा निर्दिष्ट क्षेत्रभित्रका मानव समुूहले प्रतिनिधित्वको लागि चुनिएका अथवा आफ्नै क्षमता (बुद्धि, शक्ति र कौशलता)को भरमा अरुले स्वतः आदेशलाई पालना गर्ने ती मानव समुहलाई नेतृत्व गर्ने र शासन गर्ने सार्वभौमसत्ता भएको मानिसलाई राजा भन्दछ । राजाले आफ्नो जिम्मेवारी वहन गरेपछि राजाले गर्नुपर्ने कामकर्तव्य, न्यायनिसापका विषयहरु र प्रशासनमा धेरै विषयहरुउपर विशेष ध्यान दिनुपर्ने हुन्छ । एकपटक राजा भएपछि राजाले भाईभारदारहरुको सरसल्लाह लिएर शासन संचालन गर्दछ । यसलाई हामी राजतन्त्र भन्छौ । राजतन्त्रको अभ्यासमा राजाको स्वर्गवास भएपछि उत्तराधिकारीको रुपमा साधरणतया जेठो सन्तान राजा बन्ने गर्छ । नेपालको राजतन्त्रमा पनि यहि सिद्धान्त लागु भएको हो । तर, कमजोर व्यवस्था र कमजोर राजाहरुको कारणले गर्दा वि.स. १९०३को कोतकाण्डको रक्तपातले राजतन्त्र अर्कै दिशामा मोडिन्छ । राजतन्त्रको लगाम बीर नरसिंह कुँवरको हातमा जान्छ जसलाई जंगबहादुर राणाको नाउँबाट राणशासनको स्थापना गर्ने व्यक्तित्वको रुपमा नेपालको इतिहासले बताउँछ । राणाहरु श्री ३ महाराजधिराजरुपी उपाधिको लगाम काठी कसेर जनतामाथि निरंकुश जहाँनिया शासनको शुरुआत गर्दछ । देशका प्रमुख महाराजधिराज श्री ५हरु केवल नाम मात्र राजा बनेका थिए र लगामविहीन घोडामा सवार भएर कहिले काँशी र कहिले घरमा नै नजरबन्द भएर बस्न बाध्य थिए । त्यही राजतन्त्रभित्र राणाहरुको मनपरितन्त्र पल्लवित हुँदै सय सय वर्षसम्म निरन्तर शासनको लगाम समातेर जनतालाई शोषण गरेका थिए ।
राजाले प्रजामाथि राम्रो शासन गर्न सक्षम नभए, पक्षपाती भएर आफ्नो र पारिवारिक स्वार्थमा मात्र लीन हुने र न्यायनिसापको नाउँमा प्रजालाई दमन र अत्याचार गर्दा ढिलो चाँडो त्यहाँ विद्रोह उन्पन्न हुन्छ र देशमा अशान्ति फैलिन्छ । रक्तपात हुन्छ, अराजक तत्वहरुले ठाउँ ओगट्छ । देशले विकाश गर्न सक्दैन र देश असफल राष्ट्रको रुपमा परिणत हुन्छ । लगभग संसारका सबै राष्ट्रहरुले कुनै न कुनै समयमा इतिहासको कालखण्डमा ब्योहोरेको एउटा यथार्थ हो । २५० वर्षको इतिहासमा झण्डै डेढसय वर्षजति केवल यिनै शक्ति संघर्ष र जहाँनिया शासनको अन्याय नेपालका जनताहरुले भोग्नु परेको तितो यथार्थ यहाँ उल्लेख गर्नु पर्ने म देख्दिनँ । इतिहासको यो कालोपाटालाई नेपाली जनताले भाग्य ठानेर बस्नु सिवाय अरु कुनै बाटो पाएका थिएनन् । राजतन्त्रको असफल दौर ब्यहोरिसकेका नेपाली जन्ाताले परिवर्तन उहिले देखिनै चाहेका थिए । अन्तत वि.स. २००७सालको जन विद्रोहको परिणामले जहाँनिया शासनको अन्त गरियो र नयाँ नेपालको अपेक्षा गरे नेपाली जन्ाताले जसलाई प्रजातन्त्रको नयाँ नामाकरण दिए । देशको शासन व्यवस्था राजा र प्रजा मिलेर संचालन गर्ने अभिप्रायमा ढुक्क थिए । तर, त्यहाँ फेरी भाँडभैलो शुरुहुन्छ । चुनावमा बहुमत लिएर सरकारमा गएका नेपाली कांग्रेसको सरकारले केही समय पछि राजा महेन्द्रको कूको शिकार बन्नूपर्‍यो । नेपालले फेरि ३०वर्षसम्म प्रजातन्त्रको नाउँमा पंचायती व्यवस्थामा संचालन भएको राजतन्त्रको शासन भोग्नु पर्‍यो । यो पनि पुरानो बोतलमा नयाँ रक्सी राखेसरह नै साबित भएको थियो । भाँडभैलोको रुपमा राजाका आसेपासे र त्यही पुराना राणाहरुको सन्ततीहरुका हाली-मुहालीबाहेक केही थिएन । विशेष गरेर सेना, प्रशासन र प्रहरीमा प्रमुख नेतृत्व पंक्तीमा तिनै वंशजका नाताले ठाउँ पाएका पुराना खिलाडीहरुका सन्ततीहरु नै थिए । निख्खर जनताको छोराले ठूलो ओहोदा पाएका थिएनन् । राजाले ल्याएको प्रजातन्त्रको घोडा जनतामाथि ३०वर्षसम्म दोडिरह्यो ।
मैले सुनेको थिएँ नेपालमा पनि उहिले कुनै एकजना राजा आफ्नो प्रजाको लागि धेरै चिन्तित रहन्थे । सघैं उनले चियो गरेर जनताका पिरमर्का, दुःख तकलिफलाई बुझ्ने गर्दथे रे । राजा सधैं आफ्नो अगलो दरबारको कौसीबाट जनताका घरहरुलाई हेर्ने गर्दथे । यदि कुनै दिन कुनै रैतिको घरबाट चुल्होको धूँवा निस्केको देखिएन भने राजाले तुरुन्त कुनै मानिस पठाएर सोधपुछ गरेर त्यसघरको बारेमा समाचार लिन्थे रे । समष्या परेको अवस्थामा तत्काल समाधान गर्थे रे । यदि सबैको घरबाट धूँवा उठेको देखिएमा राजा ढुक्क भएर आफ्नो भोजन ग्रहण गर्थे रे । उनी प्रजाका लागि चिन्तित रहन्थे र उनले आफ्न्ाो प्रजाले एकमाना सुखको खाना खाएको हेर्न चाहान्थे । जुन व्यक्तिबाट सदा आफूलाई संरक्षणको अनुभूति प्राप्त हुन्छ त्यसै व्यक्तिको प्रभुत्व स्वीकार्नु भनेको मानव मनोवैज्ञानिक यथार्थ हो । राजाको उदहारण दिँदा हामीले आयोध्यको राजारामको राज्याकाललाई उदहारणको रुपमा लिन सकिन्छ । एकजना प्रजा धोबीको कुरा सुनेर धोबीको विचारलाई सम्मान गर्ने र लोकन्यायको कठघरामा सीतामाईलाई उभ्याएर बनवास पठाएका थिए । यसैले रामराज्यको बखान हिन्दुधर्मावलम्बीहरुले गर्ने गर्छन् । जुन राजाले प्रजाको मुल्यमान्यता शिरोपर गरी राज्य संचालन गर्छ त्यसैलाई हामी सही मानेमा देशको राजा मान्नु पर्दछ । जहाँ न्याय र निसापको कदर हुन्छ तब त्यहाँ राज्य संचालनमा कुनै अवरोध हुँदैन र देश स्वर्गादपि गरियसी बन्न पुग्छ । यसलाई परोक्ष रुपमा प्रजाको शासन अथवा प्रजातन्त्र भन्नुपर्छ जहाँ प्रजाको मर्जीलाई विचार गरी राजाले शासन प्रक्रिया अघि बढाउँछ ।
२००७ सालमा नेपाली जनताले राणा शासनको जरो उखेलेर फालेपछि नेपालमा प्रजातन्त्र आएको उद्घोष गर्‍यो तर, राजाको घोडा बनेर दौडने प्रजातन्त्र आयो । एउटा नयाँ नेपालको उदय भएको र प्रजाद्वारा चल्ने राज्य भएकोले राजतन्त्रको नौलो रुपलाई प्रजातन्त्रको संज्ञा दिएको थियो । जनता द्वारा निर्वाचित सरकारको गठन भयो । तर, जनताबाट निर्वाचित जनताको सरकार भएता पनि त्यहाँ प्रजा माथि राजा हावी थियो । शिशु प्रजातान्त्रिक अवस्थामा जनताले चुनेको सरकार टिक्न गाह्रो भयो । नेपालीको सल्लाह खरानीको डल्ला भनेझै जुन दुःखले प्रजातन्त्र ल्याएको थियो त्यो यथार्थमा प्रजातन्त्र नभई राजतन्त्रलाई निम्तो दिएको जस्तो भएको थियो । केही समयपछि पार्टीहरु अहिले जस्तै आपसमा मतमतान्तर भएका थिए । त्यस्तो तरल अवस्थामा पार्टी विभेद र आफ्नै पार्टी स्वार्थको कारण भर्खरै मौलाउन खोजेको प्रजातन्त्रलार्इ, नेपाली जनताबाट चुनेेेका नेपाली कांग्रेसको सरकारलाई कू गरेपछि राजा महेन्द्रले पार्टी विहीन पंचायती व्यवस्था ल्याएर राजाको शासनलाई प्रजातन्त्रको नामाकरण गरी ३० वर्षसम्म फेरी देशले राणाकाल पछिको अर्को नयाँखाले शासन पद्धतिमा चलेको नेपाली प्रजातान्त्रिक घोडादौड देखे । तर, भित्रभित्रै जनताले चाहे जस्तो शासनको खोजीमा नेपाली जनता संघर्ष गर्दै अघि बढ्दै पनि आएका थिए । बहुदलीय पद्धतीमा देशलाई शासन गर्नुपर्ने तथा जनताले पूर्णतया आफ्नो अधिकार प्रयोग गरि जनताद्वारा नै शासन गर्ने माँगमा बढिरहेको बेलामा २०३६ सालको जनमत संग्रहले छारो हाल्ने काम भयो, तर, जनता भित्रको चाहना भने राजतन्त्रलाई नै पूर्ण रुपले अन्त गर्ने अठोटमा थिए । अब फरि आउँछ २०४६ साल र नाटकीय रुपले जनअन्दोलनको मागलाई स्वीकारेर राजा बिरेन्द्रले आफू राष्ट्र प्रमुखको रुपमा शासनको अधिकार जनतालाई सुम्पेर प्रजाको लागि नाम मात्रको राजा बनेर नेपाललाई पहिलोचोटि यथार्थमा प्रजातन्त्र दिएका थिए । राजा बीरेन्द्रले प्रजातन्त्रको घोडा खुला बहुदलीय मैदानमा रेसको घोडा बनाएर नयाँ-नयाँ जक्कीहरुलाई थमाई दिए । तर, नयाँ नेपालले काँचुली फेर्ला भन्ने जुन जनताको सपना थियो त्यो सपना भयावाह रुप लिएर दुर्इ दशकसम्म नेपालले इतिहासमा कहिल्यै नघटेको परिवर्तनहरु देखे । नयाँ जक्कीहरुको घोडादौडमा १३ हजारभन्दा बढी जनताको बलिदान भयो, रगतको खोला राष्ट्रले साक्षी बन्दै मुक हेरिरह्यो । राजपरिवारको नृशंस हत्याको रक्तकुण्ड इतिहासमा कहिल्यै नमेटिने गरी धब्बाको रुपमा दाग बन्यो । राष्ट्रभित्र तोडफोड, लुटमार, हत्या, बलात्कार, अपहरण र भ्रष्टचारको चरम उत्कर्ष यति धेरै हुन थाले कि आम जनताले आफूलाई सधै असुरक्षित महशुस गर्न थाले । प्रजातन्त्रको अन्तिम दिनहरुमा लोकतन्त्रको आभास हुन्छ, तर, अचानक राजतन्त्रको अथवा ज्ञानेन्द्रको उदयले फेरि एकपटक नेपाली इतिहासमा अध्याय परिवर्तन गर्ने कुचेष्टा भयो । फेरि, तुलसी गिरी राजतन्त्रको घोडा बन्दै बंगलोर रेसकोर्सबाट काठमाडौ आएर होटलमा बसे फेरि ५० वर्ष पहिलेको इतिहास दोहोर्‍याउने प्रयास गर्न थाले । ज्ञानेन्द्रको विश्वासिलो प्रजातान्त्रिक घोडाको रथ हाँक्ने सारथी । केही समयसम्म ज्ञानेन्द्रको बृहन्नल बन्न पुगेका तुलसी गिरी, भिष्मा पितामाहले शिखंडीलाई युद्ध मैदानमा देख्दा अतासिएको झै भएका थिए । त्यो नौटंकी क्षणिक थियो । ज्ञानेन्द्रले प्रजातान्त्रिक घोडा बाध्य भएर खुला छोडि दिए । तुलसी गिरी युद्धमैदान छोडेर लापता भए ।
अबका दिनहरुमा रामराज्य जस्ता राज्यको कल्पना गर्नु भनेको एउटा उदहारण देखाउनु मात्र हो अथवा हामी कथामा मात्र सीमित रहनु मात्र हो । राजाको हैसियतमा कसैलाई स्वीकार गरेर हामी अघि बढनुपर्छ भन्ने अभिप्राय मेरो होइन । माथि नै मैले उल्लेख गरेको छु कुनै पनि व्यक्तिलाई मानव समूहले चुनेका अथवा मानेका व्यक्ति नै वास्तवमा राजाको अर्को विकल्प अथवा स्वरुप मान्न सकिन्छ । त्यस्तै लोकतन्त्रमा नेतृत्व गर्ने व्यक्तिलाई हामीले चुनेर राज्यको शासन गर्नको लागि राजाको रुपमा हामीले सरकारमा पठाउँछौ । तर, कहिलेकाँहि बिग्रेको लोकतन्त्रमा धाँधली जस्ता क्रियाकलापहरुका कारण लोकतन्त्रको बजारमा मान्छे बिक्छन् र किन्न सक्नेले देश हाँक्छन् । यसलाई हामी भ्रष्टचार र स्वार्थको बुनियादमा टिकेको देश भन्छौ । कुनै पनि राष्ट्र संविधानको निर्देशन अनुसार अघि बढेको हुन्छ । जुन राष्ट्रको संविधान कमजोर हुन्छ अथवा संविधानको मुल्यमान्यतालाई अवहेलना गरेर संविधान लेख्ने नेतृत्व वर्ग नै हिँड्छन् भने त्यो देशको भविष्य भयावह देखिन्छ । संविधान कमजोर भए राज्य व्यवस्था कमजोर हुन्छ र प्रशासनको ढाडमा रोग लाग्न थाल्छ । बेला बेलामा थला पर्छ र अर्काको भरमा हिड्नुपर्ने जस्ता नियती देशले भोग्नु पर्छ ।
लोकतन्त्रले कुनै पनि सार्वभौमसत्ता देशको नेतृत्वपंक्तिलाई लोकतन्त्रको मुल्यमान्याता अनुसार त्यस देशको संविधानले दिएको हकको अधारमा चुनेर राज्य संचालन गर्नको लागि सरकारमा पठाएको हुन्छ । प्रत्येक क्षेत्र अथवा इकाइबाट जनताले चुनेका संासद आधुनिक लोकतन्त्रको नियम अनुसार हामीले नेतृत्व हाँकने राजाको रुपमा लिन सक्छौ जसलाई जनताले म्यान्डेट दिएका हुन्छन् । त्यस्तै सम्पूर्ण राष्ट्रको चुनावको अधारमा विजयी भएर आएका अथवा त्यस क्षेत्रका लागि मनोनित गरेका प्रत्येक सांसदले आ-आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछन्। अब वर्तमान नेपालको सर्ंदर्भलाई नियाल्ने हो भने एक पटक सांसदमा चुनेर गएपछि आफ्नो क्षेत्र नफर्केका कैयौ यस्ता सांसदहरु छन् जसको ध्येय केवल नाम र पैसा कमाउनुमात्र रहेको हुन्छ । कसरी आफ्नो स्वार्थ सिद्ध गर्न सकिन्छ र अनेकौ हथकन्डा र उपायहरु अपनाएर पटक पटक निर्वाचित भएर प्रतिनिधिसभा छिर्ने खेतीमा जीवन बिताएका हुन्छन् । देश र जनताको लागि उनीहरु बाँचेका छैनन् । उनीहरु केवल आपनो स्वार्थका लागि राजनीतिमा लागेका छन् । ती भ्रष्ट नेताहरु केवल राज्यको ढिकुटी रित्याउने र आफ्नो दुनो सोझ्याउने काममा व्यस्त रहन्छन् । उनिहरु चुनावको बेलामा भोट थाप्न आउने गर्छन, ठुला ठुला भाषण गर्छन र चुनाव जित्ने गर्छन् । अहिले पार्टीको नाउँमा पार्टीले टिकेट दिने चलनले गर्दा सज्जन र देशको लागि मरिमेटनेले कहिल्यै ठाउँ पाएका हुँदैनन् । पार्टीको बहावमा असल नेतृत्वको चयन हुन सकिरहेको छैन । जुन राष्ट्रमा लाखौ अशिक्षित मतदाताहरु छन्, जसलाई पार्टीको बारेमा केही थाह छैन, तर, उनीहरु कुनै न कुनै पार्टीमा आबद्ध हुन बाध्य पारेको हुन्छ यस्तो अवस्थामा पार्टीगत हिसाबमा असल नेतृत्व चुन्ने प्रक्रियामा असक्षम र भ्रष्टाचारी मानिसलाई फेरि चुनेर सरकारमा पठाउने प्रक्रिया दोहोरिएको हुन्छ । यसले देशको नियन्त्रण फेरि तीनै तत्वहरुको हातमा गएको हुन्छ जसबाट देशको विकाश कहिल्यै हुनसक्दैन ।
अब अहिलेको नेपालको स्थितिलाई नियाल्दा के देशले यस्तैखाले लोकतन्त्र चाहेको हो ? संविधानसभाको चुनाव पछि संविधान लेख्नका लागि २ वर्ष तोकिएको थियो । समानुपातिक र विभिन्नखाले विषयहरु समाविष्ट गरेर नयाँ नेपालको नौलो लोकतान्त्रिक प्रतिनिधिसभाका लागि ६०१ एकजनाको विशाल सांसदहरु जोडेर सरकार संचालन गर्न र संविधान लेख्नको लागि प्रतिनिधिसभा गठन गरियो । ६०१ एकजना अटने भवन नभएकाले बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन भवनलाई सांसद भवनमा परिणत गरियो । त्यसपछि नयाँ नेपालमा विगत दुर्इ वर्षभन्दा बढी समयदेखि राजनीति फाँटमा नाटक मञ्चन भई रहेको छ । ज्ञानेन्द्र शाहले छोडेका घोडामाथि टाप कस्ने वर्तमान नेपाली राजनीतिक नक्षत्रका जक्कीहरु रेस जित्ने प्रयत्नमा देशको विकराल समष्याहरु भुलेका छन् । जनताले के माग गरिरहेका छन्, जनतालाई के चाहिएको छ र देश विकासको लागि अघि बढनु पर्ने कुराहरुमा सहमति हुन नसक्दा देश कुनै दुर्घटनामा नफस्ला भन्न सकिन्न । यस्तो नाटकको खेल भइरहेको छ जसमा जनताहरु अन्धो दर्शक बनेकाछन् । आफुले चुनेर पठाएका (नेता) राजाले केवल आफ्नो भुँडी भर्ने काम गर्दैछ । राजा भएर गएका सांसदहरु मक्ख हुँदै भागवण्डामा रमाइरहेका छन् । उनीहरुलाई मुलबियाडमा पानी थुनी-थुनी बिउ जमाएर देशलाई खाद्य उत्पादन गर्ने किसानको पेट भोको छ भन्ने ख्याल रत्तिभर छैन । देशको नायक चुन्ने प्रष्ट म्यान्डेट जनताले दिएको छ, तर, यो नौलो लोकतन्त्रमा १२ पटकसम्म पनि प्रधान मन्त्री चुन्न नसक्ने यी लोकतान्त्रिक जक्कीहरुलाई देख्दा अचम्म लागेको छ । छिमेकीहरु र सारा संसारको अघि यी नपुंसक विचार भएका नेतृत्ववर्ग आफै हाँसोको पात्र बन्न पुगेका छन् । किन सहमतिमा आउन सक्दैनन् ? जनताले भोट दिंदा नयाँ नेपालमा अब निकाश र विकास आउने छन् भनेर हर्षोल्लित भएका थिए । जनताको लागि राजा भोक भोकै बस्ने देशमा अहिलेका नेताहरु आफ्नो पहिले भुँडी भरेर अहंकारको डकार मार्दै निरीह जनतालाई शोषण गरिरहेका छन् । संक्षेपमा नेपालकोर् इतिहास भन्नु नै राजतान्त्रिक लगाम, प्रजातान्त्रिक घोडा र लोकतान्त्रिक जक्कीहरुको रेसको मेदानमा दौडने लीला हो भन्दा अत्युक्ति नहोला ।