चुनौती बढेपछि देउवाले बोलाए डडेल्धुरामा विशेष बैठक

चुनौती बढेपछि देउवाले बोलाए डडेल्धुरामा विशेष बैठक


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलबार (मंसिर १९ गते) गृहजिल्ला डडेल्धुृरामा विशेष बैठक बोलाएको जानकारी प्राप्त भएको छ ।

विगत तीन दिनदेखि गृहजिल्ला डडेल्धुरामा अड्डा जमाएर बसेका प्रधानमन्त्री देउवाले निर्वाचनको पछिल्लो वस्तुस्थिति बझ्न उक्त बैठक बोलाएको बुझिएको छ । बैठकमा डडेल्धुरा कांग्रेसका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

सो बैठकमा नेता–कार्यकर्ताहरूले आफ्नो क्षेत्रको चुनावी स्थितिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । उनीहरूले प्रतिनिधिसभा सदस्यतर्फ कुनै समस्या नभएको बताउँदै प्रदेशसभा र समानुपातिकतर्फ नेपाली कांग्रेस कमजोर रहेको देउवासमक्ष खुलस्त पारेका थिए ।

निकै गम्भीरताका साथ कार्यकर्ताका कुरा सुनेका प्रधानमन्त्री देउवाले त्यसपछि आफ्ना विश्वास पात्रलाई बोलाएर विशेष निर्देशन दिएका थिए । प्राप्त जानकारीअनुसार त्यसपछि रातारात कांग्रेसका कार्यकर्ता गाउँ–गाउँ पुगेको बुझिनमा आएको छ ।

आफ्नो गृहजिल्ला डडेल्धुराका सबै सिट जित्ने दाबी गरेका प्रधानमन्त्री देउवाका लागि यस निर्वाचनमा विजय हासिल गर्न निकै चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने देखिएको छ । देशको प्रधानमन्त्री मात्र नभै सुदुरपश्चिमांचलका कमाण्डर पनि देउवा नै भएकाले उक्त क्षेत्रमा कांग्रेसको सफलता र असफतामा देउवा सोझै जश–अपजशका भागिदार बन्नेछन् । बामपन्थी गठबन्धनका कारण देउवा निकै सकसमा परेका प्रधानमन्त्रीका निकटजनले बताएका छन् ।