कविता-यो आभास हो कस्मोपोलिटेन्ट युगको

कविता-यो आभास हो कस्मोपोलिटेन्ट युगको


– प्रदीप कन्दङवा,

किन होला आजकल मलाई
पानीले प्यास मेटिँदैन
पेट्रोल पिऊँ-पिऊँ लाग्छ
चिल्ड् बियरको चुस्किमा

एक अगाँलो सौहाद्रता साट्थें म,
किन होला आजकल मलाई
डिजेल पिऊँ-पिऊँ लाग्छ
गाउँकी डोल्मालाई सम्झिएर
आशुँका ताता-ताता डल्ला झार्थें म
एउटा गुराँस,
उसको चुल्ठीमा सिउरिदिएर,
अर्को अधरमा !
लाउँथे म
किन होला आजकल मलाई
कंक्रिट जस्तो जमूँ-जमूँ लाग्छ !

खोइ त मेरो मनमा आजकल ?
मूर्चुँगा बज्दैन
उता, सन्तेले ठोकेको मादल सम्झेर
अनायसै कम्मर मर्काउथेँ म,
कदाचित कस्मोपोलिटेन्ट पो भइयो कि क्या हो ?
किन होला आजकल मलाई
सीसाको परिकार मनपर्छ !
Flash-Back Publishing…