मौन अवधिको दुरुपयोग, मतदातालाई पैसा बाड्ँदा यी परे फन्दामा

मौन अवधिको दुरुपयोग, मतदातालाई पैसा बाड्ँदा यी परे फन्दामा


प्रदेश/प्रतिनिधि सभा चुनावका निम्ति मौन अवधि चलिरहँदा यसको दुरुपयोग भएको पाइएको छ ।

घनकुटा र पर्सामा मौन अवधिको मतदातालाई प्रभाव पार्ने खालका क्रियाकलाप भएपछि यसको दुरुपयोग भएको पाइएको हो ।

आज धनकुटाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का एक नेता मतदातालाई पैसा बाँडेको भन्दै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटा–२ का वडा समिति अध्यक्ष राजकुमार राई रहेका छन् । राईको साथबाट १ लाख ६९ हजार ५ सय बरामद भएको बताइएको छ ।

उनलाई धनकुटा–३ कागतेबाट मंगलबार राति वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

मौन अवधिमा मतदातालाई आर्थिक प्रलोभनबाट प्रभावित पार्न खोजेको प्रारम्भिक छानविनबाट पुष्टि भएको प्रहरीको भनाई छ ।

राईका साथमा रहेका अन्य दुई जना भने फरार रहेको जनाईएको छ । बरामत रकम सहित नियन्त्रणमा लिइएका राईकोबारे थप छानविन गरिने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

उनको साथमा रहेका दुई झोला मध्ये एउटामा ९६ हजार अर्कोमा ७३ हजार ५ सय नगद फेला परेको छ । यसैबीच, नेकपा एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका कार्यकर्तालाई नगद रकमसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान सशस्त्र प्रहरीले पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट ना १ ह ९३३२ अटो रिक्सालाई शंका लागेर चेकजाँच गर्दा तीन लाख नगदसहित एमाले कार्यकर्ता पक्राउ गरेको हो ।

सशस्त्र स्रोतले भन्यो,‘तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद गरेका छौं ।’

गाँउ जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामद भएको समाचार स्रोत बताउछ ।