माओवादीले आम हड्ताल फिर्ता लिएपछि प्रधामन्त्री माधबकुमार नेपालले उसलाई वार्ताको टेवुलमा आउन आइतवार निम्ता पत्र पठाएकोमा, सरकारले वार्ताको निम्ति पठाएको पत्रको जवाफ दिनुको कुनै औचित्य नरहेको ठहर गर्दै एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा नदिँदासम्म वार्ता असम्भव हुने नयाँ निर्णय गरेको छ।
प्रतिपक्षी एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधबकुमार नेपालको राजीनामा नआउँदासम्म तीन दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत सामेल नहुने निर्णय गरेको छ। स्थायी समितिको आज बसेको बैठकले त्यस्तो निर्णय गरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए।
प्रवक्ता शर्माले भने, “अनौपचारिक बैठक अस्वीकार गर्ने कुरा त भएन। तर प्रधानमन्त्रीको राजीनामा विना औपचारिक वार्ता हुन सक्दैन।” बैठकले तीन दलीय अवधारणा पनि त्यागेको उनको भनाइ थियो। त्यसले राजनीतिक संकट हल गर्न निकै भरोसा योग्य भनिएको तीन दलीय उच्चस्तरीय संयन्त्रको औचित्यमा समेत प्रश्न खडा गरिदिएको ठानिएको छ।
यसै बिच नेपालस्थित पश्चिमा देशका राजदूतहरुले नेपालमा दलहरुबीच ताजा सहमतिका आधारमा राष्ट्रिय सरकार बन्नु पर्ने सुझाव राखेका छन् । उनीहरुले उपप्रधानमन्त्री एवं परराष्टमन्त्री सुजाता कोइरालासंगको भेटमा त्यस्तो सुझाव दिएका हुन् । तर मन्त्री कोइरालाले भने सबैभन्दा पहिले पूर्व विद्रोही एकीकृत माओवादी नागरिक दलमा रुपान्तरण हुनुपर्ने भन्ने सरकारी अडान दोहोर्याएकी थिइन्।
राजदूतहरुले नेपालका सामु राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुको विकल्प नभएको आशय प्रकट गरेको मन्त्री कोइरालाले बताइन्।
एकीकृत माओवादीले थालेको आन्दोलन संगसंगै नेपालमा हाल जारी शान्ति प्रक्रियाबारे विदेशी राष्ट्रहरुको चिन्ता र चासो बढेको देखिएको बेला, दुई दिनअघि मन्त्री कोइरालाले नेपालस्थित एसियाली देशका राजदूतहरुसंग भेटघाट गरेकी थिइन्।
Source: BBC
प्रतिक्रिया